अन्तर्वार्ता/विचारसोमबार, साउन १९, २०७१
शहरी विकासः नयाँ संस्कृति आवश्यक
–वीरेश शाह र प्रबल थापा
महानगरले त्यो समाजको उद्देश्य र आकांक्षा प्रतिबिम्बित गर्छ । तर, हाम्रो महानगरले भने विशिष्ट विचार, उद्देश्य वा आकांक्षालाई समेटेको देखिंदैन ।
झन्डै ४० लाख मानिस बस्ने यो महानगरका धेरैजसो स्थल अपूर्ण र अपर्याप्त रहेको महसूस हुन्छ । ऐतिहासिक शहरमा यस्तो नहुनुपर्ने हो ।
गत पाँच दशकमा यहाँ कैयौं गुरुयोजना बने तथा ऐन–कानून र मापदण्ड लागू भए । तर, आवश्यक संघसंस्था तथा प्राविधिक जनशक्ति भएर पनि शहरको स्वरूप सन्तोषजनक हुन सकेन ।
काठमाडौं उपत्यका प्राचीन शहरीय सभ्यताको थलो हो । यहाँ अहिले पनि १८औं शताब्दीको कला, वास्तुकला र शहरी वनावटको अनुभव गर्न पाइन्छ । विपुल सम्पदा सूचीमा नौ ओटा स्थान राखिएको काठमाडौंको शहरी सभ्यता विश्वमै उदाहरणीय मानिन्छ । तर, गत पाँच दशकको शहरी विकासको चाप र तीव्रताले यसको भौतिक स्वरूप र वातावरणमा आमूल परिवर्तन ल्याएको छ । चार–पाँच लाखको जनसंख्याको स–साना शहरहरूको सञ्जालबाट यो ४० लाख बसोबास गर्ने महानगरमा परिणत भएको छ । काठमाडौं विकास प्राधिकरण जस्ता संस्थाहरूले यो महानगरको व्यवस्थापनमा उल्लेखनीय प्रयास गरेको भए पनि शहर विस्तारको गतिसँग ती प्रयास सुस्त देखिएका छन् ।
अहिलेसम्मको शहरी विकासको परिकल्पना, योजना निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका प्राविधिकहरूले खेलेका छन् । अब भने महानगरको विकास र व्यवस्थापनमा समाजशास्त्री, भूगोलशास्त्री, साहित्यकार, कलाकार, नागरिक समाज, संचारजगतको पनि प्रत्यक्ष सहभागिता हुने कार्यक्रमहरूको सुरुआत गर्नुपर्छ ।
शहरका सम्पूर्ण निवासीलाई यो महानगर ‘मेरो’ हो भन्ने भावना जगाउने कार्यक्रम ल्याउनु आवश्यक छ । शहरबाट आधुनिक सेवा र आर्थिक लाभ पाएकाहरूले शहरको विकासमा त्यो अनुपातमा लगानी गरेका छैनन् । घर–घडेरी बाहिरको शहर सबैको हो र यसको विकासमा सबैले योगदान गर्नुपर्दछ भन्ने मान्यता विकास हुनुपर्छ । त्यस अनुसारको कार्यक्रम र संरचना पनि तयार पार्नुपर्छ ।
पुरानो शहरमा जस्तो शहरी निर्माणको संस्कृति पाँचदशक यताको शहर निर्माणमा देखिंदैन । अहिलेको निर्माणमा जग्गाको चार किल्ला भित्रै केन्द्रित हुने संकुचित सोचाइ छ । नयाँ निर्माण संस्कृतिले संरक्षण र विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्दछ ।
काठमाडौं उपत्यकामा नयाँ शहरी निर्माण संस्कृति विकास गर्न यी कुराहरूमा ध्यान दिनु उपयुक्त हुन्छः
सार्वजनिक स्थलको संरक्षण र विकासः शहरको विस्तार र निर्माण गर्दा ‘खुला क्षेत्र’ को संरक्षण र नयाँ खुला क्षेत्रको निर्माण गर्नुपर्छ । उदाहरणको रूपमा काठमाडौं नक्सालस्थित प्राचीन लिच्छविकालीन बस्तीमा नागपोखरी, नन्दीकेशर बहाल, नन्दीकेशर बगैंचा, तरकारी बजार, ढुंगेधारा, चारढुंगे मन्दिर तथा कैयौं पुराना पाटी–पौवा, मठ–मन्दिर र निजी घरहरू छन् । तर, बृहत् योजनाको अभावमा ती स्थानको संरक्षण र विकास हुनसकेको छैन । ती स्थानको विकास र संरक्षण गर्न सक्दा संस्कृति र सम्पदाको संरक्षण मात्र नभएर आर्थिक विकासका असीमित अवसर पनि सिर्जना हुन्छन् । ती पोखरी र बगैंचाहरूको पर्यावरणीय महत्व त छँदैछ ।
काठमाडौंमा कतिपय सार्वजनिक स्थल बढ्दो अतिक्रमण र अस्पष्ट स्वामित्वका कारणले पहिचान गुम्ने अवस्थामा पुगेका छन् । उदाहरणको लागि सोह्रखुट्टे, बाँसबारी, पीपलबोटको चिनारी नै संकटमा पर्दैछ । ती ठाउँका चिनारीलाई संरक्षण र विकास गर्न आवश्यक छ । त्यसो नगर्ने हो भने खिचापोखरी लोप भएको नियति ती स्थानले पनि भोग्नुपर्ने हुन सक्छ ।
चक्रपथका मूल चोकहरू कलंकी, चाबहिल, सामाखुशी, नारायणगोपाल चोकमा पनि सांस्कृतिक तथा सामाजिक पूर्वाधारका संरचना खडा गर्नुपर्ने खाँचो छ । शहरमा सांस्कृतिक तथा सामाजिक पूर्वाधारको महत्व हाम्रा पुर्खाहरूले जसरी हामीले बुझ्न सकेका छैनौं ।
शहरी विकासको गुणात्मक आकार लक्षित मापदण्डः भवन निर्माणको लागि बनाइने नीति–नियम र मापदण्डहरू शहरको भविष्यको परिकल्पना लक्षित हुनुपर्दछ । तर अहिलेको मापदण्डले भवन निर्माणको नकारात्मक पक्ष र क्षति न्यूनीकरणमा बढी जोड दिएको छ । मापदण्ड गुणात्मक पक्षभन्दा पनि मात्रात्मक पक्षमा केन्द्रित देखिन्छ । गुणात्मक भन्नाले स्वच्छ हावापानी र घाम आउने तथा सामाजिक क्रियाकलापलाई प्रोत्साहन दिने भन्ने बुझिन्छ । एउटा औषधिले सबै रोगको निदान गर्न नसके जस्तै एउटा मापदण्डले शहरको सबै समस्याको समाधान गर्न सक्दैन भन्ने बुझ्नुपर्छ । मापदण्डको एकरूपताले कार्यविधि सजिलो बनाए पनि विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न सक्दैन ।
प्राकृतिक स्रोत अनुरुपको नीतिः शहरी विकासको अवधारणामा प्राकृतिक वातावरण र पर्यावरणको संरक्षण पनि समेटिनुपर्दछ । शहरी विकास–निर्माणको परिकल्पना गर्दा सीमित विद्युतीय ऊर्जा प्रसारण गर्नुपर्ने, पैदलयात्री र साइकलयात्री मैत्री शहर, स्थानीय फोहोरमैला व्यवस्थापन, सौर्य ऊर्जा तथा आकाशे पानी संचय गर्न सकिने विषयमा ध्यान दिनुपर्छ ।
आधुनिक फोहोरमैला व्यवस्थापन र नदीनालामा ढल मिसाउने कार्यको नियन्त्रण गर्न आवश्यक भइसकेको छ । आवासीय क्षेत्रहरूमा संचालित उद्योगले ध्वनि, भू–जल र वायु प्रदूषण बढाएको छ भने खानेपानी र बिजुली आपूर्तिमा नकारात्मक असर पारेको छ । यस्तो अवस्थामा ऊर्जा कुशल ‘हरित शहर’ निर्माण गर्नु अत्यावश्यक छ ।
धर्म (संस्कृति) र हरियालीबीचको सम्बन्ध हाम्रो शहरी इतिहासमै छ । यी दुवैलाई समेट्दा मात्र त्रिपुरेश्वर मन्दिर परिसर, धुम्बाराही अथवा नन्दीकेशर परिसर जस्ता ठाउँमा हरियाली विकास गर्न सकिन्छ । चाहने हो भने वागमती, विष्णुमती तथा मनहराका किनारहरूमा सार्वजनिक हरित क्षेत्र विकास गर्नु असम्भव छैन ।
आवासीय विविधताको ज्ञानः काठमाडौं उपत्यकाको आवासीय विविधताको बृहत् अध्ययन गरी आवासीय नीति र सामाजिक पूर्वाधारहरूको सूची तय गर्नुपर्छ ।
पछिल्ला केही वर्षमा काठमाडौं उपत्यकामा बनेका नयाँ आवासीय आयोजनाले समाजका सबै वर्गलाई सम्बोधन गर्न सकेका छैनन् । आवासको समस्या समाधान गर्न सार्वजनिक किफायती आवासीय आयोजना संचालन गर्नु जरुरी छ । यसो नगर्दा सार्वजनिक जग्गाको अतिक्रमण भइरहेको छ । निजी क्षेत्रलाई यसतर्फ लाग्न प्रोत्साहित गर्नु नगरको पनि दायित्व हो ।
उचित लगानीः यो शहर मुलुकको आर्थिक हिसाबले पनि महत्वपूर्ण छ । यहाँबाट धेरैले आर्थिक समृद्धि प्राप्त गरेका छन्, तर त्यसको अनुपातमा उनीहरूले शहरलाई लगानी गरेका छैनन् । शहरको निर्माणमा उनीहरूलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ र त्यसको नेतृत्व सरकारले लिनुपर्छ । अहिले सरकारको लगानी शहरी निर्माणको पूर्वाधार विकासमा भन्दा आइपरेको समस्या समाधान गर्न वा न्यूनीकरण गर्न मात्र केन्द्रित रहेको देखिन्छ ।
विगतमा काठमाडौंलाई सिंगापुर, क्योटो अथवा दुबई जस्तो बनाउने परिकल्पना गरिएको थियो । तर आफ्नै विशिष्टता बोकेको यो शहरको इतिहास, संस्कृति र वास्तविकता भिन्नै छ । त्यसैले यसको सम्भावना पनि बेग्लै छ ।
त्यसैले शहरी विकासमा विगतका उपलब्धिलाई समेटेर गल्तीहरूलाई सच्याउँदै काठमाडौंलाई मौलिक शहर बनाउनु उपयुक्त हुनेछ ।
(आर्किटेक्ट इन्जिनियरद्वय शाह र थापा निजी तवरमा शहरी सम्पदा विकासमा कार्यरत छन् ।)
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
