टिप्पणीसोमबार, साउन १२, २०७१

हेपाटाइटिसः नसोचे घातक

डा. सुमनराज ताम्राकार

हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाइन्छ । प्रा. ब्लुमवर्गको सम्झना र भाइरल हेपाटाइटिसबाट हुने स्वास्थ्य समस्याबारे बझ्नु–बुझाउनु यो दिवसको मूल उद्देश्य हो । हेपाटाइटिस सम्बन्धी जनचेतना, रोकथाम, निदान, नियन्त्रण तथा हेपाटाइटिस बी खोपको ‘कभरेज’ वृद्धि आजको आवश्यकता हो ।

भाइरल हेपाटाइटिस भनेको संक्रामक रोगहरूको समूह हो, जसमा हेपाटाइटिस ए, बी, सी, डी र ई समेटिएको हुन्छ । सख्त तथा जीर्ण प्रकारका हेपाटाइटिसले विश्वमा वर्षेनि करीब १४ लाख मानिसको ज्यान लिने गरे पनि कतै यसबारे यथेष्ट जानकारी नै छैन भने कतै बेवास्ता गरिएको छ ।

हेपाटाइटिस ए

दूषित खाना तथा पानीजन्य संक्रमणका मुख्य कारकमध्येको एक यो भाइरल संक्रमणले गम्भीर प्रकृतिको समस्या गराउन सक्छ । यो संक्रमण र स्वच्छ पानीको अभाव तथा नाजुक ढल निकासबीच प्रत्यक्ष सम्बन्ध छ । हेपाटाइटिस एले सन् १९८८ मा चीनको सांघाईमा एकै पटक तीन लाख मानिसलाई समातेर भयानक स्थिति खडा गरेको थियो ।

हेपाटाइटिस ए विरलै प्राणघातक सावित भए पनि संक्रमितलाई थला पारेर छाड्छ । वातावरणमा यसको भाइरस हतपत्ति नमर्ने हुनाले खाद्य उत्पादन प्रक्रियाका दौरान गरिएका व्याक्टेरिया नियन्त्रण उपक्रमहरूले राम्रो परिणाम नदेखाउन सक्छ । हेपाटाइटिस ए संक्रमणमा ज्वरो आउने, अल्छी लाग्ने, खाना अरुचि हुने, पखाला–वाक्वाकी लाग्ने, पेट असहज हुने, गाढा रंगको पिसाब हुने तथा आँखा र छाला पनि पहेंलो हुने हुन्छ । तर, सबै संक्रमितमा यी लक्षणहरू नदेखिन सक्छ । अन्य प्रकारको हेपाटाइटिसमा पनि यस्तै लक्षण देखिनसक्ने हुनाले लक्षणकै आधारमा हेपाटाइटिस ए छु्ट्याउन सकिंदैन । त्यसको लागि रगत जाँच नै गर्नुपर्छ ।

हेपाटाइटिस एको उपचार भनेको रोग पहिचान अनि संक्रमित व्यक्तिलाई सजिलो बनाउने, पोषिलो खाना ख्वाउने र झडापखालाका कारण खेर गएको लवण परिपूर्ति गर्ने हो । बिरामीलाई तङ्ग्रिन समय लाग्छ ।

हेपाटाइटिस बी

यो भाइरल संक्रमणले कलेजोमा एक्कासी दीर्घकालीन आक्रमण गर्छ । हेपाटाइटिस बी रगत र अन्य शारीरिक श्रावबाट अरू व्यक्तिमा र संक्रमित आमाबाट गर्भे शिशुमा सर्छ । यसले विश्वमा वर्षेनि करीब ८ लाख मानिसको ज्यान लिने गरेको छ । स्वास्थ्यकर्मीहरूको लागि हेपाटाइटिस बी पेशागत स्वास्थ्य जोखिम हो । प्रभावकारी खोप उपलब्धताका कारण हेपाटाइटिस बी कम खतरनाक बन्दै
गएको छ ।

मानव शरीर बाहिर एक सातासम्म बाँच्न सक्ने यो भाइरसले कालान्तरमा बिरामीलाई कलेजोको सिरोसिस वा क्यान्सर गराउन सक्छ, तर ९० प्रतिशतभन्दा बढी बिरामी निको हुन्छन् । यसको उपचारमा हेपाटाइटिसको एकै नियम लागू हुन्छ । यस विरुद्ध एन्टरफेरोन र एन्टी भाइरल औषधि छन्, तर खोप उपचारको मुख्य आधार हो । यस्तो खोप शिशु जन्मेको २४ घन्टाभित्रै दिन सकिन्छ । नेपालमा यसलाई राष्ट्रिय खोप तालिकामा पारिएको छ ।

पूर्वी एशिया र अफ्रिकी क्षेत्र जाने पर्यटकले अनिवार्य रूपमा खोप लिनुपर्छ । रगत लिइराख्नुपर्ने, डाइलाइसिस गराउनुपर्ने, नसाद्वारा लागूपदार्थ लिने, घरमा कसैलाई हेपाटाइटिस बी संक्रमण छ भने वा संक्रमित वा धेरै जनासँग यौन सम्बन्ध राख्नेले पनि हेपाटाइटिस बीको खोप लिनुपर्छ ।

हेपाटाइटिस ई

गर्भवतीहरूका लागि खतराको घन्टी नै हो– हेपाटाइटिस ई । विश्वमा वर्षेनि दुई करोड मानिस यसबाट प्रभावित हुन्छन् । तीमध्ये करीब ३० लाख नराम्ररी थलिएर निको हुन्छन् भने करीब ५६ हजार बाँच्दैनन् । हेपाटाइटिस ई प्रायः आफैं निको भए पनि यसले कलेजोलाई फेल गराउन सक्छ । यसको संक्रमण पूर्वी तथा दक्षिण एशियामा बढी छ । संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी र मृत्यु हुनेमध्ये ६५ प्रतिशत तिनै क्षेत्रका छन् । युद्धग्रस्त क्षेत्र, शरणार्थी शिविर र विस्थापित परिवारमा पनि यसको बढी आक्रमण हुन्छ ।

हेपाटाइटिस ईबाट संक्रमित गर्भवती महिलामध्ये २० प्रतिशतको मृत्यु हुने गरेको छ । कलेजोमा हेपाटाइटिस ईको संक्रमण भएका व्यक्ति र गर्भवतीलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने हुन्छ । हेपाटाइटिस ए र ईबाट बच्न स्वच्छ आहारबिहार र हेपाटाइटिस बी र सीबाट बच्न निर्मलीकरण गरिएको सुई, सुरक्षित यौन सम्पर्क, राम्ररी जाँचिएको रगत तथा रगतजन्य पदार्थको उपयोगमा होशियार हुनुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...