अन्तर्वार्ता/विचारबिहीबार, आश्विन ११, २०६९
विना अपराध कारागारमा रहेका नानीहरूलाई सम्झेर भोट गर्नुहोला
४८ छोराछोरीकी ‘पुष्पा मामु’ अर्थात् पुष्पा बस्नेत २८ वर्षी अविवाहित युवती हुन् । प्रारम्भिक बाल विकास केन्द्र नामक संस्था खोलेर पुष्पाले ४४ जना बालबालिकालाई आफ्नै प्रत्यक्ष रेखदेख र चार जनालाई डे केयरमा राखेर हुर्काइरहेकी छन् । विभिन्न कारागारमा थुनामा रहेका बाबु-आमाका छोराछोरीलाई अभिभावकत्व दिइरहेकी उनी अमेरिकाको प्रतिष्ठित टेलिभिजन समाचार संस्था सिएनएनले आउने डिसेम्बरमा प्रदान गर्ने ‘सिएनएन हिरो-२०१२’ को टप टेनमा पर्न सफल भएकी छन् ।
सिएनएन हिरोको टप टेनमा परेको कसरी थाहा पाउनुभयो ?
४ असोज साँझ टेलिभिजन हेरिरहेकी थिएँ । सिएनएनले मलगायत १० जनाको नाम घोषणा गर्यो । पछि टप टेनमा परेको पत्र पनि पाएँ ।
तपाईंलाई यो पुरस्कारले के महत्व राख्छ ?
मेरो लागि भन्दा पनि विना अपराध बाबुआमासँग कारागारमा थुनिएका छोराछोरीको भविष्यका लागि यो पुरस्कारको महत्व छ । पुरस्कारबापत पाइने एक लाख अमेरिकी डलर ठूलो कुरा हो ।
टप टेनबाट पनि उत्कृष्ट हुनुभयो भने के गर्नुहुन्छ ?
मकहाँ भएका भन्दा धेरै छोराछोरी अहिले पनि विभिन्न कारागारमा छन् । तिनलाई राम्रो वातावरणमा हुर्काउन सकिएन भने भोलि उनीहरूलाई मात्रै होइन, समाजलाई समेत नराम्रो असर पर्न सक्छ । अहिलेसम्म जिम्मा लिएर अलपत्र पार्ने हो भने किन लिनु भनेर घाँटी हेरेर हाड निलेकी छु । पुरस्कार जितें भने कारागारबाट थप छोराछोरीको अभिभावकत्व लिनेछु ।
सिएनएन हिरो बन्ने संभावना कत्तिको देख्नुहुन्छ ?
म बाहेक अरू नौ जना पनि प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरू सबै आ-आफ्नो क्षेत्रका प्रभावशाली व्यक्तित्वहरू हुनुहुन्छ । तर, तपाईंहरूले भोट दिनुभयो भने मैले जित्न नसक्ने भन्ने छैन । मलाई भन्दा पनि आफ्नो कुनै गल्ती नभई कारागारमा कैदी सरह बसेका छोराछोरीलाई सम्झेर भोट हाल्नुहोला । एउटा इमेलबाट दिनमा १० पटक भोट गर्न सकिन्छ । अहिलेसम्म रेस्पोन्स राम्रै छ । एक जनाले मैले एकै दिनमा ४०० भोट गरें, मलाई जित्ने कोही छ भनेर फेसबुकमा लेख्नुभएको थियो ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
कलेजबाट सुन्धारा कारागार भिजिटमा जाँदा त्यहाँ अभिभावकसँगै बालबालिका बसेको देखेर २०-२१ वर्षको उमेरमा मैले यस्तो काम गर्ने निर्णय गरेकी हुँ । कलेज जीवन नसकिंदै चार छोराछोरीको जिम्मेवारी लिएकी थिएँ ।
यो काममा कस्ता-कस्ता समस्या सामना गरिरहनुभएको छ ?
छोराछोरी हुर्काउन कसैलाई पनि सजिलो हुँदैन । उनीहरूलाई राम्रो वातावरणमा शिक्षादीक्षा दिने बाहेक केही कुरा सोचेकी छैन । आर्थिक समस्याहरू पनि निकै थिए तर अहिले व्यवस्थापन गरिरहेकी छु । धेरैले सहयोग गरिरहनुभएको छ । उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरेर उनीहरूलाई सकेसम्म राम्रो गर्ने प्रयासमा छु ।
तपाईंसँग हुर्किरहेका नानीहरूबारे केही भनिदिनुस् न !
साढे दुई वर्षेदेखि १७ वर्षका छोराछोरी छन् । उनीहरूलाई वास्तविकता लुकाइएको छैन । सबैका आ-आफ्नै ड्युटी छन् । समूहमा एकदम मिलेर बस्छन् । सबैलाई एउटै बोर्डिङमा हालेकी छु । संस्थाको बच्चा भनेर कसैले नहेपोस् भनेर बोर्डिङमा डिस्काउन्ट पनि मागेका छैनौं ।
भविष्यका योजना के छन् ?
देशभरि कारागारमा रहेका सबै छोराछोरीलाई राम्रो वातावरणमा हुर्काउनु नै मेरो मुख्य लक्ष्य हो । अहिले आर्थिक कारणले सबैलाई ल्याउन सकेकी छैन । एउटा आफ्नै आवास गृह बनाउन सके भोलि पुष्पा बस्नेतको अनुपस्थितिमा पनि यो संस्थाले निरन्तरता पाउँथ्यो कि जस्तो लागेको छ ।
हिमालखबर डटकममार्फत केही भन्न चाहनुहुन्छ ?
नेपालको प्रतिनिधित्व गरेर टप टेनमा परेकी छु । यो सारा नेपालीले गर्व गर्ने कुरा हो । तर टपटेनमा पर्नु मात्रै ठूलो कुरा होइन । तपाईंहरूको एक भोटले नेपाली चेली सिएनएन हिरो बन्न सक्छे । अहिले आर्थिक सहयोग भन्दा पनि भोट महत्वपूर्ण छ ।
पुष्पालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
