रिपोर्टमंगलबार, साउन २०, २०७१
नेपाली दुःखी
–सन्त गाहा मगर
८ साउनमा जापानमा सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को मानव विकास सूचकांक (माविसू) मा १८७ देशमध्ये नेपाल १४५औं स्थानमा पर्यो। शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आम्दानीलाई आधार मानेर गरिने माविसूको वर्गीकरणमा दक्षिण एशियाली देशमध्ये नेपाल छैटौं स्थानमा छ। दक्षिण एशियाका अन्य देशहरू श्रीलंका ७३, माल्दिभ्स १०३, भारत १३५, भूटान १३८, बंगलादेश १४२, पाकिस्तान १४६ र अफगानिस्तान १६८औं स्थानमा छन्। माविसूमा अफगानिस्तान र पाकिस्तानभन्दा माथि रहे पनि नेपाल ‘पोजेटिभ इमोसन’ वर्गीकरणमा भने दक्षिण एशियामै सबैभन्दा पछाडि छ।
ग्यालअपले गरेको ‘पोजेटिभ इमोसन’ मा नेपाल यति पछिपरेको हो। औसत बाँच्ने उमेर, विद्यालयमा विताउने वर्ष र प्रतिव्यक्ति आम्दानीसँगै मानवीय सन्तुष्टिलाई पनि माविसूको आधार मान्नुपर्ने अर्थशास्त्रीहरूको नयाँ मत छ। ग्यालअपको अध्ययनले ५४ प्रतिशत नेपाली मात्रै सन्तुष्ट रहेको देखाएको छ। जबकि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा ६४ प्रतिशत र पाकिस्तानमा ५८ प्रतिशत ‘पोजेटिभ इमोसन’ देखिन्छ। (हे. ग्राफिक्स)
बेखुशीका कारण
माओवादी युद्ध उत्कर्षमा पुगेका बेला (२०५७–०६३) नेपालको माविसू सबैभन्दा धेरै खस्किएको थियो। अर्थशास्त्रीहरूको भनाइमा ‘पोजेटिभ इमोसन’ मा नकारात्मक असर पर्नुको मुख्य कारण त्यही द्वन्द्व हो। बेरोजगारी, संविधान निर्माण नहुनु, सरकारी कार्यालयमा सेवाग्राहीमाथि हुने व्यवहार, जवाफदेहिताको अभाव, बसाइँसराइ, परिवारका सदस्यहरूसँग बस्न नपाउनु, योग्यताको कदर नहुनु, नेताहरूको व्यवहार नेपाली असन्तुष्ट हुने अरू कारण रहेको देखिन्छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले द्वन्द्व समाप्त भए पनि बेरोजगारी र गरीबी नघटेकोले ‘पोजेटिभ इमोसन’ बढ्न नसकेको बताउँछन्।
५–६ दशक पहिलाको तुलनामा नेपालीमा असन्तुष्टि बढ्दै गएको बताउने पूर्व अर्थसचिव रामेश्वर खनाल ‘पोजेटिभ इमोसन’ कम हुनुलाई पनि सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्छन्। यसले भाग्यवादमा मानिसको विश्वास घट्दै गएको देखाएको बताउँदै खनाल भन्छन्, “६ दशक पहिले जस्तो कोही पनि अहिले भगवानले दुःख लेखिदिएको भनेर चुप लागेर बस्दैनन्।” अहिले नेपाली आलोचनाको चरणमा रहेकाले सरकार र नेताले गरेन भनेर असन्तुष्ट हुने गरेको उनको भनाइ छ। आलोचनाले नभएर कामले देश बन्ने मान्यता अँगाल्न थालेपछि ‘पोजेटिभ इमोसन’ बढ्ने उनको विश्वास छ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसंख्या विभागका सह–प्राध्यापक योगेन्द्रबहाद्ुर गुरुङ सरकारी कार्यालयमा सेवाग्राहीलाई गरिने व्यवहारले पनि ‘पोजेटिभ इमोसन’ मा नकारात्मक प्रभाव पारेको बताउँछन्। विकसित देशमा जसरी यहाँका सरकारी कार्यालयमा सहज सेवा नपाइने हुनाले मानिसहरू असन्तुष्ट रहने उनको भनाइ छ। पढाइ, जागीर, सार्वजनिक क्षेत्र सबैतिर हन्डर खानुपर्दा मानिसमा नकारात्मक सोचाइ बढी आउनु स्वाभाविक भएको उनको धारणा छ। “नातावाद र कृपावादको प्रभावले गर्दा विद्यार्थी र अभिभावकमा पढेर के हुन्छ भन्ने मनोविज्ञान बनेको छ” गुरुङ भन्छन्, “हरेक क्षेत्रमा राम्राभन्दा हाम्राको दबदबा रहेकाले आम असन्तुष्टि बढेको हो।”
युद्धकालमा पीडा दिएका माओवादी नेताहरूको पछिल्लो व्यवहारले पनि नेपालीमा असन्तुष्टि बढाएको देखिन्छ। २०४६ को परिवर्तनपछि कांग्रेस र एमाले लगायतका दलले अपेक्षा अनुसार देश विकासमा काम गर्न नसकेको बेला २०६४ मा एमाओवादी ठूलो पार्टी बनेको थियो। तर उसले झ्न् काम नगरेपछि सबै उस्तै हुन् भन्ने धारणा विकास भएर असन्तुष्टि बढेको समाजशास्त्रीहरूको निष्कर्ष छ।
पोजेटिभ इमोसन र माविसू
पाकिस्तानी अर्थशास्त्री मेहबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्य सेनले सन् १९९० देखि प्रचलनमा ल्याएको माविसुलाई मानवीय सन्तुष्टिसँग जोडेर हेर्नु पर्ने धारणा आएको छ । भूटानले पनि त्यसपछि ‘ग्रस नेशनल ह्याप्पीनेस’ भन्न थाल्यो। शिक्षा, स्वास्थ्य र आर्थिक पक्ष राम्रो हुँदा पनि मानिस अरू कारणले सन्तुष्ट हुनसक्दैन। पूर्व अर्थसचिव खनाल मानव विकास सूचकांक राम्रो भए पनि पोजेटिभ इमोसन नकारात्मक हुनसक्ने बताउँछन्। जस्तो अफगानिस्तानको पोजेटिभ इमोसन ६४ र बंगलादेशको ५८ प्रतिशत छ। जबकि माविसूमा अफगानिस्तान भन्दा बंगलादेश २६ स्थान माथि छ।

पोजेटिभ इमोसन कम देखिए पनि सबै खत्तम भइसक्यो भन्ने होइन, आशावादी हुने आधार प्रशस्त छन् । चैतन्य मिश्र, समाजशास्त्री
समाजशास्त्री चैतन्य मिश्र ग्यालअपले सार्वजनिक गरेको ‘पोजेटिभ इमोसन’ सम्बन्धी तथ्याङ्कबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। गरीबी घट्दै जानु, लोकतान्त्रिक व्यवस्था बहाली हुनु, मजदूरहरूको ज्याला बढ्नु, आदिवासी जनजाति, दलित, मधेशी, महिलामा आफ्नो अधिकारबारे बोल्ने आँट आउनुले दीर्घकालीन रूपमा पोजेटिभ इमोसनमा सुधार हुने मिश्रको विश्वास छ।
‘पोजेटिभ इमोसन’ मापन गर्दा हुने सानो त्रुटिले पनि तथ्याङ्क फरक पर्ने मिश्र बताउँछन्। नमूना छनोट, प्रश्नपत्र, भाषागत समस्या आदिमा पर्याप्त ध्यान नदिंदा सही तथ्याङ्क आउने संभावना रहँदैन। जस्तो बिरामी, दुःख पाएका मान्छेहरूमा सन्तुष्टिको मात्रा कम हुन्छ। आमसञ्चारमाध्यमले सकारात्मक भन्दा नकारात्मक घटनालाई महत्व दिने भएकाले पनि विकासशील देशको ‘पोजेटिभ इमोसन’ प्रभावित हुने गरेको देखिन्छ।
द्वन्द्वबाट निस्केको मुलुकका जनताको ‘इमोसन’ द्वन्द्व व्यवस्थापनसँग बढी सम्बन्धित हुने अध्ययनहरूले देखाएका छन्। २०६३ को बृहत् शान्ति सम्झाैतायता जनताले ‘यो चाहिं राम्रो भयो है’ भन्न नपाउँदा सकारात्मक सोचको विकास हुन नसकेको जानकारहरू बताउँछन्। सह–प्राध्यापक गुरुङ भन्छन्, “संविधान बनेको भए धेरै हदसम्म सन्तुष्टिको मात्रा बढ्ने थियो।” योजना आयोगका सदस्य वाग्ले औसत उमेर र शिक्षा क्षेत्रमा सुधार देखिएकाले अब आर्थिक विकासमा जोड दिन सक्दा नेपालीको माविसू र ‘पोजेटिभ इमोसन’ मा सकारात्मक प्रभाव पर्ने बताउँछन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
