सम्पादकीयसोमबार, साउन २६, २०७१
सुनकोशीको फर्मान
१७ साउनको सखारै सिन्धुपाल्चोकको जुरेमा पहिरोबाट थुनिएको सुनकोशी नदी अहिले पनि पूरै खुलेको छैन । पहिरोले नदीमा बनाएको बाँध अझै उस्तै रहेकाले कहिले फुट्ला भन्ने चिन्ता पनि कायमै छ ।
पहिरोले जुरे र त्यस वरपरका तीन वटा वस्ती पूरै बगाउँदा त्यहाँ बस्नेहरूको ज्यान गयो । आफन्त गुमाएर बाँचेकाहरू अझै सम्हालिन सकिरहेका छैनन् । सरकारले अहिलेसम्म १५६ जनालाई मृत घोषित गरेको छ, जबकि ३३ वटा मात्र शव पाइएको छ । शव नभेटिएपछि आफन्तहरूले हिन्दू विधि अनुसार कुशको शव बनाएर मृत्युसंस्कार गरेका छन् ।
सिङ्गो मुलुकलाई हतप्रभ गराएको यो विपत् भोटेकोशी–सुनकोशीमा पहिलो पटक आएको होइन र समयमै सचेत नहुने हो भने न त यो अन्तिम नै हुनेछ । सन् १९८१ मा यही नदीमा ठूलो बाढी आउँदा धेरै जनधनको क्षति भएको थियो । तिब्बतमा हिमताल फुट्नु त्यतिबेला बाढी आउनुको कारण थियो । सन् १९३५ र १९६४ मा पनि हिमताल फुटेर यसमा विनाशकारी बाढी आएको देखिन्छ ।
सुनकोशी सप्तकोशीको आधार नदी हो भने पानी पनि यसले अरुण पछि सबैभन्दा बढी योगदान दिन्छ । त्यसैले, यसमा हुने तल–वितलले सिङ्गो सप्तकोशीको जलप्रवाह प्रभावित हुन्छ । अहिलेको चिन्ता पनि जुरेले भोगेको विनाशलीला त्यसभन्दा तलका बस्तीहरूले भोग्न नपरोस् भन्ने हो । पहिरोले नदीमा बनाएको करीब १०० मीटर लामो बाँध एकै पटक फुटेर जलसतह बढ्यो भने तल्लो क्षेत्रका बस्तीमा अकल्पनीय क्षति पुर्याउनेछ ।
पहिरो गएलगत्तै शुरू भएको सरकारी प्रयास अहिले पनि नदी खुलाउनमै बढी केन्द्रित देखिन्छ । तर, प्रगति अपेक्षा अनुसारको छैन । नदीको जलसतह बढेर बाँध माथिबाट बग्ने खतरा बढेपछि नेपाली सेनाले बम विस्फोट गराएर नदीलाई दुई वटा बाटोबाट निकास दिएको छ । तर, दुवै निकास साना भएकाले जम्मा भएको पानी पर्याप्त मात्रामा घटेको छैन । यस्तोमा नदीको शिरमा पानी पर्नासाथ पानीको सतह बढ्नेछ भने बाँध भरिने तथा फुट्ने खतरा पुनः बढ्नेछ ।
पहिरोले बनाएको झ्न्डै तीन किलोमीटर लामो यो तालमा अहिले करीब एक करोड घनमीटर पानी छ । जसको दबाब बाँधमा निरन्तर परिरहेको छ । त्यही दबाबले वा त्यसमा दबाब थपिनासाथ बाँध फुट्न सक्छ । त्यसो भएमा तलका बस्ती ठूलो संकटमा पर्नेछन् ।
यो पहिरो एक्कासी आएको पनि हैन, सन् २०११ देखि नै यहाँ पहिरो खस्ने संभावना देखिएको थियो । तर सरकारी निकायले ध्यान दिएन । पहिरोबाट बस्ती हटाएको भए वा पहिरो नियन्त्रण गर्ने उपाय अपनाएको भए अहिले दुर्घटना नहुन सक्थ्यो, दुर्घटना हुँदा पनि यो रूपमा जनधनको क्षति हुँदैनथ्यो ।
यो भन्दा मनन् गर्नुपर्ने कुरा, सुनकोशी र यो जस्ता नदी तथा संसारकै कान्छा भनिने यी पहाडका चरित्र चिनेर हाम्रो क्रियाकलाप गर्नुपर्ने आवश्यक भइसकेको छ । बाटो बनाउँदा, बस्ती बसाल्दा वा अरू विकास निर्माणका काम अघि बढाउँदा पनि हामीले यो वास्तविकता बिर्सन हुँदैन । किनभने, हाम्रा त्यस्ता क्रियाकलापले नदी किनारा र पहाडलाई कमजोर पार्नेछ तथा यस्ता विपत्तिहरू निम्त्याउनेछ ।
नदी किनारामा पानी, मलिलो फाँट र बाटो पनि हुने भएकाले ती ठाउँमा बस्ती बसाउनु हाम्रो बाध्यता पनि होला । तर, त्यसो गर्दा पनि आउनसक्ने प्राकृतिक विपत्तिबाट बँच्ने संयन्त्रहरू भने निर्माण गर्नै पर्छ । अकस्मात् बाढी र पहिरो आएमा तत्काल उद्धार गर्ने, त्यसले क्षति पुर्याउन सक्ने ठाउँमा तत्काल खबर गर्ने र त्यस्तो खबर पाएपछि सुरक्षित हुनसक्ने संयन्त्र र ठाउँ निर्माण गर्न ध्यान दिनै पर्छ । वर्षामा अत्यधिक पानी पर्दा, नदीको शिरमा रहेका हिमताल फुट्दा र पहिरोेले नदी थुनिएर खोलिंदा बाढी आउने हुँदा हामीकहाँ जुनसुकै बेला बाढीले कहर ल्याउन सक्छ । त्यस्ता कहरबाट बँच्ने उपाय खोज्न हामीलाई अहिले जुरेको पहिरोले मौका दिएको छ । अहिलेको अवस्थामा हामीले यो घटनालाई सुनकोशीको फर्मान भनेर बुझनु उपयुक्त हुनेछ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
