टिप्पणीसोमबार, साउन २६, २०७१

ग्याङस्टर कारखाना

dipesh kc

मोडल झैं देखिने युवतीको एउटा समूह डिल्लीबजारस्थित कारागार परिसरको दक्षिण कुनामा बसिरहेका एक जना खाइलाग्दो युवकअघि पुगेर अडियो । नायकलाई फ्यानले घेरे झैं युवतीको समूहले लामो समय ती युवकलाई घेरिरह्यो । उनीहरू गएको केही घन्टामा नाम चलेका खेलाडीदेखि विद्यार्थी नेतासम्म ती युवकलाई भेट्न त्यहाँ पुगे । ती युवक थिए– दिनेश अधिकारी ‘चरी’ ।

२०६५ मा हिमाल खबरपत्रिकाका लागि जेल सम्बन्धी खोजमूलक लेख तयार पार्न यो पंक्तिकार त्यहाँ पुग्दा कलिलो उमेरको चरी ग्याङस्टार भनेर पत्याउने खालका देखिंदैनथे । यति छिटो उमेरमा उनले शक्ति बढाउलान् भनेर नपत्याएर होला, त्यहाँ बन्दी रहेका अरू ग्याङस्टार र कुख्यात अपराधीहरूले पनि उनलाई गन्दैनथे । राजनीतिक छत्रछायाले कुख्यात बनेका तिनै चरी प्रहरीसँगको ‘मुठभेड’ मा मारिएका छन् । यो घटनाले छिट्टै उदाएका ग्याङस्टार अन्त्य भए पनि अहिलेको अवस्थाले यस्ता ग्याङस्टार र नयाँ ग्याङ निर्माणको प्रक्रिया रोकिने देखिंदैन ।

ग्याङस्टरको समाजशास्त्र

हरेक समाजमा ठूलो या सानो समूह वा दस्ता हुन्छ । पहिचान बनाउन, आत्मरक्षा गर्न वा सशक्त बन्न समूह या दस्ता बनाउने गरिन्छ । गाउँ र शहरमा हुने समूह भिन्न प्रकृतिका हुन्छन् । गाउँका समूहमा अधिकांशको संलग्नता हुने भए पनि त्यसको दायरा गाउँभित्र मात्र हुन्छ । शहरका समूह र ग्याङमा भने सीमान्तकृत वर्ग र समुदायका मानिस बढी संलग्न हुन्छन् । गाउँ या अन्य शहरबाट बसाइँ सरेर आएकाहरूलाई सामाजिक र आर्थिक समानताले निकट बनाएको हुन्छ ।

युवाहरू त एउटै क्षेत्र, भाषा, समुदाय, जाति, धर्म र संस्कृति समेत मिलेपछि संगठित हुने नै भए । काठमाडौं उपत्यकामा कहलिएका ग्याङस्टारका सदस्यहरू उनीहरूकै क्षेत्रका हुनुले त्यही देखाउँछ । उनीहरूमध्ये कैयौंले पुरानो ठाउँबाट उपनाम र समूहको नाम नै राखेका छन् । मनाङे समूह र काभ्रेली समूह त्यसैका उदाहरण हुन् । मिलन चक्रे आफू सक्रिय क्षेत्र अर्थात् चक्रपथको नामबाट चिनाएका छन् ।

सीमान्तकृत जाति/जनजाति वा समुदायबाट राजधानी आएकाहरूले छिटो प्रभावशाली समूह निर्माण गर्न सक्नुमा व्यक्तिगत क्षमतासँगै सामाजिक परिस्थितिले पनि सघाएको देखिन्छ । शहरमा छिटै सपना पूरा हुने सम्भावना नदेखेपछि विचलित भएकाहरूलाई एकजुट बनाउन सजिलो पनि हुन्छ । असफलताको तनाव हुने भएकाले उनीहरूलाई आपराधिक गतिविधिमा पुर्‍याउन अरूलाई भन्दा सजिलो हुन्छ । अनेक प्रकारका संघर्षको पीडाले उनीहरूमा विद्रोही मानसिकता भरिएकै हुन्छ ।

पैसा कमाउन अपराधमा संलग्न भएका एउटै गाउँ र समुदायका युवा समूहलाई राजधानीले एकदशकसम्म झेलेको थियो । रामेछापको गौश्वारा पासिवनका मगर समुदायका युवाहरूको शृंखलाबद्ध डकैतीले ६० को आधा दशक राजधानीलाई सताएको रिपोर्ट त्यहीबेला हिमाल मा छापिएको थियो ।

तीव्र शहरीकरण भइरहेका अरू ठाउँमा पनि ग्याङस्टारको प्रकोप देखिन्छ । अपराध बढ्नु र अपराधीहरू समूहमा संगठित हुनु शहरीकरणको नकारात्मक पक्ष हो । संसारका नामी र औद्योगिक शहरमा अपराध पनि बढी हुन्छ । भारतको मुम्बई त्यस्तै शहर हो । त्यहाँ चलचित्र निर्माणदेखि नायक्नायिकालाई माथि उठाउन र झार्नमा समेत संगठित गिरोहको भूमिका हुने गरेको बताइन्छ । नेपालका शहर पनि त्यही दिशातर्फ बढेको देखिन्छ, शहरीकरणभन्दा तीव्र गतिमा ।

प्रकार्यवादी समाजशास्त्री इमाइल दुर्खिमको अवधारणा अनुसार अपराध दबाब र बाह्य प्रभाव हुने सामाजिक तथ्य हो । अपराधविनाको समाज हुन नसक्ने भए पनि बढी अपराध भएको समाजलाई अस्वस्थ मानिन्छ । नेपाली समाजमा पनि धेरै आपराधिक गतिविधि भएकोले यसलाई अस्वस्थ मानिएको हो । उजुरी परेका र प्रहरीको तथ्यांकमा रहेका घटनाले मात्र अपराधको वास्तविकता देखाउन सक्दैनन् । शहरका टोल–टोलमा जन्मिएका आपराधिक समूहका गतिविधिले अपराधको भयावह तस्वीर देखाउँछ । उनीहरूबीचको समन्वय र सञ्जालले अरू खतरनाक संकेत दिन्छ ।

अपराध रोक्न समाजको एउटा निकायको भूमिका मात्र प्रभावकारी हुँदैन । अपराध कम गर्न प्रहरीको भूमिका हुन्छ नै । तर, सिङ्गो समाजको सुझ्बुझ् सहितको योजनाबद्ध हस्तक्षेप भएन भने प्रहरी मात्र प्रभावकारी हुन सक्दैन । घरदेखि विद्यालय, सरकारी निकायदेखि गैरसरकारी संस्था, राजनीतिक दलदेखि नागरिक समाज सबैले नयाँ पुस्तालाई अपराधतर्फ लाग्न नदिने शिक्षा दिनुपर्छ । त्यही अनुसारको नीतिनिर्माण गरेर र व्यवहार पनि गर्न जरूरी छ । क्षणिक लाभका लागि अपराधलाई जीवनपद्धति बनाउने संस्कारमा पनि परिवर्तन ल्याउनुपर्छ ।

हाम्रो शैक्षिक प्रणालीले बेरोजगार र मानसिक विक्षिप्त पिंढीको उत्पादन गर्दैछ । सरकारी नीतिनियम पनि युवाको पक्षमा सकारात्मक छैन । गैरसरकारी संस्थाहरू नयाँ पिंढीप्रति इमानदारी देखाइरहेका छैनन् । राजनीतिक दलहरू अपराधको राजनीतिकरण गर्न लागिरहेका छन् । सामान्य स्तरको टोले गुण्डालाई संरक्षण दिंदै ग्याङस्टारको दर्जामा पुर्‍याउने नेता नै हुन् । नागरिक समाज स्वस्थ समाज निर्माणमा गम्भीर छैन । अपराधीलाई सुधार गर्नुपर्ने कारागारले झन् कुख्यात अपराधी बनाएका उदाहरण छन् । त्यसमाथि अपराधीलाई पक्रँदैमा अपराधको व्यवस्थापन हुने पनि होइन । प्रहरीले कठिन मिहिनेत गरेर देशभित्र र बाहिरबाट कुख्यात अपराधी पक्राउ गर्दा पनि अपराध दिगो रूपमा व्यवस्थापन नहुनुले त्यही देखाउँछ ।

सीमा अपराधको नियन्त्रण

नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपालमा लुक्ने अपराधीहरूलाई दुवै देशका सुरक्षा निकायले चाहेमा पक्रन सक्ने रहेछन् भन्ने धेरै पटक देखिएको छ । अन्तरसीमा अपराध र लुक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दुवै देशका सुरक्षाकर्मीबीच बलियो समन्वय हुनुपर्ने बताउँछन्, नारायणी अञ्चल प्रहरीका एसएसपी सर्वेन्द्र खनाल । भारतीय प्रहरीसँगको समन्वयमा सीमा पारिबाट आई लुकेका कुख्यात अपराधीलाई नेपाली भूमिमा पक्राउ गर्न उनले राम्रो भूमिका निर्वाह गरेका छन् । दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका अर्का एसएसपी राजेन्द्रमान श्रेष्ठ पनि दुवै देशका सुरक्षाकर्मीबीच बलियो समन्वय रहेकाले भारतीय भूमिमा लुकेका कुख्यात अपराधीहरू पक्राउ परेको बताउँछन् ।

सुरक्षा बलको इच्छाशक्ति भएमा अत्याधुनिक प्रविधियुक्त वर्तमान विश्वमा कुनै कुख्यात अपराधी सधैं लुक्न सक्दैन । दुवै देशबीचको सुरक्षा निकायबीच राम्रो समन्वय भएकाले अहिले ग्याङस्टारहरूले दक्षिणपूर्व र मध्यपूर्व एशियाका शहरहरूलाई गन्तव्य बनाउन थालेका छन् । भारत र नेपालका चर्चित ग्याङस्टारहरू बैंकक, सिंगापुर, हङकङ, दुबई पुग्नुले त्यही देखाउँछ ।

निरुत्साहित पार्ने उपाय

एउटा ग्याङस्टारको मृत्युमा धेरै खुशी हुन्छन् भने आफन्त र नजिककाले मात्र आँसु झार्छन् । बहुमतको हाँसो र अल्पमतको आँसु देखिनु क्षणभरको लाभ वा हानि बाहेक केही होइन । यसले दिगो समाधान पनि दिंदैन । बाह्य कारणलाई नकार्न नसकिने भए पनि अपराध समाजभित्रबाटै जन्मन्छ । बाह्य र आन्तरिक पक्षबीचको सम्बन्ध अपराध जन्मिने तेस्रो कारण हो ।

ग्याङस्टारलाई मूठभेडका नाममा मार्दा पनि आपराधिक समूहको वृद्धि र प्रभाव विस्तार नघटेर बढ्नु चिन्ताको विषय हो । यसो हुनुमा अपराध व्यवस्थापनमा हामीले चालेका कदमहरूमै समस्याको थुप्रो हुनु कारण हुन सक्छ । अपराध नियन्त्रणका उपाय नअपनाइएका होइनन् तथा यीभन्दा अरू उपाय अपनाउन नसकिने पनि होइन । तर, त्यसका लागि इच्छाशक्ति र सशक्त कदमको आवश्यकता पर्छ ।

सही योजना तर्जुमा गर्न सधैं कठिन हुने गर्छ र योजना कार्यान्वयन गर्नु अझ कठिन । अपराध व्यवस्थापन गर्न पनि सबैभन्दा पहिला समाजमा अपराध जन्मने मुहानलाई थुन्न सक्नुपर्छ । अपराधी जन्मिएमा कसरी व्यवस्थापन गर्ने तथा कसरी सुधार गर्ने योजना बनाउनु अर्काे आवश्यकता हो । चरी र उनी जस्ता ग्याङस्टार समाजकै पात्र र प्रवृत्ति हुन् । त्यसैले एउटा चरी ढल्दैमा अरू चरी निरुत्साहित हुन्छन् भन्ने हुँदैन ।

त्यसका लागि समग्र समाजले ग्याङस्टार प्रवृत्तिलाई निरुत्साहित पार्ने आधार तयार गर्नुपर्छ । सत्ययुग सम्भव नहोला तर त्यस्तो समाजको परिकल्पना भने गर्नै पर्छ । अपराधको चुनौतीसँग जुध्ने दायित्व सुरक्षा निकायको मात्र नभएर सिंगो समाजको हो । त्यसैले, समाजलाई त्यसतर्फ प्रोत्साहित गर्न सशक्त योजना बनाएर लाग्नुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>