रमझमशुक्रबार, आश्विन ५, २०६९
साहित्य महोत्सवको दोश्रो दिन ११ सत्र सञ्चालन
पहिलो सत्रः हाउ मिडिया टक्स टु अस मा सम्पादकत्रय किशोर नेपाल, सुधीर शर्मा र अजयभद्र खनाल बोलेका थिए । नारायाण वाग्लेले सञ्चालन गरेको उक्त सत्रमा नागरिकका किशोर नेपालले नेपाली पत्रकारिताको प्रभाव राजनीतिज्ञ र कर्मचारीतन्त्रसम्म मात्र सीमित रहेको बताएका थिए । उनले भने, ‘देशको वास्तविक राजनीतित्र एजेन्डा जनताले तय गर्छन् जसलाई समेटेर एकिकृत गर्ने काम मिडियाको हो जुन हुन सकिराखेको छैन ।’
कान्तिपुरका सुधीर शर्माले मिडियाले राजनीतिक एजेन्डा मोड्ने हैसियत राख्ने बताए । भने, ‘नेपालमा मिडियाले सन्तुलित अडान नलिएको भए समाज अझै बिग्रन्थ्यो ।’ उता द हिमालयन टाइम्सका जयभद्र खनालले कतिपय अवस्थामा मिडियाले झन् गन्जागोलको अवस्था सिर्जना गरेको टिप्पणी गरेका थिए । उक्त सत्रमा सञ्चारमाध्यमको वास्तविक साँचो कोसँग हुन्छ, मिडियाका राम्रा, नराम्रा पक्षबारे बहस भएको थियो ।
त्यस्तै अर्को सत्रमा आउटलुक पत्रिकाका संस्थापक सम्पादक विनोद मेहतासँग पत्रकार प्रशान्त झाले उनको जीवनको आरोह अवरोहबारे छलफल गरेका थिए । उनले आफूले कहिल्यै ठूला सपना नदेखेको, जीवनलाई सहज रुपमा भोग्दै जाँदा धेरैपटक धेरैतिर सम्पादक बन्न पुगेको अनुभव साटेका थिए । उनले पत्रकारिता एउटा व्यापार भएकै कारण यो तथ्यसँगै ग्ल्यामरस हुनुपरेको अनुभव साटे । उनले पत्रकार र राजनीतिज्ञ साथी हुन सक्ने तर घनिष्ट हुन नसक्ने बताए । भने, ‘दुवै विपरित ध्रुवका व्यक्ति हुन् ।’
उता भारतिय उपन्याकार अद्वैता कलाले उदाउँदो चिकलिट लेखन र अमिस त्रिपाठीले रिराइटिङ मिथमाथि बोलेका थिए । अर्को सत्रमा भारतिय नेपाली लेखनबारे मनप्रसाद सुब्बा र खगेन्द्रप्रसाद लुइंटेल बोलेका थिए ।
त्यसबाहेक ५ असोजमा शारदा शर्मा, सरुभक्त र श्रवण म’कारुङले लेखनका सुख–दुःख, बसन्त थापा, गोविन्दराज भट्टराई र खगेन्द्र संग्रौलाले लस्ट इन ट्रान्सलेसन, महेश बिक्रम शाह, डा। लक्ष्मण गौतम, युग पाठकले द्वन्द्व र नेपाली साहित्य, गणेश रसिक, रामेश कोइराला र दुर्गा घिमिरेले संस्मरणः आत्मलेखन कि आत्मलापबारे र आन्चलिकता–स्थानिय स्वादको साहित्य र गजलबारे सनत रेग्मी, ध्रुवचन्द्र गौतम राजन मुकारुङले बोलेका थिए ।
अर्कोतर्फ राजेन्द्र सुवेदी र रत्नप्रसाद गौतमद्वारा सम्पादित ‘रत्न वृहत नेपाली समालोचना’, रमेश क्षितिजको घर फर्केको मानिस एवं खगेन्द्र संग्रौलाको ‘कुन्साङ काकाका कथा’ लोकार्पण भएका थिए ।
६ असोजको आकर्षणमा दिउसो ३ बजे कुन्द दीक्षितसँग विनोद मेहताले आउटलुक पत्रिकाबारेको अनुभव साट्नेछन् भने प्लेगरिज्मः फ्रम एकेडेमिया टु जर्नालिजमबारे अखिलेश उपाध्याय, धर्मा अधिकारी र अनिरुद्र थापासँग दीपक अधिकारीले छलफल गर्नेछन् । भोलि नै भिष्म उप्रेतीको ‘एक पटक टोकियो’, चन्द्र घिमिरेको ‘डन्ट टच मि, ओ कविता’ र एल एक बरालको ‘अटोक्याट्रिक मोनार्की’ विमोचन ह’ने जानकारी आयोजकले दिएकाछन् ।