अर्थ/बजारबिहीबार, साउन १५, २०७१
एक वर्षमा सवा ५ लाख वैदेशिक रोजगारीमा
आर्थिक वर्ष २०७०/०७१ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ५ लाख २७ हजार ८१४ पुगेको छ । यो तथ्यांकमा भारत हुँदै विदेश जाने र भारतमै रोजगारीका लागि जानेहरुको संख्या समावेश छैन ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने अनुमान छ ।
आव २०५०/५१ मा ३ हजार ६०५ जनामात्रै रोजगारीका लागि विदेशिएका थिए ।
गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये ४ लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला छन् ।
आव २०६९/७० मा ४ लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएका थिए ।
गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन १ हजार ४४६ नेपाली बिदेशिने गरेका छन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्की देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुनु, छिमेकीको देखासिकीले उत्प्रेरित हुनु र गन्तव्य मुलुकबाट कामदारको ठूलो सङ्ख्यामा माग हुनुले बिदेशिने सङ्ख्या बढेको बताउँछन् ।
वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेल नेपालमा राजनीतिक अस्थिरता बढ्नु र विश्व श्रम बजारमा रोगजारीको अवसर बढ्दै जानुलाई नेपाली युवा बिदेशिने कारण ठान्छन् ।
वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या ५ लाख २७ हजार ८१४ जना भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको विभागका प्रवक्ता कार्कीले बताए ।
विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् ।
पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् ।
जसले विदेशमा सिकेको सीपको स्वदेशमै प्रयोग गर्ने वातावरण र बिदेसिने परम्परालाई केही हदसम्म कम गर्ने आशा गर्न सकिन्छ ।
प्रवक्ता कार्की नेपालको आर्थिक मेरुदण्डको प्रमुख माध्यम विदेशिएका नेपालीले पठाएको विप्रेषण भएकाले वैदेशिक रोजगारीलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको बताउँछन् ।
रासस