रिपोर्टबिहीबार, साउन २२, २०७१
जनकपुर विस्तारः अतिक्रमणलाई धक्का
–ईश्वरचन्द्र झा

तेलहा पोखरीको पश्चिम डिल अतिक्रमण गरी बनाइएको रघुपति मिष्ठान्न भण्डार भत्काएपछिको दृश्य। तस्वीरहरुः ईश्वरचन्द्र झा
वि.सं. २०२५ मा जनकपुरमा नापी रेकर्ड अनुसार ७ विघा मात्र निजी जग्गा थियो भने बाँकी गुठीको। तर, अहिले जनकपुरमा गुठीको जग्गा निकै कम छ। प्रमुख मन्दिरका जग्गा बेचिनु तथा गुठी र सार्वजनिक पोखरीका जग्गा अतिक्रमण हुनु यसको प्रमुख कारण हो। यो अवस्थाले ‘५२ कुटी र ७२ कुण्ड’ को शहर भनिने जनकपुरका कुटी र मन्दिर संकटमा परेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका मैथिली विभाग प्रमुख परमेश्वर कापडी बताउँछन्।
अतिक्रमणकारी हटाइँदै
वैशाख पहिलो साता २०७१ मा गुठी संस्थानले जनकपुरको सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएका घर खाली गर्न ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेपछि यो अवस्था फेरिंदैछ। एशियाली विकास ब्याङ्कको ऋण अनुदानमा गुठी संस्थान र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले शुरू गरेको रु.२ अर्बको एकीकृत शहरी विकास परियोजना अन्तर्गत यो अभियान शुरू भएको हो।
जानकी मन्दिरको उत्तरपट्टि दुई दशकअघि बनेको रघुपति मिष्ठान्न भण्डार रहेको चारतले घर र पोखरी अतिक्रमण गरी बनाइएका ३०० भन्दा बढी घरटहरा भत्काइएको छ। विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा अब पोखरी र कुटीले चिनिएको जनकपुरको सौन्दर्य फर्काएर आधुनिक बनाउने प्रक्रिया शुरू भएको बताउँछन्।
जानकी मन्दिरले शटर बनाएर भाडा लगाएको भवन पनि भत्काउन थालिएको छ। जानकी मन्दिरको उत्तर पश्चिमको अरगज्जा पोखरीको पूर्वी डिलका ५० वटा शटर भत्काइएका छन्। यो अभियान गत चैत दोस्रो साता बसेको सर्वपक्षीय बैठकले जग्गा खाली गराउने निर्णय गरेपछि शुरू भएको हो।
पौराणिक धनुष र गंगासागर सहित जनकपुरमा अहिले ४९ वटा पोखरी छन्। पौराणिक मह140वका पाँच वटा पोखरी लोप भइसकेका छन्। जनकपुर–३ शिवचोकमा रहेको पयस्विनी सर पुरेर होटल सिटी स्टार र मानकी इन्टरनेशनल होटल बनाइएको छ। गुठी संस्थान जनकपुरका प्रमुख राजबाबु पाण्डे पोखरी वरिपरिका घर हटाइएपछि अतिक्रमण गरिएको गुठीको जग्गामा पनि डोजर चलाइने बताउँछन्।
२०३६ को जनमत संग्रहपछि जनकपुरमा गुठीका जग्गा र पोखरी अतिक्रमण गरी घर निर्माण हुनथालेको हो। गुठी संस्थान जनकपुरका प्रमुख पाण्डेका अनुसार २०४६ पछि यो क्रम अरू बढ्यो। गुठीको जग्गा अतिक्रमण हुनुमा गुठीका तत्कालीन प्रमुख, महन्थहरू र जनकपुर नगरपालिका दोषी रहेको उनको भनाइ छ। महन्थले जग्गा बेचे पनि गुठी र नगरपालिका प्रमुखले नक्शा पास हुन नदिएको भए अतिक्रमण नहुने उनी बताउँछन्।
२२ वैशाख २०७१ मा गुठी संस्थानले राम चोकमा रहेको गोपाल धर्मशाला खाली गराउन पनि पत्र पठाएको छ। धर्मशाला सञ्चालकका अनुसार वि.सं. १९९० मा सरकारले धर्मशाला निर्माण गर्न भारत, कलकत्ताका रायबहादुर, बलदेव दास र रामेश्वर नथानीको ‘नथानी ट्रष्ट’ लाई अधिकार दिएको थियो। गुठीले धर्मशालाको स्वामित्वको प्रमाण बुझाउन पत्र लेखेपछि कलकत्ताबाट धर्मशाला सञ्चालक जनकपुर आउँदैछन्। गुठीको भने धर्मशाला आफैं सञ्चालन गर्ने योजना रहेको बताइन्छ। ५० कोठा रहेको यो धर्मशालामा भारतीय पर्यटक बस्छन्।
जानकी र रतनसागर मन्दिरका महन्थहरूले गुठीको सयौं बिघा जमीन बिक्री गरेका छन्। ती जग्गा बिक्री हुँदै विवाद बाहिर आए पनि सरोकारवाला निकायले हस्तक्षेप नगरेकाले केही हुनसकेको थिएन। १५ असारमा जनकपुर पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले गुठीको जग्गा किनबेचमा संलग्न कर्मचारी, महन्थ र व्यक्तिलाई कारबाही गर्ने बताएपछि ती जग्गा फिर्ता हुने स्थानीयले आशा गरेका छन्।
गुठीको पुरानो जग्गा खाली गर्दा जनकपुरका ५०० भन्दा बढी घर भत्कने देखिन्छ। भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र गुठीको यो प्रयासलाई साहसिक मान्छन्। तर, कानूनी आधार र सार्वजनिक हितका संस्थाको संरक्षण नभएमा अभियान विवादित बन्ने मन्त्री निधिको भनाइ छ। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्यामकुमार साह भने त्यसका लागि संयन्त्र निर्माण गर्नुपर्ने तथा व्यवस्थापनको विधि अहिले नै बनाउनुपर्ने बताउँछन्।
विवादमा अभियान
जेठ अन्तिम साता जनकपुरको गोरधोई पोखरीबाट शुरू भएको डिल खाली गराउने अभियान जानकी मन्दिर अगाडिको तेलहा मरहा र चन्द्रकूप सरसम्म आइपुग्दा विवादमा परेको छ। तराई–मधेश लोकतान्त्रिक पार्टीबाट सभासद् बनेका डा. विजयकुमार सिंहले अतिक्रमण हटाउने अभियान पनि शक्तिशालीहरूबाट प्रभावित बनेकाले प्रभावकारी नभएको गुनासो गरे। पोखरीको डिल खाली गराउँदा कैयौं घरलाई नछोइएको उनको भनाइ छ।
गुठी संस्थानका अध्यक्ष पञ्चलाल महर्जन भने पोखरीको डिल खाली गर्ने यो अभियान सकिएपछि अतिक्रमित जग्गा खाली गर्ने दोस्रो र तेस्रो चरणको अभियान शुरू गरिने बताउँछन्। २०६८ मा एनेकपा (माओवादी) ले जनकपुरको बेला कुटीको अधीनमा रहेको गुठीको जग्गा कब्जा गरेको थियो। उक्त जग्गामा एमाओवादीका समानुपातिक सभासद् प्रतीक्षा तिवारीलगायत स्थानीय नेताहरूले घर बनाएका छन्।
गुठी संस्थान जनकपुरका प्रमुख राजबाबु पाण्डेका अनुसार गुठीको जग्गा अतिक्रमण गरेर २५५ घर बनाइएको छ। माओवादीका केन्द्रीय सदस्य समेत रहेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शर्मा अतिक्रमण गरेर बनाएको घर जोसुकैको भए पनि खाली गरिने दाबी गर्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
