ब्लगसोमबार, आश्विन ८, २०६९
चराको जुनी
हामी बसेको ओडारबाट अलि उत्तरमा सेतो खोला बगेको थियो । त्यसको पारिपट्टि डाँडामा एक बथान भेडा बास बसेका थिए । तिनका आसपासमा ४-५ वटा गोठ थिए । ती गोठबाट बिहानै धुवाँ आइरहेको थियो । अलि फुर्तिला भेडा उठेर आङ तन्काउन थालिसकेका थिए ।
परबाट एक पुरुष र तीन जना महिला हामी भएतिर आउँदै थिए । सबैले डोको बोकेका थिए । एकटी महिलाले आफ्नो डोकोमाथि दुई वर्ष जतिको बच्चा बोकेकी थिइन् । तिनका गाला अहिल्यै रगत झर्लान् जस्तो गरी राता भएका थिए ।
उनीहरू खोलापारिको भेडीगोठबाट फर्केका रहेछन् । गाउँबाट आउँदा भेडीगोठमा बस्ने मानिसका लागि खर्च बोकेर आएका रहेछन् । अहिले फर्कंदा गोठबाट घिउ र दही ल्याएका थिए । पानी जम्ने ठाउँमा हुने सिमे साग र पानी नजम्ने ठाउँमा उम्रने जङ्गली साग पनि बोकेका थिए । जसरी पकाए पनि यी दुवैको तरकारी साह्रै स्वादिलो हुन्छ ।
आज पनि खाना खाएर मात्र हिंड्न पाइन्थ्यो । त्यो भेडीगोठ कटेपछि अर्का भेडीगोठ पुग्न हामीलाई दिनभर लाग्थ्यो । बीचमा अर्का ओडार पनि भेटिंदैनथ्यो ।
सबेरै खाना खाएर हामी हिंड्यौं । अघिपरबाट हेर्दा खोलो सानो देखिएको थियो । छेउमा पुगेर हेर्दा त त्यो निकै ठूलो पो रहेछ । ओरालो हुनाले त्यसको तेज निकै थियो । अघिसम्म त फड्केर भए पनि तरौंला भन्ने लागेको थियो । अहिले आँट आएन । अलि फराकिलो र वेग कम भएको ठाउँमा पुगेर खोलो तर्नका लागि जुत्ता फुकाल्यौं । खुट्टा पानीमा राख्ने बित्तिकै पैतालामा परेको चिसो टुप्पीसम्म पुग्यो । कति चिसो हुनसकेको पानी पनि ?
पारिपट्टि चार–पाँच वटा गोठ थिए । ती चित्राले छाएका थिए । छानो हावाले नउडाओस् भनेर ठाउँठाउँमा निगालाका डण्डी छानामाथि बाँधिएका थिए । सबै गोठका एउटा–एउटा कुनामा पाठा राख्ने ठाउँ थिए । त्यहाँ भर्खर जन्मेका, चिसो पानी पचाउन र माउसँग चर्न जान नसक्ने पाठा राखिएका थिए । गोठैपिच्छे अजङ्गका भोटे कुकुर त हुने नै भए ।
एउटा गोठ बाहिर सानो खाँबोमा दूध दुहुने ढुङ्ग्रो र अल्मुनियमको सेतो गाग्रो झुण्ड्याइएको थियो । यो गाग्रो यहाँ कति उपयोगी र जतन गर्नुपर्ने चिज थियो भने यसलाई चोयाको भोटो बुनेर लगाइएको थियो ।
गोठका छेवैमा चार-पाँच झुण्ड भेडा बास बसेका थिए । सबै मिलाउँदा तीन सय जति हुँदा हुन् । वरपर हरियो भए पनि ती भेडा बसेका ठाउँको झार मरिसकेको थियो । माटो निकै खुँदिएको थियो । हिलो र सिकसिको लाग्ने थियो । हामी गोठमा पुग्दा भेडा भ्या भ्या गरेर कराउन लागिसकेका थिए । तिनलाई चरनमा जान हतार हुँदो हो ।
सरदर नेपाली भन्दा अग्ला उरसिंह गुरुङ गोठालामध्येका पाका रहेछन् । उनान्सत्तरी वर्षका । अनुहार धेरै ठाउँमा चाउरी परेको । कानै छोपेर फेटा बाँधेका थिए टाउकामा । काँधमा लुकुनी भिरेका । हातमा लौरो हुने नै भयो ।
“यो पशुले क्या खान्छ भनिस् कि ?”
हामीले उनीसँग कुराकानी गर्न खोजेका थियौं । उनले कुरा नबुझेर, हामीलाई माया गरेर ‘तँ’ भनी सम्बोधन गरे । त्यसपछि आफ्ना कुरा बताउन थाले ।
उरसिंह बर्खाका ६ महीना लेकका चरनमा बिताउँछन् । जाडो बढेपछि विस्तारै भेडासँगै ओरालो झर्छन् । हिउँदमा गोरखाको तल्लो भेगमा बस्छन् । त्यहाँ किसानहरूले भेडालाई आफ्नो खेतबारीमा बास बसाउँछन् । बास बसेका भेडाले गरेको दिसापिसाब असाध्यै राम्रो मल हुन्छ । यसरी बारीको माटो मलिलो पारिदिएबापत किसानले मलेनी दिने गर्छन् । मलेनी भनेको भेडीगोठालालाई दिइने खानेकुरा हो । औलमा भेडीगोठाला यही मलेनी खाएर बस्छन् । फागुन आधाआधीमा गर्मी बढ्न थालेपछि विस्तारै उकालो लाग्छन् । लेकमा हुँदा चाहिं घरबाट ल्याएको खानेकुरा खान्छन् ।
उरसिंहका कुरा सुन्दा मलाई गोसाईंथान जाँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले उरसिंह जस्तै मानिसलाई भेटेका रहेछन् भन्ने लाग्यो । यस्ता मानिसका बारेमा उनले पहाडी जीवन निबन्धमा लेखेका छन्— “माथिमाथि त मनुष्य चरो झैं कहिले लेक–बेंसी गर्ने जीवन लिंदा रहेछन् । जहाँ कटेरो र भेडाहरू रहन्थे उहाँ हिउँदमा खाली तुषाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ ।”
हिउँदमा लेकको तुषारोबाट बच्न औल झर्ने र बर्खामा औलको गर्मीबाट जोगिन लेक चढ्ने यी दुई याम भेडागोठालाका लागि खतरनाक हुन्छन् । यसलाई उनीहरू पानी फेरिनु भन्छन् । ठूला भेडा र गोठालाले त पानी फेरिएको जसोतसो पचाउँछन् । साना पाठालाई भने वर्षमा दुई चोटि ज्वरो आउँछ ।
“तातोपानी र चिसोपानी मिल्नुपर्छ । मिल्न सकेन भने दुःख पाउँछौं”, उरसिंहले भने।
“दबाइ गर्नुहुन्न ?”
“खै, के गर्ने ? आफूले जान्या भए पो दबाइ गर्नु । पदमचाल र निरमसी खुवाउँछौं । त्यत्ति हो ।”
तल माछाखोलामा भेटेरिनरी अफिस (पशु उपचार केन्द्र) त थियो । तर त्यो हुनु र नहुनुको केही अर्थ थिएन भेडाधनीलाई ।
“टायम मिल्यो भने फाइदा हुन्छ । नत्र हुँदैन । दुःख मात्रै । खानु र लाउनु मात्रै । सालको एउटा भेडा बढाउन पनि गाह्रो छ ।”
उरसिंहको जिन्दगीमा यस्तै भएको छ । नौ वर्षको उमेरमा भेडा चराउन थाल्दा उनका गोठमा त्यस्तै नौ–दश वटा भेडा थिए । अहिले ६०-७० वटा छन् । यस बाहेक अरू केही जोड्न सकेका छैनन् ।
धेरै गाउँको आ–आफ्नो लेक हुन्छ जहाँ उनीहरू भेडा चराउँछन् र जडीबुटी टिप्छन् । तर उरसिंह परे गुम्दाली । उनी यस मामलामा पनि ठगिएका छन् ।
“गुम्दालीको लेक छैन । त्यही भएर इष्टको लेक मागेर खाएको ।”
इष्टमित्रले ‘मेरो लेकमा भेडा चराउन पाउँदैनस्’ भनेका दिन उनीहरूको जीविकाको बाटो सकिन्छ ।
उरसिंहसँग कुराकानी गरेर भेडीगोठ भिडियोमा खिचिसक्दा नसक्दै हामीलाई गोठालाहरूले भेडाको दूधको मोही खान निम्ता दिए । मोही खाँदै गर्दा दुईजना गोठालाले दुईतिरका पाखुरा र जीउका बीचमा पाठा च्यापेर ल्याए । गोठभित्र हुलेपछि ती पाठा औधी रमाएर खेले । खेलाइ राखौं जस्ता चुल्बुले थिए ती पाठा ।
पेटभर मोही खाएर हिंड्ने बेलामा हामीले पैसा तिर्न खोज्यौं । तर उनीहरूले पैसा लिन मानेनन् । एकजना गोठालाले भने— “गोठमा आएका पाहुनालाई खुवाएको दही–मोहीको पैसा लियो भने पाप लाग्छ । पाठा मर्छन् । ”
हामीले आफूले खान ल्याएको काजु र बदामको एक–एक प्याकेट उनीहरूलाई दियौं र उकालो लाग्यौं ।
अलि माथि पुगेर तलपट्टि हेर्दा भेडाको बथान खोलाको किनारै किनार उकालो लाग्दैथियो । भेडा चार–पाँच वटा लहरमा बाँडिएर हिंडेका थिए । हरियो पाखाका बीचमा पानीको खोलो माथिबाट तल बगेको थियो भने भेडाको लहर तलबाट माथि । माथिबाट हेर्दा एउटा–एउटा भेडा हिंडे जस्तो देखिंदैनथ्यो । धेरै डब्बा भएको, सानो रेल हिंडे जस्तो देखिन्थ्यो । यस्ता चार–पाँच वटा लहर ‘भ्या भ्या’ गर्दै हिंडेको दृश्य खिचिरहौं जस्तो लागेको थियो । तर एकैछिनमा तलबाट आएको सेतो कुहिरोले भेडा, खोला र चरन सबैलाई छोपिदियो । निकैबेर पर्खंदा पनि हटेन ।
(जगदम्बा प्रकाशनबाट प्रकाशित उपल्लो थलोबाट)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
