अन्तर्वार्ता/विचारमंगलबार, साउन २७, २०७१
‘ध्वंसकालीन विचार र नेतृत्व सान्दर्भिक छैन’
१९ साउनमा बसेको एमाओवादी स्थायी समिति बैठकबाट कारबाहीमा परेका पोलिटब्यूरो सदस्य गंगानारायण श्रेष्ठसँग गरिएको कुराकानीः
एमाओवादीले कारबाही गरेपछि तपाईंसहित बाबुराम भट्टराई पक्षीय नेताहरु के गरिरहनुभएको छ?
पार्टीले भन्दा पनि संस्थापन गुटले कारबाही गरेको हो। एउटा गुटले कारबाही गर्दैमा केही फरक पर्दैन। त्यसैले कारबाहीलाई महत्व दिएका छैनौं।
कारबाही फिर्ता लिन पार्टीलाई अनुरोध गर्नुभएको छ?
जुन निकायले हामीलाई कारबाही गरेको भनिएको छ, त्यो नै वैधानिक छैन। अवैधानिक निकायमा कारबाही फिर्ता लिनुपर्यो भनेर निवेदन लिएर जाने कुरै भएन।
तपाईंले अवैधानिक भन्नुभएको स्थायी समितिकै निर्णय मानेर बाबुराम भट्टराई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बन्न जानुभयो नि?
एउटा पक्षले मात्र निर्णय गरेकाले नमानेका हौं। सभापति बनाउने निर्णय केन्द्रीय समितिको हो।
कारबाही फिर्ता लिइएन र तपाईं पक्षीय अरुलाई पनि कारबाही हुँदै गएमा के गर्नुहुन्छ?
पार्टीका दुई महत्वपूर्ण कार्यभार छन्। पहिलो पार्टीको रुपान्तरण र पुनर्गठन गर्ने र दोस्रो संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान बनाउने। यी कार्यभारका लागि जस्तोसुकै कारबाही भोग्न पनि तयार छौं। तर फरक मत राख्ने, आलोचना गर्नेमाथि डण्डा चलाएर पार्टी रुपान्तरण हुँदैन।
पार्टी निर्देशनको निरन्तर उल्लंघन गर्नु नयाँ पार्टी बनाउने योजना अन्तर्गत त हैन?
हामीले पार्टी फुटाउन लागेका होइनौं। तर पार्टी पुनर्गठन र रुपान्तरण हुनै पर्दछ। किनभने मुलुक ध्वंसको चरणबाट निर्माणको चरणमा पुगेको छ। ध्वंसको चरणमा बनेको पार्टी, संगठन र विचारले नवनेपाल निर्माण हुन सक्दैन। नयाँ नेपाल बनाउन नयाँ सोच, नयाँ नेतृत्व, नयाँ विचार, नयाँ पार्टी बनाउनुपर्दछ र यसमा समाहित हुन नसक्ने नेतृत्व वा पार्टीलाई समयले पर्खेर बस्दैन।
साप्ताहिक खबरपत्रिका हिमालबाट