रमझमबुधबार, आश्विन १०, २०६९
साहित्य महोत्सवमा महिला
नेपाली साहित्यमा साहित्यकारहरूको योगदान, समीक्षाको अवस्था, मातृभाषा लेखनको स्थिति, नेपाली फिल्मको स्थिति र दर्शकहरूको चाहना, नायिकाहरूको अनुभव सँगै अर्थतन्त्र र रङ्गमञ्चको अवस्थामाथि बहस चलाउँदै दोस्रो नेपाली साहित्य महोत्सव सकियो । महिलाहरूको थोरै मात्र सहभागिता भएको महोत्सवमा पहिलो दिन भारतीय लेखिका अद्वैता कला र पूर्व मिस नेपाल झरना बज्राचार्यबीच अद्वैताको पुस्तक अलमोस्ट सिंगल बारे कुराकानी भएको थियो भने अन्तिम दिन नेपालका पाँच चलचित्र नायिका मञ्चमा फिल्म क्षेत्रमा महिलाको अवस्थाबारे छलफल गर्न उपस्थित भएका थिए ।
बलिउड फिल्म अन्जना अन्जानी र कहानी की लेखिका अद्वैताको उपस्थिति नेपाली महिला साहित्यकारहरूका लागि आकर्षणको केन्द्र बनेको थियो । झरनाले उनका किताब पढेको र तिनमा एउटी एक्ली महिलाले कसरी आफ्नो पहिचानको लागि संघर्ष गर्छे र समाजले त्यसलाई कसरी हेर्छ भन्ने देखाएको बताइन् । अद्वैताले कहानी मा हराएको लोग्नेलाई खोज्ने महिलाको संघर्षबारे लेखेकी थिइन् । महिलाले उपलब्धिका लागि कठोर संघर्ष गर्नुपर्ने स्पष्ट पार्दै उनले बलिउडमा छिरेर ठूलो परिवर्तन गर्न सकिन्छ जस्तो आफूलाई नलागेकोले साहित्यबाटै महिला जागरणको काममा लागेको बताइन् ।
उत्सवको चौथो दिन ‘रिडिङ इन टाइम इन द न्यू मिडिया’ शीर्षकको छलफलकी वक्ता सेवा भट्टराईले न्यू मिडियाले कसरी गाउँघरलाई प्रभाव पारेको छ भन्ने प्रश्नमा गाउँमा पनि सबको हातहातमा मोबाइल सेट देखेको अनुभव सुनाइन् ।
कार्यसूचीमा नभए पनि अन्तिम दिनको अन्तिम छलफलमा नेपाली फिल्मका पाँच नायिका नम्रता श्रेष्ठ, ऋचा शर्मा, दिया मास्के, निशा अधिकारी र विनिता बरालबीच नेपाली चलचित्रमा नायिकाको अवस्थाबारे बहस चलेको थियो । नम्रताले सञ्चालन गरेको छलफलमा १० वर्षअघिको नेपाली फिल्म क्षेत्रको तुलना गरेर बहसलाई अघि बढाइएको थियो । विनिताले १० वर्षअघिका फिल्म राम्रो लुगा, पाउजु, लिपिस्टिक, पाउडर लगाउन पाइन्छ भनेर खेल्न मन पराइने गरेको कुरा गरिन् ।
ऋचाले त्यतिबेला र अहिलेको काम गर्ने शैली र वातावरणमा धेरै भिन्नता आएको बताइन् । अग्रज अभिनेत्रीहरूको संगतबाट आफूलाई अहिलेका कलाकारले धेरै अभिनय स्वतन्त्रता पाएका रहेछन् भन्ने लागेको सुनाइन् । पहिले सेटमा पुगेपछि मात्र स्क्रिप्ट पाइने, निर्देशकले भनेको शैलीमा अभिनय गर्नुपर्ने अवस्था थियो भने अहिले केही महीनाअघिदेखि नै स्क्रिप्टमा बहस हुने गरेको अनुभव नव नायिकाहरूको थियो । दियाले आफू चलचित्रबाट रंगमञ्चमा अभिनय सिक्न गएको कुरा गरिन् । नेपाली चलचित्रमा नायिकाहरूको शोषण हुने गरेको भन्ने प्रश्नमा निशाले शोषण चलचित्र क्षेत्रमा मात्रै होइन नेपाली समाजमै छ, त्यसैले शोषण गर्नेहरूलाई समाजबाटै हटाउनुपर्छ भनिन् ।
सबैले अहिले नेपाली चलचित्रमा नायिकाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको कुरा गरे । पहिले चलचित्रहरू प्रायः पुरुषकेन्द्रित हुन्थे र तिनमा महिलालाई अबला नारीको रूपमा प्रस्तुत गरिन्थ्यो भने अहिले त्यस्ता फिल्म बन्नै छोडेको, नायिकाहरूको भूमिका पनि सशक्त भएको र महिलाहरूलाई केन्द्रमा राखेर फिल्म निर्माण हुनथालेको उनीहरूले बताए । राम्रो पूर्व तयारी विनाको छलफल भएर होला नायिकाहरू विषयवस्तुमा अलि अलमलिए जस्ता देखिन्थे । महोत्सवमा सहभागी श्रष्टामा मात्र होइन श्रोता–दर्शकमा पनि महिलाहरूको सहभागिता कम थियो ।
को केमा सहभागी भए ?
अद्वैता कला झरना बज्राचार्यसँग ‘अलमोष्ट सिंगल’ र ऋचा भट्टराई ‘द राइज अफ चिकलिट’ शीर्षकको छलफलमा सहभागी भएका थिए । लेखिका शारदा शर्मा ‘लेखनका सुख दुःख’ मा सहभागी भएकी थिइन् ।
शीतल कादम्बिनी ‘वाह गजल’, शर्मिला खड्का दाहाल ‘सुन्नेलाई सुनको मालाः नेपाली बाल साहित्य’ र शिवानी सिंह ठकुरी ‘बुक्स लभ एण्ड लस्ट’ सम्बन्धी छलफलमा तथा कवयित्री मोमिला ‘कविताका शक्ति र सीमा’, सेवा भट्टराई ‘रिडिङ इन द टाइम अफ न्यू मिडिया’ र सीमा आभास ‘मोफसलमा लेखन’ सम्बन्धी छलफलमा सहभागी भएका थिए ।
त्यस्तै, कवयित्रीहरू सुलोचना मानन्धर, गीता त्रिपाठी, उषा शेरचनले डबलीमा कविता वाचन पनि गरेका थिए । अन्तिम दिनको अन्तिम छलफलमा नेपाली फिल्मका पाँच नायिका नम्रता श्रेष्ठ, ऋचा शर्मा, दिया मास्के, निशा अधिकारी र विनिता बरालबीच नेपाली चलचित्रमा नायिकाको अवस्थाबारे बहस चलेको थियो ।
-रती महर्जन (प्रशिक्षार्थी)