टिप्पणीमंगलबार, साउन २७, २०७१

मोदीको भनाइ व्यवहारमा हेर्न बाँकी

रघु पन्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भारतको नयाँ सत्तारुढ दल र सरकारले नेपालसँगको सम्बन्धलाई महत्व दिएको देखायो। त्यसैले, नेपाललाई भारतले महत्व नदिएको अनुभूति गरिरहेको नेपाली राजनीतिक नेतृत्वले पनि यो भ्रमणबाट अलिकति मिठासको अनुभूति गर्‍यो। अनुभव र अनुभूतिको तहमा रहेको यो मिठास केही समयपछि हराउँछ वा व्यवहारमा देखिन्छ भन्ने चाहिं हेर्न बाँकी नै छ।

नेपालका राजनीतिक दलहरूको सम्बन्ध २००७ देखि नै मूलतः भारतीय कंग्रेस, समाजवादी नेता र कम्युनिष्ट पार्टीसँग रह्यो। नेपाली कांग्रेसले जवाहरलाल नेहरू, जयप्रकाशनारायण र चन्द्रशेखर लगायत कंग्रेस र समाजवादी नेताहरूसँगको सम्बन्ध राख्यो भने कम्युनिष्टहरूले भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) र भाकपा (माले) सँग सम्बन्ध राखे।

भारतमा कंग्रेसको सरकार बनाउन कम्युनिष्टहरूले समर्थन गरे भने नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि भारतका वामपन्थी, समाजवादी र कंग्रेसले सहयोग गरे। राजतन्त्रविरुद्धको लोकतान्त्रिक आन्दोलनमा भने अहिलेको सत्तारुढ भाजपाले पनि एक हदसम्म समर्थन जनाएको थियो, राजतन्त्र र हिन्दूराष्ट्रप्रति उसको सहानुभूति भए पनि।

अहिले भाजपा प्रमुख राजनीतिक शक्ति बनेको र बहुमतको सरकार समेत बनाएकाले नेपालका राजनीतिक दलहरूले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर ऊसँग राजनीतिक सम्बन्ध बनाउन ढिलो गर्नुहुँदैन। ८० प्रतिशत हिन्दू र प्रख्यात मठ–मन्दिर रहेको कारणले भाजपाले नेपालप्रति बढी सद्भाव राख्छ भने त्यो सद्भावलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न सरकार र राजनीतिक दल पछिपर्नु हुँदैन।

धार्मिक पर्यटन

क्रिश्चियनहरू भ्याटिकन सिटी र मुस्लिमहरू हज गर्न लाखौं लाख खर्च गरी मक्का–मदिना जान्छन्। नेपालले पनि पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनी, स्वयम्भू र बौद्ध देखाएर धार्मिक पर्यटन विस्तार गर्न खोज्नु अन्यथा हुँदैन। चीन, जापान, थाइल्याण्ड, कोरिया, श्रीलंकाबाट पनि हामीले बुद्ध जन्मस्थल लुम्बिनी ल्याउनुपर्छ। पशुपतिनाथमा गेरुबस्त्र लगाएर मोदीले पूजाअर्चना गर्दा के प्रभाव पर्छ भनेर मोदीले नै चिन्ता गर्लान्। आखिर, त्यही दृष्टिकोण देखाएर मोदी र भाजपाले बहुमत पाएकै हुन्। भारतमा हिन्दू जनसंख्या बहुमत रहेको पनि हामीलाई थाहै छ।

मोदीले पशुपतिनाथमा पूजा गरेको र संसदमा लुम्बिनी र जनकपुरबारे चर्चा गरेकाले यी धार्मिक स्थलहरूबारे भारतीय जनमानसमा उत्सुकता बढेको छ। केही भारतीय टेलिभिजन च्यानलहरूले मोदीको भाषण र पशुपतिनाथ भ्रमणलाई पटक पटक देखाएका थिए। यसले पशुपतिको विज्ञापन भएको छ। यो अवसरलाई हामीले प्रयोग गर्नुपर्छ।

नेपाली पर्यटन उद्योगको एउटा मुख्य सम्भावना धार्मिक पर्यटनमै छ। धार्मिक पर्यटनको सबैभन्दा ठूलो र नजिकको स्रोत भारत नै हो। त्यसैले अब, स्तरीय र खर्च गर्न सक्ने भारतीयहरूलाई धार्मिक पर्यटनमा ल्याउने रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ।

अनिर्णित अजेन्डा

नेपाल–भारत सम्बन्धलाई अघि बढाउन निर्णायक भूमिका खेल्ने प्रमुख कार्यसूची यसपालि पनि अनिर्णित नै रह्यो। भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) हुन सकेन भने ऊर्जा विकास सम्झौता (पीडीए) पनि हुन सकेन। दुईपक्षीय व्यापार, पारवहन, नेपालले भोग्नु परिरहेको व्यापार घाटा, डुबान समस्या लगायत नेपालसँग सम्बन्धित र नेपालको चासो रहेका प्रमुख सबै विषयमा ठोस र मूर्त सहमति भएन। भारतले पठाएको विद्युत् व्यापार सम्झौतामा नेपालले संशोधन पठाएपछि त्यसलाई अघि बढाउन भारत उत्साहित देखिएन। ऊर्जा विकास सम्झाैता पनि अघि बढ्न सकेन।

भारतीय प्रधानमन्त्रीको भ्रमणको समयमा कुन कुन विषय कसरी अघि सार्ने भन्नेमा पनि नेपाल सरकारको तयारी अपुरो देखियो। प्रधानमन्त्री कार्यालयदेखि परराष्ट्र, ऊर्जा, सिंचाइ र अन्य सम्बन्धित मन्त्रालयहरूले कार्यसूचीमा राम्रो तयारी गरेको देखिएन। विद्युत् व्यापार सम्झौता (पीटीए) लाई ऊर्जा मन्त्रालयले विना तयारी महीनौंसम्म थन्क्याएर राख्यो र विवादास्पद ढंगले अघि बढाउन खोज्यो। ऊर्जामन्त्रीले जिम्मेवारी र विषयको संवेदनशीलतालाई बुझेको देखिएन।

मोदी भ्रमणको अन्त्यमा जारी गरिएको ३५ बुँदे संयुक्त पे्रस वक्तव्यमा केही कुराहरू सकारात्मक भए पनि धेरै विषयमा अमूर्त शब्दावलीहरू प्रयोग भएका छन्। भारतसँगका हाम्रा धेरै सहमति र सम्झौता अहिलेसम्म उधारो आश्वासन मात्रै बनेका छन्। आफूले लिनुपर्ने लिइहाल्ने र नेपाललाई दिनुपर्ने अनेक बहानामा आलटाल गर्दै पन्छाउने भारतीय प्रवृत्तिमा परिवर्तन आउँदा मात्र मोदी भ्रमणको सार्थकता सावित हुनेछ।

नेपाली जनतामा रहेको भारतप्रतिको नकारात्मक चिन्तन भारतको व्यवहारले नै जन्माएको हो। त्यो चिन्तनमा मोदी भ्रमणले केही सकारात्मक परिवर्तन ल्याउन खोजे पनि मोदीका अभिव्यक्तिहरू कार्यान्वयन भएनन् भने यो देखिने छैन। त्यसैले नेपाल–भारत सम्बन्ध सकारात्मक परिवर्तन ल्याउन मोदीले नै भूमिका खेल्नुपर्ने देखिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>