टिप्पणीबुधबार, साउन २१, २०७१
कृषिमा विषादीः स्वास्थ्य सजगता अपनाऔं
आकाशको राहु, पातालको केतु
एक पटक नपरी कसरी चेतु…।
यो पुरानो आहान अहिले आएर हाम्रो कृषिमा चरितार्थ हुँदैछ। काठमाडौंको कालीमाटीस्थित देशको सबभन्दा ठूलो तरकारी तथा फलफूलको थोक बजारमा विषादीको नमूना परीक्षण थालिएपछि शहरी उपभोक्तामा त्रास नै फैलिएको छ, तर किसानले विषादी हाल्न छाडेका छैनन्। परीक्षण गर्दा देखिएका विषादीबाट मुक्ति पाउन तत्कालीन र दीर्घकालीन मापदण्ड तोक्न सके मात्र यस्तो प्रयास सार्थक बन्न सक्छ। देशका अन्य भागलाई छाडेर कालीमाटीमा मात्र यस्तो परीक्षण गर्नुको पनि कुनै अर्थ रहने छैन।
बढी उत्पादन लिन कृषिमा उन्नत मल, बीउ र विषादी (पेष्टिसाइड) को प्रयोग विश्वकै चलन हो। कृषि उपजलाई क्षतिबाट बचाउन विषादीको ठूलो भूमिका भए पनि यसले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन हानि पुर्याउँछ। यसको पहिलो शिकार भने किसान नै बन्न पुग्छन्। तैपनि, असर नभोगेसम्म कोही चेत्नेवाला देखिंदैनन्।
देश–विदेशको अनुभव
विश्वमा वर्षेनि करीब ४० अर्ब डलरको तीन अर्ब किलो विषादी खपत भइरहेको अनुमान छ। अमेरिकामा मात्रै १० अर्ब डलरको ६०० भन्दा बढी किसिमका ५० करोड किलो विषादी खपत भइरहेको कार्नेल युनिभर्सिटीको कृषि तथा जीवविज्ञान कलेजले सन् २००५ मा गरेको अध्ययनले देखाएको थियो। अमेरिकामा विषादी छर्दाछर्दै पनि ३७ प्रतिशत (कीराबाट १३ प्रतिशत, रोगबाट १२ प्रतिशत र झारपातबाट १२ प्रतिशत) कृषि उपज नोक्सान हुन्छ। त्यहाँ सुरक्षित प्रयोग गर्दागर्दै पनि वर्षेनि साढे सात लाख मानिस विषादीजन्य जीर्ण रोगको शिकार हुन्छन्।
नेपालमा कतिपय प्रतिबन्धित विषादी पनि खुला सिमानाबाट भित्रिरहेका छन्। (हे. तालिका) वैधानिक रूपमा भित्रिएका विषादीहरू पनि सुरक्षित प्रयोग नहुँदा सार्वजनिक स्वास्थ्यमा ठूलो जोखिम खडा भएको छ। विषादी प्रयोगपछि केही अवधि कृषि उपजलाई बजार लैजान नहुने सामान्य तरीका पनि अपनाइएको छैन। कालीमाटीमा देखिएको समस्या यही हो।
जुलाई १९९४ मा भारतको बैङ्गलोरमा दिगो कृषि विषयमा तालीम लिंदा यो पंक्तिकारले पहिलो पटक विषादीको त्रासदपूर्ण तथ्यांक हेर्न पाएको थियो, जसले वर्षेनि ११ हजार क्युवालीको ज्यान जाने गरेको देखाउँथ्यो। त्यसबेला सबभन्दा बढी विषादी प्रयोग हुने भारतको केरला राज्यमा पनि किसानहरूको आँखा कमजोर हुने, छालाजन्य समस्या, प्रजनन् स्वास्थ्यमा असर, सुस्त मनस्थिति, शारीरिक–मानसिक अपाङ्गता आदि देखा परेको थियो। भारतको मन्द विष भन्ने डकुमेन्ट्रीमा त्यो कुरा हेर्न सकिन्छ।
अत्यधिक विषादी प्रयोग गर्ने नेपालको काभ्रे र धादिङमा पनि किसानहरू टाउको दुख्ने, चिलाउने लगायतका समस्या भोगेर जैविक कृषि प्रविधितर्फ उन्मुख हुन खोजेका समाचार प्रकाशित भएका छन्। ती जिल्लामा क्यान्सर जस्ता रोगहरू बढेको समाचारमा जनाइएको छ। र पनि, व्यावसायिक खेतीमा लागेका किसान विषादीप्रति सचेत नभएको पुष्टि कालीमाटी बजारको तरकारी परीक्षणले गर्छ।
खतराको घन्टी
कीटनाशक, रोगनाशक र झारपातनाशक गरी तीन थरीका विषादी हुन्छन्। कतिपय किसानले गोमूत्र र सुर्ती, नीम लगायतका वनस्पतिलाई विषादीको विकल्प बनाइरहेका छन्। विषादी राख्नु हानिकारक हो भन्ने थाहा हुँदाहुँदै पनि किसानहरूले बढी उत्पादनका लागि लगाउँछन्। यो अवस्थामा प्रभावकारी विकल्पको रूपमा एउटा निश्चित मात्रासम्म विषादी स्वीकार्ने ‘एकीकृत शत्रुजीव व्यवस्थापन’ (आईपीएम) कार्यक्रम आएको छ। यस विधिले दिगो रूपमा बाली संरक्षण गर्छ।
कोरोनेल युनिभर्सिटीको कृषि तथा जीव विज्ञान कलेजको अध्ययनले अमेरिकामा मानवीय स्वास्थ्यका लागि वर्षेनि १.१ अर्ब डलर, कीराहरूको विषादी प्रतिरोधात्मक क्षमताले १.५ अर्ब डलर, बालीको नोक्सानी १.४ अर्ब, चराचुरुङ्गी मर्दा हुने नोक्सानी २.३ अर्ब र भूमिगत जलको प्रदूषणको नोक्सानी २.३ अर्ब डलर भएको देखाएको थियो। नेपालमा यस्तो अध्ययन त भएको छैन, तर शहरबजार नजिकको कृषि क्षेत्रमा रासायनिक विषादीले मानवीय स्वास्थ्य र माटोको उर्वरापनमा खतराको घन्टी बजाइसकेको छ। यसका लागि राज्य मात्र नभएर किसान र उपभोक्ता पनि सचेत हुनैपर्छ। रोग निम्त्याएर ओखतिको लागि सरकारलाई चिच्याउनुको खासै अर्थ नहुनेमा सबैको चेत खुल्नैपर्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट