ब्लगशुक्रबार, साउन २३, २०७१
दर्ज्यानी चिन्ह
काठमाडौं छिर्न नारायणघाट छिचोलेपछि पहिलोपल्ट पहाड देखे मैले! म सत्यवादी हरिश्चन्द्रको औलाद नभए पनि सितिमिति ढाँट्दिनँ। मधेशमा नित्य उठेर पूर्व–पश्चिम राजमार्गमा ‘जोकिङ्ग’ गर्दै हिंड्दा उत्तरमा देखिने थुम्कोहरूलाई हामी चुरे भन्थ्यौं। सर्वप्रथम पहाड देखेको नारायणघाट काटेपछि नै हो, मान्नुस्।
मधेशाँ सखारै लोटा लिएर मैदान जाने चलन हुन्छ। त्यस क्रममा एकताका छिमेकी गाउँका नेताजीसँग मित्रता भइगएको थियो। चानचुने छँदा लँगौटी साटफेर गरेर लँगोटिया यार भए जस्तै भर–अभरमा लोटा ऐंचोपैंचो चल्ने भएकाले उनी र म लोटनिया दोस्त हुन पुग्यौं। यद्यपि, हाम्रो मित्रता गाढासँगै कटाक्षपूर्ण पनि रहयो। कतै देख्नासाथ उनी टाढाबाटै चिल्लाउँथे, “काजी, तिमी शासक वर्गको, हामी शासित।”
म बबुरो केको काजी, कताको शासक! लेकिन, बिजुलीको मिटर जडानदेखि वन कटानको पुर्जी फुकाउनसम्म उनै लोटनिया दोस्तको शरणमा जानुपर्थ्यो। प्रहरी प्रशासनमा उनकै चल्ती थियो। शासक र शासितको चपाट मारेर शिथिल्याउनै खोजे’सि मैले पनि संविधानको पाना पल्टाएँ, त्यहाँ केही कैफियत भेटिएन। तर, लिखितम् ठीक भएर के गर्नु? लोटनियाले ‘तेरा कुरा इस्’ भन्दै बकितम्को बकबासबाटै अदना बनाउँथे। हेर्दाहेर्दै मेरा दोस्त माननीय बन्न पुगे। कटाक्षपूर्ण दोस्तीको धर्म निर्वाह गर्दै भनें, “अब् तो तपाईं शासक, म शासित!”
“के कुरा करिलिन्छौ यार? तिमी पहिलो दर्जाको नागरिक, हामी दोस्रो दर्जाको”, जवाफ आयो। दोस्तले बोकाइदिएको भार बिसाउने दाउमा रहेको मलाई उनले अर्को भारी थपुवा गरी ‘हिस्स बूढा, खिस्स हरिया दाँत’ बनाउँदै धपाइदिए। घर आएर नागरिकताको परिचय–पत्रमा दश खेप दूरबिन लगाएर हेर्दा’नि त्यो दर्ज्यानी भने फेला परेन।
त्यसपछिका दिनमा मेरा दोस्तले बारम्बार मन्त्री पद पड्काउन थाले। एकदिन शुभकामना टक्र्याउन जाँदा फेरि मेरो मुखमा बुची कस्दै भने, “दोस्रो दर्जाको नागरिकसँग के काम परिहाल्यो, तपाईंको?”
उनको झ्न्डावाल गाडी र डन्डावालहरूको काफिलाले उडाएको धूलो गलगिद्ध हसुर्दै लुखुर–लुखुर हिंड्ने चाहिं उपल्लो दर्जाको नागरिक रे! यो दर्ज्यानी विश्लेषणको भुमरीमा गोलगोल घुमेर मेरो हविगत घुमाउने लागेको बोको भन्दा चर्को भएको अवस्थामा यसपालि नहुनुभयो। दोस्त र उनको दलले चुनावमा नराम्रो गच्ची खाएपछि मित्रधर्म अनुसार सहानुभूति व्यक्त गर्न उपस्थित भएँ। उनैले फटाक् से भने, “हामी तल्लो दर्जाको नागरिकलाई चुनाव जित्न नदिने खड्यन्त्र गरेर हराउनुभयो!”
पारिपट्टिको भोटको भर पर्दा यो अनहोनी हुन गयो भन्दा आगो होलान् भन्ने डरले मध्यमार्ग अपनाउँदै भनें, “चुनाव जितेर फेरि मन्त्री बनेको भए तपाईंको नागरिकताको दर्ज्यानीबारे खोजीनिती हुने बबाल जोखिम थियो, बेसै भयो भन्नुस्, दोस्त!”
पुरानै बिल्ला भिराएर मलाई बिदावारी गरेका दोस्तले छिमेकी देशबाट आएका एक महात्मालाई पनि भनेछन्, “हे करुणानिधि! हामीलाई दोस्रो दर्जाको नागरिक बनाइयो। आफ्नो प्रताप प्रयोग गरी हाम्लाई एकनम्बरी ठप्पा लगाइदिनुपर्यो।” दोस्तका दोस्तले थपेछन्, “बेडा गर्क होने लगा है, स्वामीजी! चुनावमा चट भएदेखि हामीमाथि तेस्रो दर्जाको नागरिकसरह व्यवहार हुन थालेको छ…।”
“यहाँ से राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री आदि भइसकेपछि पहिलो दर्जाको नागरिक को हुन्छ, वत्स?” महात्माको मुखारविन्दबाट यो वाक्य निस्केपछि बुखार छुटिगएका दोस्त त्यस दिनदेखि बेसुरमा बौआइरहेका छन् भन्ने सुन्दैछु।
बतियाउनमा माहिर दोस्तले महात्माको बोलती बन्द गर्न सकेनछन्। अब त मित्रले नागरिकताको दर्ज्यानी चिह्न सम्बन्धी आफ्नो अवधारणा पनि बदलिसके कि? तन्दुरुस्ती फिर्नासाथ जिज्ञासा राख्न अधीर भई बसेको म दोस्तको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु!
साप्ताहिक खबरपत्रिका हिमालबाट