ब्लगमंगलबार, साउन २०, २०७१
सुनकोशी विपत्ति टरेको छैन (२६ तस्वीर)
सुनकोशी नदी थुनिने गरी खसेको पहिरोले ल्याएकोे विपत्तिको फोटो–समाचारका लगि १९ साउन बिहान त्यसतर्फ लागें ।
बिहान साढे ८ बजे खाँडीचौर पुग्दा नै सुनकोशी थुनिएपछिको विपत्तिको नमूना देखियोे । यसअघि आउँदा गुलजार लाग्ने यो बजार सुनसान थियो । पसलहरु सबै बन्द थिए ।
दुईवटा पसलमा सर्टर खुला देखेर जाँदा पसलेहरु सम्भावित खतराले सामान ओसार्न ब्यस्त थिए । अघिल्लो दिन हतार र हतास हुँदा सामान सार्न नसकी ज्यान जोगाउन भागेका रहेछन् उनीहरु । निराश मनले केही फोटो खिचेर घटनास्थल मांखातर्फ लागियो ।
बिहानको ९ बजे मांखाको जुरे पुग्दा घर पुरिएका, आफन्त गुमाएकाहरुको रुवाबासीसँगै मिसिएको स्काभेटरको घ्यारघ्यार निकै नरमाइलो सुनिन्थ्योे ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरोमा पुरिएकाहरुलाई खोज्न साबेल चलाइरहेका थिए ।
केही बेरमा सुरक्षाकर्मीको टोलीले दुईवटा शव भेट्टायो हातमात्रै देखिएका ती शव उनीहरुले तान्न सकेनन् र स्काभेटर बोलाइयो । एक जोडी बृद्ध शवलाई स्काभेटरले एकै पटक उठायो । शायद उनीहरु सुतेको सुत्यै पुरिएका थिए ।
म त्यहाँ छँदै माटो मुनीबाट २० वटा शव निकालिए । आफन्त हराएकाहरु त्रसित हुँदै सनाखतका लागि शव हेर्न जान्थे । हिलोमा लथपथ भएको शव माटोसँगै डोजरले उठाएको दृष्य निकै कहालिलाग्दो थियो ।
एउटा शव आधा मात्रै देखेपछि मैले फोटो खिच्नै सकिन । अली पर आँखा दौडाएको नदी किनारमा मृतकहरुको दाहा संस्कार हुँदै थियो । केही त आफन्त नभेटिएपछि मृत्यु भएको ठानेर कुशको शव बनाई दाहासंस्कार गर्दै थिए ।
आफन्त गुमाएका धेरैले उद्धार कार्य तुरुन्तै शुरु गरिएको भए कोही जीवितै भेटिन्थे की भन्ने गुनासो गरे । पहिरो पीडितहरु राज्यले घाइतेको उपचारमा तदारुकता नदेखाएको, राहतका लागि केही नगरेको बताइरहेका थिए ।
पहिरोले बनाएको बाँधको एक कुनाबाट सुनकोशी बगिरहेको थियो । खतरा कम भए पनि यो बाँध भत्किंदैन भन्ने ग्यारेन्टी नभएको सुरक्षा प्राविधिकले बताए । उनका अनुसार बाँधलाई विस्तारै कटान गर्दै सुनकोशीलाई पूर्ववत रुपमा बगाउन अझै केही दिन लाग्छ ।
त्यसबेलासम्म ठूलो वर्षा नहोस, फेरि पहिरो नजाओस ।
शब्द/तस्वीर
बिक्रम राई