टिप्पणीबिहीबार, साउन २२, २०७१

चक्रव्यूहका जर्नेल कटवाल

कुन्द दीक्षित

तस्वीरः कुन्द दीक्षित

तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा ‘कु’ गरेको एक महीनापछि लेफ्टिनेन्ट जनरल कटवालबाट बोलावट आयो। योजनाबद्ध ढंगले गरिएको शाही ‘कु’ पछि राजनीतिक नेता तथा प्रजातन्त्र पक्षधर अगुवाहरू आम गिरफ्तारी र थुनामा परेका थिए। संचार संस्थाका न्यूजरुमहरूमा सेनाको व्यापक सेन्सर थियो। हामीले अंग्रेजी साप्ताहिक नेपाली टाइम्स र नेपाली हिमाल खबरपत्रिका पनि सेनाका अफिसरहरूले काँटछाँट गरेपछि मात्र प्रेस पठाउन पाउँथ्यौं।

जनरल कटवालले भद्रकालीस्थित सैनिक मुख्यालयमा सनासोले समाए झै हात मिलाए। त्यसपछिको एक घन्टा लामो कुराकानीमा उनले राजाको कदमपछि खास गरेर अन्तर्राष्ट्रिय समुदाय र मिडियाबाट आएको प्रतिक्रिया बुझ्न चाहे। सँगसँगै, परिवर्तित परिस्थिति अनुसार चल्न सचेत गराएका थिए। त्यसको करीब १० वर्षपछि गतहप्ता जनरल कटवालले मलाई स्वागत गर्दा पहिले झै कडा किसिमले हात मिलाए। एकदमै रुखा र फुर्तिला यी जनरलको उत्थानको कैरन कहने आत्मसंस्मरण यही ३० साउनमा सार्वजनिक हुँदैछ।

दरबारको आशीर्वाद र उत्थान

नेवार्नी आमाबाट जन्मेका आठवर्षे रुकमाङ्गदलाई पूर्वाञ्चल भ्रमणको क्रममा ओखलढुंगा आइपुगेका राजा महेन्द्रलाई हेर्ने ठूलो उत्सुकता थियो। नभन्दै, उनी एक साँझ लुसुक्क राजाको पालभित्र छिरे। बालकको त्यो निश्छल आँटबाट राजा यति प्रभावित भएकी रुकमाङ्गदले २०१४ सालमा ललितपुरको फर्पिङस्थित बोर्डिङ स्कूलमा पढ्ने मौका पाए।

वि.सं. १८२५ मा कान्तिपुर आक्रमणको क्रममा वीरगति पाएका गोर्खाली जनरल देवराज कटवालको सन्तति रहेका रुकमाङ्गदको भाग्यमा पनि सैनिक हुने लेखेको रहेछ। उनी नेपाली सेनामा भर्ना भएर पदोन्नति हुँदै गए। देश युद्धबाट शान्तितिर र राजतन्त्रबाट गणतन्त्रतिर संक्रमण गरिरहेको सङ्गीन समयमा उनी चीफ भए। त्यो यस्तो समय थियो, जतिबेला जनरल कटवालले आफ्ना संरक्षकहरू रंगमञ्चबाट बाहिरिएको हेर्दै नेपाली सेनाको नेतृत्व सम्हाले।

जनरल कटवालको उदय दरबारको आशीर्वादबाट सम्भव भएको ठान्नेहरू धेरै छन्। दरबारले आफूलाई खाली छात्रवृत्ति दिएको बताउने कटवाल दरबारसँगको निकटताको हल्लाले आफूलाई फाइदै भएको ठान्छन्।

१९ जेठ २०५८ को दरबार हत्याकाण्ड नेपालमा राजतन्त्र अन्त्यको थालनी थियो। त्यसको पाँच महीनामा नेपाली सेना लडाईंमा उत्रियो, जसलाई राजा वीरेन्द्र होउञ्जेल रोकेका थिए। वीरेन्द्रको समयमा सेनालाई ‘अफेन्सिभ’ मा नगई माओवादीहरूलाई निशस्त्र पार्दै वार्तामा ल्याउन निर्देशन थियो। त्यसबेला सेनाको ‘इन्टेलिजेन्स’ प्रमुख रहेका कटवालले ज्ञानेन्द्रको १९ माघको कदमभन्दा केही दिनअघि नेतृत्व तहका जनरलहरू बैठकको लागि बारम्बार दरबार जान थालेको चाल पाए। “केही पाकिरहेको थियो”, जनरल कटवाल सम्झन्छन्। नभन्दै १९ माघको नौ बजे राजा ज्ञानेन्द्रले प्रधानमन्त्री र सरकारलाई बर्खास्त गरेर सम्पूर्ण शक्ति हातमा लिए। त्यो साँझ बेलायती राजदूत ब्लुमफिल्डले फोनमा कटवाललाई भनेका थिए, “आरके, तिम्रो राजा त ढाँट पो रहेछन्।”

‘नेताहरूलाई पाठ सिकाउन’ र माओवादीलाई किनारा लगाउन सजिलो होला भनेर शुरूमा शाही ‘कु’ प्रति आशावादी रहेको कटवाल स्वीकार्छन्। त्यसको केही दिनमै राजाले डा. तुलसी गिरी र कीर्तिनिधि बिष्टलाई मन्त्रिपरिषद्को उपाध्यक्षमा नियुक्त गरेपछि भने जनरल कटवाललाई राजा धेरै दिन टिक्न सक्दैनन् भन्ने लाग्यो। नभन्दै, त्यसको १४ महीनामै छोड्न बाध्य भए, ज्ञानेन्द्र।

इतिहास बनाउने घटनाक्रम

माओवादीका जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले कटवाललाई वैशाख २०६६ मा सेना प्रमुखबाट राजीनामा दिएर राष्ट्रसंघ वा फ्रान्सको लागि राजदूत हुन लोभ्याए। त्यो चारा टिप्न जनरल राजी नभएपछि दाहालले बर्खास्त गरिदिए, जुन ‘कटवाल प्रकरण’ को नामले बहुचर्चित भयो। राष्ट्रपति डा. रामवरण यादवले कटवाललाई सेना प्रमुखमा थमौती गरिदिएको भोलिपल्ट दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिए। अघिल्लो दिन २० वैशाखमा सेना प्रमुख कटवाल दुई वटा पिक–अप ट्रकभरि कमाण्डो राखेर दाहाललाई भेट्न बालुवाटार गएका थिए– हरेक १० मिनेटमा आफूलाई झ्यालमा आएको नदेखे भवनमा धावा बोल्ने आदेशका साथ। “प्रचण्डले नेपाललाई एउटै पार्टीको जनगणतन्त्र बनाउन सक्छु भन्ठानेका थिए”, कटवाल भन्छन्, “सेना लिनसके बाँकी काममा कसैले रोक्न नसक्ने उनको बुझाइ थियो।”

हुन पनि, त्यो बेला सेनाप्रमुख कटवाल प्रचण्डको जालमा परेको वा २० वैशाखमा जनरल खड्काको अगाडि आत्मसमर्पण गरेको भए आज नेपालमा एकदलीय अधिनायकवाद हुन सम्भव थियो। कटवालको विचारमा त्यसबेला गिरिजाप्रसाद कोइराला माओवादीप्रति आवश्यकताभन्दा बढी नरम थिए भने अनमिन प्रमुख इयान मार्टिन नेपालको लोकतन्त्रको विपक्षमा उभिएका थिए।

काठमाडौंको राजनीतिमा भारतीय खुफिया एजेन्सीहरूको खुला चलखेल प्रष्ट्याउने सुधीर शर्माको प्रयोगशाला र प्रशान्त झाको ब्याटल फर अ न्यु रिपब्लिक पछि आउन लागेको जनरल कटवालको किताबमा त्यो उहापोहको एक जना भित्रियाको ‘आँखोदेखा’ बयान छ, जुन घटनाक्रम र पात्रहरूले नेपालको निकट विगतको इतिहास बनाए।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>