टिप्पणीआइतबार, साउन २५, २०७१

अभरो फ्रिज

डा. सुमनराज ताम्राकार

गर्मी अर्थात् वर्षात्को मौसममा वातावरणको तापक्रममा आउने बढोत्तरीसँगै विभिन्न जीवाणु तथा झिंगा, लामखुट्टे, साङ्ला लगायतका रोगव्याधी वाहकहरूको वृद्धिका कारण सरुवा रोगको महामारी फैलिने गर्छ। निश्चित तापक्रममा निष्त्रि्कय रहने यस्ता सूक्ष्म जीवाणुबाट जोगिन लामो समयदेखि रेफ्रिजेरेटरको उपयोग हुँदै आएको छ।

जाडो मौसमको अन्त्यसँगै बजारमा विभिन्न सुविधा एवं एप्लिकेशनसहितका रेफ्रिजेरेटर तथा फ्रिजरको बिक्री बढ्नुका पछाडि मूलतः गर्मीमा चिसो पेय र अरू खाद्य पदार्थ खान तथा खाद्य पदार्थहरूलाई लामो समयसम्म खानयोग्य राख्ने उद्देश्य देखिए पनि रेफ्रिजेरेटरले कतिपय जीवाणुलाई निष्त्रि्कय बनाउने काम पनि गर्छ। अब त नेपालीका लागि यो उपकरण विलासिताको वस्तु पनि रहेन। मध्यमवर्गीय परिवारमा ग्याँस चुल्हो, राइसकुकर, माइक्रोओभेन जस्तै फ्रिज पनि भान्साकोठाको आवश्यकता भइसकेको छ।

शहरी क्षेत्रमा दम्पतीहरू कामकाजी हुँदै गएकाले पनि फ्रिज निर्विकल्प बन्दै गएको बुझन सकिन्छ। बिहान बेलुकै दाल, तरकारी र अचारसहितको खाना पकाउने समयको अभावमा फ्रिज वरदानसिद्ध भएको छ। यद्यपि, खानेकुरा फ्रिजमा राख्दैमा ताजा भइराख्छ भन्ने चाहिं हुँदैन।

फ्रिज र लोडसेडिङ

अटुट रूपमा भइरहेको लोडसेडिङमा फ्रिज वा फ्रिजरले स्थिर रूपमा काम गर्नै सक्दैन। त्यसैले, बाध्यता नभएसम्म गर्मी मौसममा पनि खाना पाकेको दुई तीन घन्टाभित्रै खानु उपयुक्त हुन्छ। फ्रिजको खाना ढिलो गरी बिग्रन्छ, यसमा दुईमत छैन, तर फ्रिजमै राखिएको भए पनि खानु अगाडि कीटाणु नष्ट हुने तापक्रममा तताउनु बुद्धिमानी हुन्छ। खानेकुरा बिग्रिएको शंका लागेमा त फ्रिजमा राखेको भनेर खानु हुँदै हुँदैन।

फ्रिजमा लामो समयसम्म खानेकुरा संचय गरेर राख्न सकिए पनि त्यो पूर्ण रूपमा कीटाणुरहित हुन्छ भन्ने ग्यारेण्टी हुँदैन– निरन्तर रूपमा निश्चित तापक्रममा रहेको अवस्थामा बाहेक। फ्रिजरमा भने कीटाणु नष्ट नै गर्न नसकिए पनि तिनको वृद्धि रोक्न सकिन्छ। त्यसकारण, एकाध चिज बाहेक सबै खानेकुरा एक–दुई दिनभन्दा बढी राख्नुहुँदैन। फ्रिजमा माछामासु सालाखाला चार दिनसम्म राख्न सकिन्छ भने अण्डा पाँच सातासम्म।

फ्रिज वा फ्रिजरको नियमित सरसफाई गरिएन भने सूक्ष्म जीवाणुको वृद्धि हुन बेर लाग्दैन। सफा गर्दा फ्रिजको बाहिर पनि सफा गर्ने गर्नुपर्छ। फ्रिजमा खानेकुरा हावा नछिर्ने (एअर टाइट) भाँडामा राख्नु बुद्धिमानी हुन्छ। फ्रिज र फ्रिजर राम्ररी बन्द अवस्थामा रहनुपर्छ। फ्रिज पटक–पटक खोल्ने वा खुल्लै राख्ने गर्दा भित्रको तापक्रम अस्थिर भएर खानेकुरा चाँडो बिग्रन्छ।

निरन्तर लोडसेडिङ हुने ठाउँको फ्रिजमा बढी नै भरपर्दा पनि टाइफाइड, झाडापखाला, आउँ, रगतमासी, हैजा लगायत फूड प्वाइजनिङ र एलर्जी हुन बेर लाग्दैन। फ्रिजभित्र चार डिग्री सेन्टिग्रेडभन्दा कम चिसो भयो भने पनि लिस्टेरिया नामक कीटाणुको वृद्धि भई खाद्य पदार्थजन्य रोगव्याधी लाग्नुका साथै भिटामिन, लवण लगायतका पौष्टिक तत्व नष्ट भएर खानाको गुणस्तर घट्ने हुन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...