टिप्पणीआइतबार, साउन ११, २०७१
ओलीको असर
नेकपा एमालेको नवौं महाधिवेशनबाट नेतृत्वमा आउनुभएका केपी शर्मा ओली दुई घन्टामा पहिलो बैठक सकेर स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको छ । कमजोर स्वास्थ्य, हाराहारीको प्रतिस्पर्धी मत, गुटगत अभ्यासको लामो विगत र विपरीत स्वार्थका सहयोगीहरूका कारण ओलीले एमालेलाई कसरी अघि बढाउनुहोला भन्ने अबको जिज्ञासा छ । ‘मेरो जीवन लामो छैन’ भनिसकेका एमालेका नवनिर्वाचित अध्यक्ष तथा संसदीय दलका नेता ओलीको एकपटक प्रधानमन्त्री भइहाल्ने आकांक्षाबाट राष्ट्रिय राजनीति प्रभावित हुने पनि निश्चित नै छ ।
नेतृत्वको विरोधाभास
यस पटकको महाधिवेशनमा माधवकुमार नेपाल समूहले नेपाली समाज अब अर्धसामन्ती र अर्धऔपनिवेशिक छैन भन्ने मत अघिसारेको थियो । केपी ओली स्वयम्ले यस विषयमा मुख नखोले पनि उहाँ निकट नेताहरूले सरकारी तथ्यांकहरूको समेत सहारा लिएर त्यस विचारको खण्डन गर्दै अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था रहेको प्रमाणित गर्न खोजेका थिए । तर, वैचारिक बहस चुलिंदै जाँदा नेतृत्व चयनमा समेत त्यसको प्रभाव पर्ने देखेपछि बहसलाई बीचैमा बेवारिसे बनाइयो । र, नेपाल समूहको विचार एमालेमा सर्वसम्मत बन्यो । त्यही आधारमा ‘जसको नीति, उसैको नेतृत्व’ को नारा महाधिवेशनमा उठेको थियो, तर त्यस विचारका विपक्षमा रहेका नेताहरू नेतृत्वमा आउनुभएको छ ।
२०५६ सालयता केपी ओली एमालेभित्र सधैं प्रतिपक्षी भूमिकामा रहनुभयो । उहाँले आफ्नै घर र मदन भण्डारी फाउन्डेसनबाट समानान्तर पार्टी चलाउनुभयो । जिल्ला, क्षेत्र र राष्ट्रिय तहका कार्यकर्ता भेलाहरू गरेर उहाँले आफ्नो शक्तिलाई मजबूत पारिरहनुभएको थियो । त्यसैले पार्टी काममा कम र गुटगत काममा बढी रमाउने एउटा कठोर पंक्ति उहाँसँग छ । त्यसमध्ये अधिकांश हस्तीलाई महाधिवेशनले केन्द्रीय कमिटीमा आउनबाट रोके पनि त्यो संयन्त्र निष्क्रिय छैन । त्यो समूह अब ओलीका आडमा पार्टी–सत्ताको प्रयोग गर्न सक्रिय भएर पार्टीको आन्तरिक जीवनमा असहजता ल्याउनेछ ।
२५ साउनमा बोलाइएको नेताहरूको कार्यविभाजन गर्ने केन्द्रीय कमिटीको दोस्रो बैठकमा हाराहारीमा आएको मत, केन्द्रमा त्यही प्रकारको उपस्थिति र तल्लो स्तरसम्म बराबरीको अवस्थालाई ध्यानमा राखेर सन्तुलन गरिएन भने एमालेभित्र त्यही विन्दुबाट महाधिवेशनपछिको गुटगत राजनीति आरम्भ हुनेछ । तर, विगतमा समानान्तर जिल्ला कमिटीहरू गठन गरेका र नेतृत्व मान्दिनँ भनेर चुनौती दिएका ओलीले २ साउनको केन्द्रीय कमिटीको पहिलो बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहार झस्काउने खालको थियो । दस्तावेज र विधान सम्पादनका लागि दुई कार्यदल बनाउँदा हाराहारीको संख्यामा निर्वाचित अर्को पक्षका पदाधिकारीसँग एकशब्द पनि नसोध्नुलाई उहाँको भावी कार्यशैलीको संकेतका रूपमा बुझिएको छ । अघिल्लो केन्द्रीय कमिटी र महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश गर्ने युवराज ज्ञवालीलाई विधानलाई अन्तिम रूप दिने कार्यदलमा थप्न गरिएको आग्रहलाई पनि उहाँले अस्वीकार गर्नुभयो ।
निराशाजनक कार्यशैली
ओली स्वस्थ हुँदा पनि समयको व्यवस्थापनमा पटक्कै ध्यान दिनुहुन्नथ्यो । १ साउनमा आयोजित शपथग्रहणमा उहाँ पौने दुई घन्टा ढीलो पुग्नुभयो । कमजोर स्वास्थ्यका कारण अब उहाँलाई लामो बैठकमा बस्न सम्भव हुने छैन । पहिला स्वास्थ्यको कुरा उठाउनेहरूमाथि कटाक्ष गर्ने ओली स्वयम्ले शपथ लिंदै गर्दा आफ्नो सीमाबारे सबैलाई सम्झाउनुले पनि उहाँबाट अब सक्रियताको अपेक्षा गर्न नमिल्ने बुझाउँछ । संसदीय दलको नेता निर्वाचित भएयताको अधिकांश समय अस्पतालमै बिताउनुभएका उहाँ अब दिल्ली र बैंंकक्ले नभएर सिंगापुर पुग्नुभएको छ । पार्टी काममा यसको असर अवश्य पर्छ ।
एमालेमा ओलीको आफ्नै कार्यशैली छ । बाहिर जति भीड र जरुरी काम भए पनि भित्र भेट्न पुगेको मानिससँग नहतारिएर सविस्तार कुरा गर्ने उहाँको शैली छ । अब झलनाथ खनालले झैं उहाँले पनि घरबाटै पार्टी चलाउने अभ्यास गर्नुहुनेछ । यसले पार्टीको संस्थागत साख र महत्वमा बल पुग्ने छैन । विपक्ष र आफूलाई सहयोग नगर्नेलाई स्वीकार्ने क्षमता अरू नेतामा झैं ओलीमा पनि कम छ । आफ्नो आलोचक छ भने तल्लो तहको कार्यकर्तालाई पनि व्यंग्य गर्ने उहाँको बानी छ । आफ्नो समर्थन गर्नेलाई चाहिं सात खत माफ गर्दै नसक्ने भारी बोकाउन पनि पछि नपर्ने देखिएको छ । यो कार्यशैलीले ओलीलाई आगामी दिनमा सबैको नेता हुन मुश्किल पार्नेछ ।
‘किङ्ग मेकर’को द्वन्द्व
स्वार्थ अनुसार समीकरण फेरबदल भइरहने एमालेमा अब छिट्टै नयाँ गतिविधि देखा पर्नेछन् । ओलीलाई मानार्थ अध्यक्ष बनाएर पार्टी सञ्चालन गर्ने सपना देखेका वामदेव गौतमका हातमा कुनै पनि हालतमा नेतृत्व जान नदिने कसरत देखिन थालिसकेका छन् । महासचिव ईश्वर पोखरेल लगायतका नेताहरू दुई वर्षमा ओलीले छोडेर गौतम अध्यक्ष बन्ने सम्झौताका पक्षमा उभिनसक्ने अवस्था छैन । ‘दोस्रो मतले पनि कार्यवाहक दियो’ भनेर जतिसुकै दंग परे पनि गौतमलाई नेता स्वीकार गर्ने पंक्ति एमालेभित्र नगण्य छ ।
एउटा सबल पार्टी विभाजन गरेका गौतमको विगतले उहाँलाई नै सबभन्दा बढी पिरोलिरहेको छ । राजनीतिमा जे पनि जायज हुन्छ भन्ने मान्यताका पक्षपाती गौतम र दशौं महाधिवेशनबाट अध्यक्ष हुने अपेक्षा राखेका पोखरेलको फरक समूह हुनु अनिवार्य देखिन्छ, एमालेमा । आफ्नो भविष्यको लागि पार्टी हितमा सम्झौता गर्न नसक्ने अवस्थामा रहेका पोखरेल र उमेरका कारण अर्को महाधिवेशनमा उठ्न नपाउने भएपछि सौदावाजी गर्न तयार गौतमबीचको लडाइँ नेपाल पक्षका लागि भने फाइदाजनक नै हुनेछ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट