अन्तर्वार्ता/विचारशनिबार, साउन २४, २०७१

‘देहव्यापार वैधानिक हुनुपर्छ’

हिमालखबर


आरडी कुलुङ

• नेपालमा लामो समयदेखि देहव्यापारबारे बहस भइरहेको छ र औपचारिक रूपमा धेरैले यसको विरोध गरिरहेका छन्, तर विरोध गर्नेहरू नै ग्राहक बनिरहेका
हुन्छन्।

• देहव्यापारलाई मानव समाजको सबभन्दा पुरानोमध्येको व्यवसाय मानिन्छ। हाम्रा धार्मिक कथाहरूमा नगरबधुको चर्चा छ। बाइबलमा पनि नगरबधुकोचर्चा छ। किरात मुन्धुमले सृष्टिको प्रारम्भतिरै वेश्या चरित्र देखिएको बताउँछ।

• नेपालमा विगत ३०० वर्षदेखि चलेको वादी प्रथामा महिलाहरू जबर्जस्ती वा स्वेच्छिक रूपले यौन व्यवसायमा संलग्न थिए। शोषण र उनीहरूको दयनीय अवस्थाका कारण पछिल्लो समय समाज र सरकारी हस्तक्षेपले यो प्रथा विथोलिएको छ।

• राज्यले नियन्त्रणको देखावटी कोशिश गरिरहे पनि माथिल्लो तहका राजनीतिज्ञदेखि प्रशासकहरूसम्म यौन व्यवसायीका मालदार ग्राहक छन्। कतिपय ओहोदाधारीहरू रङ्गेहात समातिएका छन्।

• नेपाली पत्रपत्रिकामा ‘सेक्स’ बढी बिक्छ। पाठकको एउटा ठूलो समूह यौन खोजिरहेका हुन्छन्।

• दशवर्षे माओवादी ‘जनयुद्ध’ मा भाग लिएका महिलाहरूमध्ये धेरैजसो बच्चा बोकेर गाउँ फर्किए।

• गरीबी वा अरू विकल्प नपाएका कारण महिलाहरूले देहव्यापार अँगालेको तर्क धेरैको छ। तर, मध्यम र उच्चवर्गका महिलाहरू पनि देहव्यापारमा संलग्न
छन्। यसले गरीबीका कारण नभई, सजिलो आर्थिक लाभ नै यौनव्यापारको आकर्षण रहेको देखाउँछ। सजिलो गरी पैसा कमाउने यो पेशामा सामान्यतः शारीरिक सुन्दरता भएका महिला र पुरुषलाई सहज हुन्छ। गरीब र कुरुप महिलालाई चाहेर पनि यो पेशामा टिकिखान गाह्रो हुन्छ।

• देहव्यापार गर्नेलाई पहिले ‘वेश्या’ भनिन्थ्यो। यो शब्द अहिले वर्जित बन्दै गएको छ र यसको ठाउँ ‘यौन व्यवसायी’ शब्दले लिएको छ। यसको अर्थ नेपाली समाजले देहव्यापारलाई एउटा व्यवसायको रूपमा स्वीकार्न थालेको भन्ने हुन्छ।

• बेलायतमा पढ्दा महात्मा गान्धी समेत वेश्यालय गएको कुरा पढ्न पाइन्छ।

• हरेक विश्वकप फूटबल र ओलम्पिक जस्तो खेल कुम्भमेलाहरूमा देहव्यापार चर्चाको एउटा मुख्य विषय बन्छ।

• यौन व्यवसायलाई वैधानिकता दिंदा संसारमा कुनै समाज भाँडिएको उदाहरण छैन। बरु अनुमति नदिंदा समाजमा यौन अपराध बढेका थुप्रै उदाहरण भेटिन्छन्। यौनलाई सामाजिक र प्रशासनिक रूपले दमन गरिएको समाजमा बढी यौन हिंसा हुन्छ। हामीले बन्द समाज भएका मुलुकहरूमा बढी यौन हिंसाका घटना भएका समाचार सुन्दै, पढ्दै आएका छौं।

• विश्वका सबैजसो विकसित देशले यौन व्यवसायलाई कानूनी मान्यता दिएका छन्। इटाली, अमेरिका, केन्या, तान्जानिया, दक्षिण अफ्रिका लगायतका देशका इच्छुक युवा महिलाहरूको लागि यौन व्यवसाय सजिलो र कमाउ पेशा बनेको छ। थाइल्याण्डले त यौन पर्यटन नै अपनाएको छ।

यी तथ्यहरूले प्रष्ट सन्देश हो– यौन बन्देज गरेर बन्द हुने विषय होइन। गत १०/१५ वर्षको ‘ट्रेन्ड’ लाई हेर्दा सरकारी नियन्त्रणका बाबजूद नेपालमा देहव्यापार विस्तार भइरहेको देखिन्छ, जसलाई कानून बनाएर व्यवस्थापन गर्नु अत्यावश्यक भइसकेको छ। यौन व्यवसायलाई वैधानिक बनाउँदा नेपाली समाज बिग्रँदैन, बरु स्वस्थ हुन्छ। यौनको किनबेचमा जानेहरू तोकिएको ठाउँमा जान्छन्, नजाने आफ्नो ठाउँमा मर्यादित बनेर बस्छन्।

सबभन्दा महत्वपूर्ण कुरा, यौन व्यवसाय वैधानिक हुँदा व्यवसायी सुरक्षित हुन्छन्। अहिले ‘अवैध धन्दा’ गर्दा उनीहरू अनेक खालका सामाजिक र स्वास्थ्य जोखिममा छन्। दिनरात पुलिसको डर त छँदैछ, ‘कोठी’ सञ्चालक र ग्राहकले समेत गर्नुसम्मको शोषण गरिरहेका छन्। त्यसमाथि एचआईभी/एड्सको जोखिम छँदैछ। यौनकर्मीहरूको मानवअधिकार तथा स्वास्थ्य रक्षाका लागि पनि यो व्यवसायलाई वैधानिक बनाउने र रेडलाइट एरिया छुट्याएर कानूनले व्यवस्थित गर्नुपर्ने भइसकेको छ।

जहाँसम्म किशोरकिशोरीको सवाल छ, समाज र सरकारले उनीहरूलाई उमेर अनुसार प्रभावकारी यौन र नैतिक शिक्षा दिनुपर्छ। दिनदिनै खुलेर आएको यौनको सम्बन्धमा नेपाली समाजसँग अब योभन्दा अर्को गतिलो विकल्प छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>