ब्लगमंगलबार, साउन ६, २०७१

कोचलगाँडा कप

महेश थापा

महीना दिनको ठोकठाकपश्चात् जर्मनीले आफूलाई विश्वको नम्बर वान भकुन्डे सावित गरेको छ। दुईदेखि बत्तीस नम्बरीहरू अर्कोपटक उम्दा बनिछाड्ने प्रण गर्दै आ–आफ्नो कर्मक्षेत्रमा डटिसके। हाम्रोमा जारी संविधानकप भने आधा दशकमा पनि तुरिने छेकछन्द छैन। आफूलाई अब्बल सावित गर्ने प्रयासका क्रममा खेलाडीहरू खिइँदै, ख्याउटिंदै बाउन्ने हुँदा समेत लट्टन लाएर भिडिरहेका छन्। कत्रो लगन! यस्तो मरिमेटान् हेर्ने बानी परेका हामीलाई जाबो सातोटा खेलमा फुत्रुक–फुत्रुक उफ्रेको भरमा पनि कोही विश्व च्याम्पियन हुन्छ? भने जस्तो पो लाग्छ।

विश्वकपका लन्ठुहरू फिफाले बनाइदिएको नियम अन्तर्गत बजेको सिट्टीको तालमा फुत्रुक–फुत्रुक गर्ने हुनाले प्रतियोगिता बेलैमा सकियो भन्नुस्। यता हाम्रा होनहारहरूले नियम बनाउने, सिट्टी बजाउने, खेल्ने सबै जिम्मा लिएका छन्। एउटा टीमले गोल हान्छ, अर्कोले ‘अफसाइड’ झन्डा उठाइदिन्छ। चार गोल खाएको टोली ‘टाइब्रेकर’ हुनुपर्ने जिकिर गर्दै मैदान छाड्न मान्दैन। अर्कोले भुक्क भकुर्दै गोल ठोक्छ, अर्को चाहिं ‘हुती भए हातले गोल गरेर देखा’ भन्दै भकुन्डै बोकेर धाइफल दिन्छ। जतिसुकै गोल घिच्दा पनि हार्नु नपर्ने, जति नै गोल गर्दा पनि जित्न नसकिने यस्तो तिरताले प्रतियोगिता जित्न सक्ने पो असली विजेता! यसरी खेलको नियम बदलिंदै र समय थपिंदै जाँदा हामी दर्शकको आँखामा आनन्दको झिल्ली झरेको झर्‍यै छ। कहिल्यै हार नमान्ने हाम्रा जुझारुबाट विश्वकपमा पराजित टोली र दुनियाँले नै मनग्ये प्रेरणा लिन सक्छन्।

एक पटक विरक्तिएका दर्शकले हुटिङ्ग गरेर नयाँ नियम नबनाएका भने होइनन्। त्यस अनुसार, वर्ष दिनभित्र गतिलो तालको छिनोफानो हुनसके ठीकै छ, नत्र सो अवधिमा दुईतिहाइ गोल गर्नेलाई जितुवा मान्नुपर्ने भयो। ‘चार–चार वर्षसम्म गोल गर्न नसक्ने पुङमाङहरूले यो खेल पार लगाउन नसक्ने भएकाले यिनलाई मैदानबाट घोक्रेठ्याक लगाऔं’ भन्दै दर्शकहरू चिच्याएको चिच्यायै भएपछि यस्तो नियम बनाइएको थियो।

खेलाडीहरूले पनि पुरानो गल्ती नदोहोर्‍याउने वाचा गर्दै, अन्तिम चानस पाऊँ भन्दै साष्टाङ्ग दण्डवत् मुद्रामा कुप्रिएपछि दर्शकहरू खेल हेर्न राजी भए। नभन्दै, चुट्कीको भरमा गोलको झरी बर्साएर पुरस्कार कुम्ल्याउने सुर कसेका लालुपाते टीमका कप्तानको मुखाँ तितेपाती कोच्दै विपक्षी टीमले गोलको उरुङ लगाए। फाइनलको दिन दर्शकदीर्घामा थच्चिनुपर्ने भए’सी हरूवाहरू मोर्चाबन्दी गरेर विरोधमा ओर्लिए, “यो खेल नभई झेल हो। गोल गर्न नसके’नि खेल चाहिं हाम्रै झकास भएकाले अरूलाई ट्रफी चुम्न दिंदैनौं।”

“जसले दुईतिहाइ गोल संख्या पुर्‍यायो, ट्रफी उसैले भित्र्यायो”, कसैले नियम सम्झायो।

“गोल गनेर कसैलाई विजेता घोषणा गरिए निश्चित रूपमा यहाँ रगतको खोलो बग्नेछ। मोर्चे टोलीलाई खेलाँची नठान्नु”, लालुपाते कप्तान कुर्लिए।

“कि आफू गोल हान्नु, कि त गोल ठोक्नेलाई मान्नु। नियम यही हो, नमानेर हुन्छ?”

“जितेर सिकन्दर बनौंला भनी मानेको नियम, हारेपछि मान्दैनौं”, मोर्चे टीमका खेलाडी च्याँटि्ठए, “हाम्रो टीम ज्यादा समावेशी भएकाले च्याम्पियन बन्ने असली हकदार हो भन्नुस्।”

“त्यसरी पार लाग्ने भए जिम्बाबेले उहिल्यै विश्वकप क्रिकेट जितिसक्थ्यो!”
“गोल–सोल भाँडमै जाओस्, ट्रफी र पुरस्कार हाम्रो हुनुपर्छ”, मोर्चाले मैदानमा मार्चपास थाल्यो।

रातभरि रुँघेको बूढो सखारै म्याराथन दौड्न तयार भएको देखेर जिल्लिएका दर्शकको अक्कल फिर्‍यो– सदा कोचेलो खडा गर्ने कचेडाहरूको यो कोचलगाँडा कप हेरेर मूढमति महाराज बन्नु छैन। दर्शकदीर्घा रित्तियो। खेल भने जारी थियो– नियम परिमार्जनको खेल!

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...