Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओलीका कार्यभार र चुनौती - Himalkhabar.com

समाचारआइतबार, साउन ४, २०७१

ओलीका कार्यभार र चुनौती

किरण नेपाल

यो मतान्तरले पार्टीको प्रमुख कार्यकारी पदमा पुग्न कडा प्रतिस्पर्धा गर्नुपरेको देखाएका ओलीलाई पार्टी हाँक्न पनि सोचेजति सहज नहुन सक्छ ।

दुई वटा प्यानल बनाएरै निर्वाचन लडेकाले नेता/कार्यकर्ता दुई समूहमा बाँडिएका छन् । उनीहरूलाई एकीकृत बनाउनु ओलीको लागि सबैभन्दा ठूलो चुनौती हुनेछ ।

महाधिवेशन सकिएलगत्तै दुवै पक्षका नेता कार्यकर्ताले सार्वजनिक रूपमा गुटबन्दी सकिएको बताए पनि आठौं महाधिवेशनपछिको उदाहरणले त्यसो गर्न सहज नभएको देखाउँछ । त्यसमाथि महाधिवेशन समापन कार्यक्रममा अध्यक्षमा पराजित नेपालले ‘अध्यक्षले सबैलाई समेटेर अघि बढेको हेर्न चाहेको’ बताउनुले ओलीको चुनौतीलाई उजागर गर्छ ।

एमालेको यो महाधिवेशन ‘मजोरिटी भर्सेस अथोरिटी’ बीचको थियो । पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बहुमत लिएर प्रतिस्पर्धामा ओर्लिएका नेता ओलीका लागि शून्यबाट शुरू गरेका नेपाल चुनौती बन्नुको कारण पनि त्यही थियो ।

विगतमा १५ वर्षसम्म पार्टी सञ्चालनको अनुभव रहेकाले ६ वर्षयता पार्टी सत्ताभन्दा बाहिर रहँदा पनि नेता नेपालको अथोरिटीले काम गरेको देखियो ।

निर्वाचनका बेला बनेको प्यानललाई हेर्ने हो भने नवनिर्वाचित केन्द्रीय कमिटीमा ओली पक्षको सुविधाजनक बहुमत छ । तर दुवै प्यानल विचार, व्यवहार र प्रवृत्तिका आधारमा बनेको नभई नेतृत्वमा पुग्ने स्वार्थका कारण बनेका जस्ता देखिएकाले दिगो नहुन सक्छन् ।

ती समूह भत्किएर स्थायी गुटबन्दी अन्त्य भए पनि ओलीको बहुमत गुम्ने अर्काे खतरा पनि सँगसँगै छ । अहिलेका प्यानल भत्किए पनि स्वार्थ समूहहरू भने कायम नै रहने एमालेको विगतले पनि देखाउँछ ।

ती समूहहरूले आफ्नो स्वार्थ अनुसारका अन्य समूहसँग सामीप्यता वा दुरी राख्नेछन् । त्यस्तो अवस्थामा नयाँ समीकरण पनि बन्न सक्छ, जसले ओलीका निम्ति सहज वा असहज दुवैखाले अवस्था सिर्जना गर्न सक्नेछ ।

महाधिवेशनका प्रतिस्पर्धी नेपाल मात्र नभएर ओलीलाई अहिले आफ्नै समूहका उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललाई सँगै हिंडाउन पनि सहज नहुन सक्छ । दोस्रो नेता बनेर पार्टी हाँक्ने आकांक्षा राखेका गौतम र पार्टीको भावी नेता बन्ने चाहनामा देखिने पोखरेलको महत्वाकांक्षा व्यवस्थापन गर्नु ओलीका लागि सजिलो हुने देखिंदैन ।

त्यसबाहेक आफूलाई निरन्तर साथ दिंदै आएका उपाध्यक्ष विद्या भण्डारी, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीलाई व्यवस्थापन गर्ने चुनौती पनि उनलाई छ । उपमहासचिवमा पराजित भएका अर्का नेता शंकर पोखरेलको भविष्यबारे सोच्ने जिम्मेवारी पनि ओलीलाई छँदैछ ।

ओलीका लागि सबैभन्दा मुख्य चुनौती आफ्नै स्वास्थ्य पनि हो । महाधिवेशनको समापनमा यो सत्य पहिलो पटक आफैं स्वीकारेका ओली पार्टी र राष्ट्रिय राजनीतिमा आइपर्ने चुनौती सामना गर्न पर्याप्त समय र ध्यान दिन समर्थ देखिंदैनन् ।

त्यही कारण पार्टीभित्रका गुट–उपगुटहरूबीच समन्वय गर्नु र प्रतिस्पर्धी नेताहरूलाई व्यवस्थापन गर्नु उनलाई सजिलो हुने छैन । प्रमुख नेता अस्वस्थ भएको अवस्थामा वर्तमान कार्यवाहक र भावी नेतृत्व हत्याउन तीव्र गुटबन्दी र अस्वस्थता देखिन सक्छ । ओली स्वयम्लाई भरपर्दाे सहयोगीको खाँचो छ, त्यस्तो व्यक्ति छान्नु पनि उनका लागि सजिलो छैन ।

ओलीलाई पार्टीभित्र लामो समयदेखि स्थायी गुट सञ्चालन गरेको आरोप लाग्ने गरेको छ । कतिपयको आशंका उनले फेरि पनि त्यसै गर्लान् भन्ने छ भने कतिपयलाई पार्टीको प्रमुख पदमा पुगेकाले सबैलाई मिलाएर पार्टी अघि बढाउने आशा पनि छ ।

ओली कसरी अघि बढ्ने छन् भन्ने केही दिनमै हुने स्थायी समिति र पोलिटब्यूरो चयन तथा कार्यविभाजनले देखाउनेछ ।

वरिष्ठता, क्रियाशीलता र सम्भावनाको उचित मूल्याङ्कन गरेर ती जिम्मेवारी बाँडफाँड गरेमा उनले पार्टीभित्रको ‘प्रतिपक्षी’ बाट सहयोग पाउन सक्नेछन् । त्यस्तो अवस्थामा पनि प्रतिपक्षीले सहयोग गरेनन् भने चाहिं उनीहरू नै आलोचनाको भागीदार बन्नेछन् ।

संक्रमणकालमा रहेको राष्ट्रिय राजनीति र संविधान निर्माण गर्ने चुनौतीपूर्ण कार्यभार पूरा गरी मुलुकलाई स्थायित्व दिंदै समृद्धितर्फ अघि बढाउनुपर्ने यो बेला मुलुकको दोस्रो ठूलो राजनीतिक दलको नेतृत्वमा पुगेका ओलीको परीक्षा यी सबै चुनौती सामना गर्नुमा निहित छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>