ब्लगमंगलबार, साउन २७, २०७१

चौंरी चुस्ने याम

मिलन बगाले

मानो खाएर मुरी उब्जाउने बर्खायाममा किसानको चटारो जारी छ। कुलो लाग्ने खेतका गह्रा रहर लाग्दा र वर्षात्को कमीले बाझो हुनपुगेका खेतहरू उराठ लाग्दा देखिएका छन्। बर्खाले विपत्ति पनि लिएर आउँछ। कतै खोलाले खेत खाएको छ भने कतै पहिरो खसेको छ। १७ साउनमा सिन्धुपाल्चोकको इटिनीमा गएको पहिरोले एकै निमेषमा १५६ जनालाई पुर्‍यो।

संखुवासभाको स्याबुनमा गएको पहिरोले पनि १० जनाको ज्यान लियो। यसरी बिगार र पीडा लिएर आए पनि बर्खायामले अनिकाललाई जित्छ र मानव समाज पीडाहरू सहँदै अगाडि बढ्छ।

बर्खायाममा सर्पदंशको घटना पनि निकै बढ्छ। हरेक वर्षायाममा नेपालमा एन्टी स्नेक भेनमको अभाव दोहोरिन्छ। लामखुट्टेले टोकेर डेंगेका बिरामी पनि बढ्छन्। चुसाहा जुका सल्बलाउने याम पनि बर्खा नै हो।

बर्खा मान्छेले चौंरीको रगत चुस्ने याम पनि रहेछ। म्याग्दीको शिख गाविस–६ को खोप्रालेकमा साउन दोस्रो साता चौंरी गाईको आलो रगत चुस्ने पाँचदिने मेला चल्यो। नांगी―पाउद्धार संयुक्त चौंरीपालन समितिले आयोजना गरेको मेलामा स्वस्थ–दुरुस्त हुन चाहनेहरूको भीड लागेको समाचारमा पढ्न पाइयो।

चौंरीको आलो रगत खाँदा ग्याष्ट्रिक, बाथ, हाडजोर्नीको बेथा आदि शमन हुने विश्वासमा पोखरादेखि काठमाडौंसम्मका मानिस खोप्रालेक पुगेको खबरमा उल्लेख छ। मानिसहरू यार्सागुम्बा, जटामसी, नीरमसी, पाँचऔंले लगायतका लेकाली जडीबुटी चर्ने चौंरीगाईको ताजा रगत ओखती हुनेमा सजिलै विश्वास गर्छन्।

मेला आयोजक समितिका सचिव भीम पुनले राससलाई बताए अनुसार, यस पटक चौंरीको रगत प्रति गिलास रु.८० का दरले किनबेच भएको थियो। त्यसरी उठेको रकम नांगीको हिमाञ्चल उमावि र शिखको पाउद्धार मावि सञ्चालनमा खर्च गरिंदै आएको पुनले बताएका छन्।

चौंरीको गर्धनमा छुरी रोपेर रगत झिकिंदै गरेको र आलो रगत मान्छेले तन्तनी पिइरहेको दृश्यहरू टेलिभिजन च्यानलले पनि देखाएका थिए। एउटा चौंरीबाट २५ गिलाससम्म रगत झिक्ने गरिएको पनि थाहा भयो।

त्यो दृश्य देखेपछि मलाई कमल दीक्षितले २०१८ सालमा स्रष्टा र साहित्य का लागि उत्तम कुँवरलाई दिएको अन्तर्वार्ताको याद आयो। त्यसमा दीक्षितले अरूलाई डसेर आफू बाँच्ने हिंस्रक प्रवृत्तिप्रति इंङ्गित गर्दै “हामीमध्ये धेरैजसो तक्षक नागका सन्तान हौं” भनेका छन्।

आफ्नो स्वास्थ्य राम्रो पार्न छुरी धसेर ज्यूँदो चौंरीको रगत निकाल्नु र संस्कृतिको नाममा यस्तो डरलाग्दो प्रचलनको संरक्षण गर्नु कति उचित हो, म्याग्दीका अगुवाहरूले सोचून्। राज्यले विद्यालयको खर्च धान्न पुग्ने खर्च दिए यो चलन हाम्रो शिक्षासँग जोडिने थिएन होला।

सबैखाले हिंसाको विरोध गर्ने बौद्ध धर्मावलम्बीहरूले जिउँदो गाईको शरीरबाट रगत झिक्नु पनि हिंसा नै हो भन्ने बुझिदिए पनि यो चलन हट्थ्यो होला!

चौंरीको आलो रगत खाँदा मान्छे स्वस्थ र बलियो बन्छ त? यो जिज्ञासामा डा. सरोज धिताल भन्छन्, “हिमाली जडीबुटी खाएको चौंरीको दूध र दूधबाट बनेका परिकारहरूले मानिसलाई अवश्यै हृष्टपुष्ट बनाउँछ, रगतले होइन।”

चौंरीको दूध, दही, घ्यू, चिज र अरू परिकार मात्र खाइदिए न चौंरीलाई पीडा हुन्थ्यो, न रगत निकालिएको बीभत्स दृश्य हेर्दा आँखा पोल्थ्यो। आफू स्वस्थ हुने अन्धविश्वासमा कहिलेसम्म जिउँदो प्राणीलाई पीडा दिइराख्ने?

हिमाली भेगका जनताको सुखदुःखको साथी हो चौंरी। यो सुधो प्राणीले दूधबाट प्रशस्त पोषण त दिएको छ नै, पिठ्यूँभरि भारी बोकेर घरघरै रासन समेत पुर्‍याइरहेको छ।

यस्तो जाती प्राणीको गर्धनमा छुरा रोपेर थप पीडा किन दिने? लिनुको पनि एउटा हद हुन्छ नि! प्राणी मात्रको भलो चिताउनेहरूको जय होस्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...