Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विषालु झारको त्रास - Himalkhabar.com

थप समाचारसोमबार, साउन २६, २०७१

विषालु झारको त्रास

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

पूर्व–पश्चिम राजमार्गको दाङमा पर्ने अमिलियाबाट तुलसीपुर जाने बाटोको दायाँ–बायाँको खाली जग्गा तीतेपाती जस्तो देखिने एक प्रकारको झारले ढाकिएको छ । जङ्गलछेउको चरन क्षेत्रबाट गहुँ, आलु, उखु, तोरी, मकै, मसुरो लगायत बालीमा छिरेको उक्त झारबारे अहिलेसम्म केही थाहा पाउन नसकेको किसान बताउँछन् ।

दाङको अमिलिया–तुलसीपुर खण्डमा फैलिएको पार्थेनियम झार । तस्वीरहरुः तुफान न्यौपाने

बर्दिया सदरमुकाम गुलरिया आसपासमा पनि त्यही झार देखिन्छ । बर्दियाको ५.२ वर्गकिलोमिटरमा फैलिएको कृष्णसार संरक्षण क्षेत्रको घाँसे मैदानको तीन वर्गकिलोमिटर यही झारले ढाकिएको छ । क्षेत्रका संरक्षण अधिकृत नारायण रूपाखेती उक्त झर फुल्नुअघि नै उखेल्न आफूसहित सबै कर्मचारी दैनिकजसो खटिएको बताउँछन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूका अनुसार यो झार अहिले देशैभरि फैलिइसकेको छ । घर–आँगनको वरिपरि, नहर र सडकको दायाँ–बायाँ, खेतबारीको खाली ठाउँ, बाँझो जमीन, बगैंचा, विमानस्थल, औद्योगिक क्षेत्र, आवास र पार्क क्षेत्र, शहरी क्षेत्रको बाँझो जमीन र गाईवस्तुको चरन क्षेत्रमा यो झार देखिन्छ ।

नार्क अन्तर्गतको जीन ब्याङ्क प्रमुख मदनराज भट्ट राजधानीको वागमती र विष्णुमती नदी किनारमा, सडक छेउछाउ र त्रिभुवन विश्वविद्यालय परिसरमा पनि यो झार फैलिएको बताउँछन् । यो झारले गौशाला र बल्खुदेखि सातदोबाटोसम्म सडकको छेउ पनि ढाकेको उनको भनाइ छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पर्साका वैज्ञानिक कैलाशप्रसाद भूडेरका अनुसार, वीरगञ्ज चिनी कारखानाको आसपास, वीरगञ्ज—पथलैया सडक किनारा र नारायणी सिंचाइको नहर छेउमा पनि यो झार फैलिएको छ ।

के हो यो

झट्ट हेर्दा तीतेपाती जस्तो देखिने यो झारका पात गाजरका जस्ता देखिन्छन् । त्यही भएर यसलाई गाजर झार भनिए पनि यसको वैज्ञानिक नाम ‘पार्थेनियम हेस्टेरोफोरस’ हो ।

वैज्ञानिकहरूका अनुसार कृषि बाली र मानव स्वास्थ्यलाई असर गर्ने संसारका १० झारमध्ये यो अग्रस्थानमा आउँछ । जीन ब्याङ्क प्रमुख भट्ट सन् १९५६ तिर भारतमा भोकमरि फैलेपछि तत्कालीन नेहरू सरकारले अमेरिकाबाट गहुँ आयात गर्दा यो भारत भित्रिएको र त्यहाँबाट नेपाल आएको बताउँछन् । कंग्रेस सरकारको बेला भित्रिएकोले भारतमा कंग्रेस झार भनिने यसले पाकिस्तान, मेक्सिको, अष्ट्रेलिया, बंगलादेश लगायत देशका किसानलाई पनि दुःख दिइरहेको छ ।

अष्ट्रेलियाले यो झार नियन्त्रण गर्न हरेक वर्ष १५ मिलियन अमेरिकी डलर खर्च गर्छ । भारतले यो झार नष्ट पार्न मेक्सिकोबाट कीरा नै किनेर ल्याएको छ । नेपालमा भने नियन्त्रणका कुनै कार्यक्रम छैनन् । मदनराज भट्ट, जीनब्याङ्क प्रमुख

मिचाहा प्रवृत्तिको यो झारले अन्य बिरुवा, घाँस र बालीलाई विस्थापित गरी जमीनमा फैलिन्छ । नेपालमा यो झर १५—२० वर्षअघि आएको अनुमान छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पर्साका वैज्ञानिक भूडेर पनि १५ वर्षदेखि यो झार देखेको बताउँछन् ।

हिउँदमा कम देखिने यो झर वर्षायाममा तीव्र गतिमा फैलिन्छ । एक वर्ष आयु भएको र फागुनमा उम्रिने यो झारले जेठमा बीउ झर्छ । उम्रने, हुर्कने, फुल्ने, बीउ बन्ने र बीउ फैलने एकै पटकमा हुने भएकाले यसको फैलावट तीव्र गतिमा हुन्छ । वैज्ञानिक भूडेर यो झारको एउटा बोटले ३० हजारदेखि एक लाखसम्म बीउ उत्पादन गर्ने बताउँछन् । एक वर्गमिटरमा यसका झन्डै २७०० बिरुवा उम्रन सक्छन् ।

यो झार नेपालको घना जङ्गलमा पस्न नसके पनि सामुदायिक वनका चरन क्षेत्रमा पुगिसकेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी बताउँछन् ।

असर धेरै

पार्थेनियमले बालीनाली र चौपायासँगै मानव स्वास्थ्यलाई पनि नराम्रो असर पार्छ । यो झार छुँदा छाला सम्बन्धी रोगहरू डरमेटाइटिस, एक्जिमा र एलर्जी, ज्वरो, दम, श्वासप्रश्वास सम्बन्धी समस्या देखिने भट्ट बताउँछन् । यो झार दुधालु गाईले खाँदा दूध गन्हाउने, गाईलाई छाला सम्बन्धी रोग तथा ‘बिटर मिल्ट डिजिज’ लाग्ने, खसी–बोकाले खाएमा यो झारमा भएको पार्थेनिन नामको विषले मासु खान अयोग्य बनाउने उनको भनाइ छ । उनका अनुसार, त्यस्तो मासु खाँदा मानिसलाई पनि मन्द विष लाग्छ ।

यसको फूलबाट निस्कने परागकणले गोलभेंडा, भान्टा, सिमी तथा अन्य तरकारी बालीमा फल तथा बीउ लाग्न दिंदैन भने यसले मान्छेलाई पनि एलर्जी हुन्छ । यो झारले कृषिजन्य बहुमूल्य प्रजाति विस्थापित गर्ने हुनाले वनस्पतिक जैविक विविधतालाई पनि क्षति पुर्‍याउँछ । यसले चौपायाको कलेजो, मिर्गाैला र पाचनप्रक्रियामा नकारात्मक असर पुर्‍याउँछ । यसबाट चौपाया मर्न सक्ने सेप्टेसिमिया रोग पनि लाग्छ ।

“यो झार यति विषालु र खतरनाक छ भन्ने धेरैलाई थाहा छैन” यसबारे अध्ययन गरेका क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पर्साका वैज्ञानिक भूडेर भन्छन्, “यसले बोटबिरुवा, पशुचौपाया र मानव स्वास्थ्यमा धेरै नराम्रो असर पारेको छ ।”

जीन ब्याङ्कका प्रमुख भट्टका अनुसार महाविषाक्त यो झारका कारण भारतमा मानिसको मृत्यु समेत भइसकेको छ । यो झरलाई नचिनेर सर्वसाधारणले तीतेपाती सम्झेर घर ल्याउने, पूजामा पात प्रयोग गर्ने, रस बनाएर घाउमा लगाउने तथा गाईबस्तुको घाँस र सोत्तरमा प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

नियन्त्रणका कार्यक्रम छैनन्

पार्थेनियम झार नष्ट गर्ने म्याक्सिकन बिटल ।

नार्क अन्तर्गतको जीन ब्याङ्क प्रमुख भट्टका अनुसार अष्ट्रेलियाले यो झर नियन्त्रणका लागि हरेक वर्ष १५ मिलियन अमेरिकी डलर खर्च गर्छ । भारतले यो झार नष्ट पार्न मेक्सिकोबाट कीरा किनेर ल्याएको छ । यसको नियन्त्रण गर्न भारतका मन्त्रालयहरूले संयुक्त कार्यक्रम नै चलाएका छन् । तर नेपालमा भने नियन्त्रणका कुनै कार्यक्रम नगरिएको उनी बताउँछन् ।

नार्कको खुमलटार कार्यालयका एक वैज्ञानिकले यो झारले पारेको असरबारे सरकार बेखबर रहेको बताए । वन क्षेत्रको जैविक विविधता, कृषि र मानव स्वास्थ्यलाई असर पार्ने यो झार नियन्त्रण गर्न वन, कृषि र स्वास्थ्य मन्त्रालयले संयुक्त अभियान चलाउनुपर्ने उनको धारणा छ । जीन ब्याङ्क प्रमुख भट्ट जनचेतना जगाएर आम मानिसलाई यो अभियानमा सहभागी गराउने बताउँछन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा, बाँकेका वैज्ञानिक रामबहादुर खड्का पनि यसले ल्याउने खतराबारे प्रचारप्रसार हुनुपर्ने बताउँछन् ।

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले जिल्लाका कार्यालय प्रमुखहरूको बैठक राखेर यसको नियन्त्रणका लागि स्थानीयस्तरमा पहल थालेको संरक्षण अधिकृत नारायण रूपाखेतीले बताए । जनचेतनामूलक कार्यक्रमका लागि पर्चा, पम्प्लेट, होर्डिङबोर्ड लगायतका सामग्री तयार पार्न संरक्षण क्षेत्र, जिल्ला कृषि विकास, पशु स्वास्थ्य र जनस्वास्थ्य कार्यालयबीच समन्वय गरिएको उनको भनाइ छ ।

यसरी हुन्छ नियन्त्रण

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका वैज्ञानिक खड्का फुल्नुअघि उखेलेर खाडलमा गाड्दा यो झार नियन्त्रण गर्न सकिने बताउँछन् । त्यसो गर्दा पन्जा र मास्क लगाउनुपर्ने उनको भनाइ छ । गाविस, नगरपालिका, जिविस तथा जिल्लास्थित विषयगत कार्यालयहरूले यो झार नष्ट गर्ने अभियान चलाउनुपर्ने उनी बताउँछन् ।

कृषि अनुसन्धान केन्द्र खजुराको ल्याबमा म्याक्सिकन बिटलले सुकाइदिएको पार्थेनियम झार ।

नार्क, पर्साका क्षेत्रीय निर्देशक कैलाशप्रसाद भूडेर ग्लाईफोसेट, टु—फोरडी जस्ता झारपात नाशक विषादी प्रयोग गरेर पनि यो झारलाई नष्ट गर्न सकिने बताउँछन् । फूल फुल्नुअघि एकलीटर पानीमा १५ ग्राम खाने नून मिलाएर स्प्रे गर्दा पनि यो झार नासिने उनको भनाइ छ । जीन ब्याङ्क प्रमुख भट्ट भने यो झारमा अन्यलाई मार्न सक्ने क्षमता हुने भएकाले सजिलै नियन्त्रण गर्न नसकिने बताउँछन् ।

भारतले यो झारलाई नियन्त्रण गर्न सन् १९८४ मा मेक्सिकोबाट ‘म्याक्सिकन बिटल’ नामक कीरा ल्याएर प्रयोग गरे पनि अझै नियन्त्रण भएको छैन । ‘बायो कन्ट्रोल’ भनिने त्यो प्रविधि नेपालका लागि भने उपयुक्त हुनसक्ने नार्कका वैज्ञानिकहरू बताउँछन् ।

खजुराका वैज्ञानिक खड्काले बर्दियाको गुलरियामा यो झार खाइरहेका १४ वटा कीरालाई ल्याबमा ल्याएर परीक्षण गरेका थिए । ल्याव परीक्षण, नार्कका केन्द्रीय कार्यालयका वैज्ञानिकसँग शेयरिङ र इन्टरनेट खोजी गरेपछि उक्त कीरा ‘म्याक्सिकन बिटल’ भएको उनले थाहा पाए । नार्क खजुराले ल्याबमा यो झारमा ‘म्याक्सिकन बिटल’ छाडेको छ, १४ वटाबाट एक हजार बनेका ती कीराले झार खाइरहेको उनी बताउँछन् ।

जीन ब्याङ्क प्रमुख भट्ट ती कीराको संख्या अरू बढाएर यो झारमा प्रयोग गर्नुपर्ने बताउँछन् । नार्कले यो कीरा संरक्षणका लागि रु.५० हजार छुट्याएको छ । वैज्ञानिक नाम ‘जाइगोग्रामा वाइ कोलोरेटा’ भएको उक्त कीराको लार्भाले पनि यो झारलाई चुसेर सुकाइदिने बताइन्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>