रिपोर्टबुधबार, साउन २८, २०७१

सुनकोशीको सन्देश

हिमालखबर

– सन्त गाहा मगर

१७ साउन बिहान साढे दुईदेखि तीन बजेको बीचमा काठमाडौं, लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रमा आठ वटा भू–कम्पन (सियस्मिक वेभ) रेकर्ड भयो। त्यसमध्ये दुई वटा भू–कम्पन सामान्य खालका थिए।

बाँकी ६ वटा मध्ये पनि २:३६ मा मापन भएको भू–कम्पन सबभन्दा लामो दुई मिनेटको भएको केन्द्रका प्रमुख वरिष्ठ भूगर्भविद् डा. सुधीर रजौरे बताउँछन्। त्यो त्यही समय थियो, जतिबेला काठमाडौंभन्दा ८१ किलोमीटर उत्तरपूर्व सिन्धुपाल्चोकको माङ्खा र राम्चे गाविसमा विपत्तिको पहाड खसेको थियो।

माङ्खा गाविसको जुरेमा गएको त्यो पहिरोले बिहानीपखको निन्द्रामा रहेका १५६ जनालाई त ब्यूँझ्न दिएन–दिएन, सुनकोशी नदीको वहाव थुनेर तल्लो तटीय क्षेत्रमा हजारौंलाई जोखिममा पारेको छ। गृह मन्त्रालयका अनुसार पहिरोले जुरेका ११५ घर, एउटा माध्यमिक विद्यालय र ९ वटा गाडी पुरेको छ।

यसैगरी, एउटा सिमेन्ट कारखाना र दुई वटा विद्युत् गृहलाई क्षतिग्रस्त बनाएको छ। जुरेका ५० घर उच्च जोखिममा छन् भने ४७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो खसेर ४५ मीटर अग्लो बाँध बन्दा अरू धेरै घर डुवानमा परेका छन्।

पहिरोको कारण

क्षतिको विवरणले नै देखाउँछ, यो साधारण पहिरो थिएन। विज्ञहरूले यसलाई चट्टानी पहिरो (रक फेलर) भनेका छन्। त्रिभुवन विश्वविद्यालय, भूगर्भ विभागका सह–प्राध्यापक डा. रञ्जनकुमार दाहाल यो पहिरोमा माटोसँगै चट्टान पनि बगेको बताउँछन्।

त्यही ठाउँमा ६ दशकअघि यस्तै ठूलो र तीन र दुई वर्षअघि पनि स–साना पहिरो गएका थिए (हे. तस्वीर)। गत वर्ष सावधानी अपनाइएको भए अहिले यत्रो विपत्ति नहुने विज्ञहरू बताउँछन्।

“एक वर्षअघि नै रोकथाम गर्न सकिन्थ्यो”, नाम उल्लेख गर्न नचाहने त्रिविका एक प्राध्यापक भन्छन्, “पहाड बाँध्न नसके पनि बस्ती सार्न सकिन्थ्यो।”

त्यस क्षेत्रमा २०२५ मा काठमाडौं–कोदारी जोड्ने अरनिको राजमार्ग बनाउँदा पहिलो पटक डोजर चलेको थियो। त्यसयता डोजर प्रयोग टुटेको छैन। डोजरले उत्पन्न गर्ने कम्पनले पहिरोलाई निम्तोको काम पनि गर्ने भूगर्भविज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार, सुनकोशी पूरै थुनिने गरी पहिरो आउनुको एउटा कारण डोजर हो। सुनकोशीको किनारमा रहेकाहरू हिमतालको पनि जोखिममा छन्।

त्रिभुवन विश्वविद्यालय, भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनालले गरेको अध्ययन अनुसार लुमुचिमी (भोटेकोशी) ताल फुट्यो भने १६ हजार ३१३ जना प्रत्यक्ष प्रभावित हुने देखिन्छ।

खनालको अध्ययनले अन्य हिमतालहरू इम्जा (दूधकोशी) बाट ७ हजार ७६२, च्छो–रोल्पा (तामाकोशी) बाट ५ हजार १८३ र थुलगी (मर्स्याङ्दी) बाट ३ हजार ८०८ जना प्रभावित हुने देखिएको छ।

भूगर्भविज्ञहरूका अनुसार, नेपालको पहाड संसारकै कान्छो भएकाले पहिरोको संभावना त्यसै पनि बढी छ। नेपाल सहित दक्षिण एशियाका पहाडहरू ५० लाख वर्षका मात्रै हुन्।

सह–प्राध्यापक दाहाल अहिले पहिरो गएको क्षेत्र दुईदेखि चार हजार वर्षअघि भीषण भुईंचालो गएपछि बनेको बताउँछन्। यस्तो क्षेत्र खेतीका लागि उपयुक्त मानिए पनि बस्तीका लागि भने सुरक्षित मानिदैन। गेग्य्रान र बलौटे माटोले बनेका यस्ता पहाडहरूलाई सानो पानीले पनि बगाउन थाल्छ।

जुरेमा पहिरो खस्नुअघि एक सातासम्म त्यस क्षेत्रमा दैनिक ०.४ देखि ७०.४ मिलिमीटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागको बाह्रविसे स्टेसनको झरी मापनले देखाउँछ ।

‘पोखरी र पहिरो’ पुस्तकका लेखक तथा जलाधारविद् मधुकर उपाध्या पहिरोमा पानीले ‘टि्रगर’ को काम गरेको हुनसक्ने भए पनि त्यही नै प्रमुख कारण नभएको बताउँछन्। उपाध्या कम्पन, जमीनको ढल्काइ, वजन लगायतका भौगोलिक अवस्थाको विस्तृत अध्ययनका साथै जोखिम न्यूनीकरणका उपाय अपनाइहाल्नुपर्ने देख्छन्।

जुरेमा पहिरो खस्नुभन्दा दुई घन्टा पहिला १२:२८ मा पाकिस्तानको संजवाल, पन्जाबमा आएको ४.१ रिख्टर स्केलको भूकम्पलाई पनि बिर्सन नमिल्ने एक थरी भूगोलविद्हरूको तर्क छ।

तालको जोखिम
जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अनुसार पहिरोले थुनेको तालमा एघार घन्टाभित्र एक करोड घनमीटर पानी जम्मा भइसकेको थियो। यो भनेको दैनिक ३० करोड लीटर पानीको लागि छट्पटाइरहेका काठमाडौंवासीलाई एक महीनाभन्दा बढी छेलोखेलो हुने पानी हो।

ताल फुटेर त्यही पानी फुत्किंदा तल्लो तटीय क्षेत्रमा आउने विनाश भने निकै डरलाग्दो हुनेछ। सरकारले तालभन्दा तल नदीको २०० मीटर दायाँबायाँको भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेेको छ– त्यसको कुनै वैज्ञानिक आधार नभए पनि। पहिरो थुप्रिएर बनेको बाँधमा नेपाली सेनाले १७ साउन दिउँसो डेढ बजे विस्फोट गरेर पानीको निकास बढाएको थियो। २३ साउनमा मात्रै सेनाले नौ पटक विस्फोट गराएको थियो।

पहिरोको बाँधमा पानी भरिएर १८ घर डुबेका छन्। सेनाको उद्धार टोलीका अनुसार २३ साउनदेखि तालमा पस्ने र निस्कने पानीको दर प्रतिसेकेन्ड क्रमशः २१५ घनमीटर र २२७ घनमीटर छ।

तालमा थपिने र घट्ने पानीको अन्तर खासै ठूलो नहुँदा तल्लो भागका बासिन्दा ढुक्क हुनसक्ने अवस्था छैन। जलस्रोतविद् अजय दीक्षित बाँधको अवस्था बुझन आफूलाई भारतको बिहारबाट दैनिक फोन आइरहेको बताउँछन्।

जल उत्पन्न प्रकोप नियन्त्रण विभागका वरिष्ठ भूगर्भविद् श्रीकमलप्रसाद द्विवेदी तालमा जम्मा भएको एक करोड घनमीटर पानीलाई सहजै बगाउन पर्याप्त साधन स्रोत चाहिने बताउँछन्।

उनका अनुसार, बाँधलाई एक दिनमा एक मीटर खोलेर प्रतिसेकेन्ड ३५० देखि ४०० घनमीटरसम्म पानी बगाउँदा सुरक्षित हुन्छ। “तर, चट्टान सहितको बाँध भएकोले एकै चोटि फुट्ने खतरा कमै छ”, भूगर्भविद् द्विवेदी भन्छन्।

त्रिविका सह–प्राध्यापक दाहाल मनकामना केबुलकार भएको डाँडा, कृष्णभीर लगायत देशका थुप्रै ठाउँ ठूलो पहिरोको चपेटामा पर्न सक्ने अवस्था रहेको बताउँछन्। तर संभावित विपत्ति रोक्ने तयारी भने कतै छैन। उद्धारको योजना समेत घटना भइसकेपछि मात्र बन्ने गरेको छ। जलाधारविद् उपाध्या त नेपालमा सुनकोशीको जस्तो विपद् व्यवस्थापन गर्ने निकाय नै नभएको बताउँछन्।

“यो अनुभवबाट सिकेर बाँधको पानी व्यवस्थापन गर्ने निकाय जन्माउनुपर्ने बेला बितिसकेको देखिन्छ”, उपाध्या भन्छन्, “तर, यतिका मानिसको ज्यान जाने घटना हुँदा पनि सरकारलाई खासै तातो लागेको देखिएको छैन।”

सरकारले बस्तीका लागि सुरक्षित र जोखिमयुक्त भनेर ठाउँहरूको वर्गीकरण पनि गरेको छैन। केही वर्षको अन्तरमा पहिरो गइरहेको जुरेमा व्यावसायिक प्रयोजनका समेत थुप्रै घर थपिएका थिए। नेपालका पहाडमा पहिरो र तराईमा बाढीको जोखिम हुन्छ।

जलस्रोतविद् दीक्षित पहिले नदी बगेको वा नदी किनार बस्तीका लागि सुरक्षित नहुने बताउँछन्। घरबासका लागि तुलनात्मक रूपमा बढी सुरक्षित ठाउँ रोज्दा स्वतः जोखिम न्यूनीकरण हुन्छ। यसका लागि जल उत्पन्न प्रकोप नियन्त्रण विभागले देशभर ‘जोखिम म्यापिङ’ गर्नु जरुरी छ।
________________________________________
सुनकोशी अन्तिम होइन

डा. रञ्जनकुमार दाहाल
सह–प्राध्यापक, त्रिवि,
भूगर्भ विभाग

सुनकोशीको वहाव थुनिएको क्षेत्रमा यसअघि पनि पहिरो जाने गरेको थियो। यसपटक ठूलै क्षति भएपछि चर्चा पनि पायो। तर, घटना हुनु अगाडि नै यस्तो चर्चा गर्ने र रोकथामको उपायको खोजी हुनुपर्थ्यो।

माङ्खा गाविसको त्यो क्षेत्र नै हजारौं वर्ष पहिले भुईंचालो गएपछि बनेको हो। पहिरो गइरहने हुनाले यस्तो ठाउँ खेतीपातीका लागि राम्रो भए पनि बस्तीका लागि निकै जोखिमपूर्ण हुन्छ।

हाम्रा पुर्खाहरूले यस्ता ठाउँमा कोदो, मकै जस्ता बाली मात्र लगाउँथे। अहिले हामी विभिन्न उपकरण प्रयोग गरेर जमीन खनिरहेका र बस्ती बढाइरहेका छौं। यसले पक्कै विपत्ति ल्याउँछ।

देशका थुप्रै ठाउँ भीमकाय पहिरोको जोखिममा छन्। पाल्पाको तानसेन र पाँचथरको फिदिम भारतको पिथौरागढको जस्तो भौगोलिक अवस्थामा छन्। पहिरो नजाँदै यस विषयमा कुरा गर्नेहरू एक्लो बृहस्पति भइरहेका छन्।

हामीले कृष्णभीरमा जुरेकै प्रकृतिको पहिरो जान सक्छ भनेर गएको माघदेखि भनिरहेका छौं, तर यस्तो कुरा सुन्ने फुर्सद कसैलाई छैन। सुनकोशीको विपत्ति अन्तिम होइन भन्ने कुरालाई मनन् गरौं र सतर्कता अपाउन ढिलो नगरौं।
________________________________________
फिल्डमै ध्यान केन्द्रित गरौ

श्रीकमलप्रसाद द्विवेदी
वरिष्ठ भूगर्भविद्
जल उत्पन्न प्रकोप नियन्त्रण विभाग

पीडितहरूलाई क्षतिपूर्ति, पुनर्स्थापना र घाइतेलाई उपचारको उचित व्यवस्था गर्दै कृत्रिम तालमा जम्मा भएको पानीलाई सुरक्षित निकास दिनु अहिलेको प्रमुख चुनौती हो। त्यो ताल रहुञ्जेल खतरा टर्दैन। पानी ठूलो खोल्नुहुँदैन, सानो बगाएर पनि हुँदैन।
प्रतिसेकेन्ड ३५० देखि ४०० घनमीटरसम्म बगाउनुपर्छ। यसका लागि दिनमा एक मीटर खन्नु उपयुक्त हुन्छ। यसक्रममा नदीको मुहानतिर पानी पर्ने वा रातको समयमा पानी बढ्ने खतरालाई ध्यानमा राख्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, सरकारले फिल्डमा खटेकाहरूलाई उत्साहित बनाउनुपर्छ। नेपाली सेना लगायत त्यहाँ खटेका वा खटिनेहरूलाई भौतिक, प्राविधिक सहयोग बढाउनुपर्छ। त्यहाँ धेरैको शव पुरिएर कुहिएकोतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्छ।
________________________________________
जुरेमा आँशुको दह

सिन्धुपाल्चोकको राम्चे गाविसको जुरेका खेतमा रोपेको धान सरेर लहलह हुन लागेको थियो। खैरो हुन लागेको मकैको धानचमराले घोगा छिप्पिएको संकेत दिन थालेको थियो।

तर, १६ साउन राति गएको पहिरोले यी सबलार्ई अलप बनाइदिएको छ– यिनलाई स्याहार्ने हात र खाने मुखहरू सहित। अब न विद्यालय चौर बाँकी छ न त त्यसमा पढ्ने–खेल्ने विद्यार्थी।

तिनका खातिर रुने र किरिया बसिदिने पनि कोही रहेनन्। राम्चे गाविसको इटनी र कागुनेबाट चट्टानी पहाडसहित बगेर झारेको पहिरोले जुरेमा १५६ जनालाई एकै चिहान बनाएपछि यो क्षेत्रको होश हराएको छ।

एकअर्कालाई समातेर सुतेका तीन महीनाकी छोरी र उनकी आमाको शव निकालेका उद्धारकर्ताहरूको मन ओभानो हुनसकेको छैन। जुरेमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र अरू उद्धारकर्ताहरू मन रुवाउँदै घाइते र विस्थापितहरूलाई सम्हालिरहेका छन्। उनीहरूले पहिरोमा परेका ३३ जनाको मात्र शव भेट्टाउन सके।

आमा–बुबा, दाजु–भाइ सबै गुमाएकी २० वर्षीया चमेली तामाङ (हे. तस्वीर) २२ साउनमा राहत दिने ठाउँमा उभिरहेकी थिइन्। घटनाबारे सोध्दा उनको आँखामा आँशु भरियो, बोल्नै सकिनन्। सरकारले पहिरोमा ज्यान गुमाएका हरेक व्यक्तिको लागि रु.४० हजार किरिया खर्च उपलब्ध गराएको जुरे पुगेका बाग्मती अञ्चल प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताए।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>