अर्थ/बजारमंगलबार, साउन २७, २०७१
ब्यापारघाटा कम गर्न चीनले सहयोग गर्नेः अर्थमन्त्री महत
एकसाता लामो चीन भ्रमण सकी स्वदेश फर्केका अर्थमन्त्री रामशरण महतले दुई देशबीचको व्यापारमा सन्तुलन कायम गर्न नेपालका लागि चिनियाँ बजार खुकुलो गर्न गरिएको आग्रहलाई चिनियाँ वाणिज्य मन्त्री हुचेङले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।
नेपालको चीनतर्फको निर्यात रु दुई अर्ब ५३ करोड र आयात रु ६८ अर्ब ४५ करोड रहेको छ भने व्यापार घाटा रु ६५ अर्ब छ ।
भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीसँग भएको भेटमा दुईपक्षीय हित र आर्थिक सहयोगका विषयमा कुराकानी भएको महतले जानकारी दिए ।
चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा २१ साउनमा बेइजिङ गएका अर्थमन्त्री महतले त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गरेका थिए ।
वाणिज्य मन्त्री हुचेङसँग नेपालका कतिपय थाँती रहेका विषयलाई टुङ्ग्याउन द्विपक्षीय सचिवस्तरीय संयन्त्र क्रियाशील बनाउन दुवै पक्ष सहमत भएको उनले बताए ।
“उक्त संयन्त्र क्रियाशील नहुँदा कतिपय समस्या अल्झिएर बसेका थिए, त्यसलाई समाधान गर्न हामीले आग्रह गर्यौँ,” उनले भने, “चिनियाँ पक्षले त्यसलाई स्वीकार गरेको छ ।”
चिनियाँ ठेकेदारको समग्र कार्यदक्षता कतिपय स्थानमा सन्तोषजनक नभएको विषयमा अर्थमन्त्री महतले चिनियाँ पक्षको ध्यानाकर्षण गराएको र चिनियाँ पक्षले चीनका धेरै ठेकेदारमध्येबाट छनोट गरेर गुणस्तरीय सेवा दिने कम्पनीलाई मात्र बिडिङ (ठेक्का) प्रक्रियामा सहभागी गराउन नेपाललाई आग्रह गरेको पनि महताले बताए ।
त्यसैगरी, सुनकोसीको पहिरोले ठूलो मानवीय क्षति भएकामा चिनियाँ पक्षले सहानुभूति जनाएको र त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
अर्थमन्त्री महतले ल्हासामा त्यहाँको संसद्का अध्यक्ष बाइमा सिलिनसँग भेटवार्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
