टिप्पणीबुधबार, साउन २८, २०७१

सुनकोशीमा खतराको घण्टी

कुन्द दीक्षित

सन् १९८१ मा मैले पत्रकारिता शुरू गर्दा ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जाल र स्मार्ट फोन थिएनन्। त्यसबेला भोटेकोशीमा ठूलो बाढी आएको सुनेपछि हामी भक्सवागन बिट्टल कारमा त्यसतर्फ हुँइकिएका थियौं। अरनिको राजमार्गहुँदै दोलालघाटको देउराली पार गर्ने वित्तिकै हामीले बहुलाएको नदी देख्यौं। उर्लिरहेको छालमा सिङ्गै रूखहरू बगिरहेका थिए। दुवै किनारको माथिसम्म परेको बाढीको दागले रातमा नदी कहाँसम्म पुगेको थियो भन्ने देखाइरहेको थियो।

ताल खुलाएर बगाइएको सुनकोशी। तस्वीरः बिक्रम राई

हामी बाढीको उग्रता हेर्दै लामोसाँघुबाट सुनकोशी ब्यारेजतर्फ लाग्यौं। यही १७ साउनको बिहान तीन बजे पहिरो गएको जुरे नजिकै त्यसबेला पनि सडक पूरै ध्वस्त थियो। अहिले त यो सानो बजारमा चट्टान र हिलोबाहेक केही देखिन्न। पहिरोले थुनेर भोटेकोशीमा तीन किलोमीटर लामो ताल बनेको छ। १९८१ मा अरनिको राजमार्गको करीब २० किलोमीटर खण्ड र सबै पुलहरू ध्वस्त भएका थिए। सुनकोशी पावरहाउसमा पनि ठूलो क्षति पुगेको थियो। जनधनको क्षति पनि सानो थिएन।

पहिले र अहिले

त्यसबेला मनसुनी वर्षाले बाढी ल्याएको अनुमान गरिएकोमा तिब्बतमा हिमताल फुट्दा त्यस्तो भएको पछि थाहा भयो। भूगर्भशास्त्रीहरूले सन् १९३५ र १९६४ मा पनि हिमताल फुटेर भोटेकोशीमा विनाशकारी बाढी आएको प्रमाणहरू भेट्टाएका छन्। यसपटक १००० मीटर माथिबाट झ्रेको ठूलो पहिरोले हिमालपारिबाट आउने यो नदीलाई थुनिदियो। जुरेका १५६ जना मानिस र दर्जनौं घर पहिरो मुनि परे। निदाइरहेका मानिसहरूले घरमाथि पहिरो खसेको पत्तै पाएनन्।

करीब ५०० मीटर चौडा पहिरो नदीमा २०० मीटर लामो बाँध बनेर थुप्रिएको छ। वनले ढाकिएको पाखो पारिपट्टि थुप्रिनुले पहिरो कति जबरजस्त थियो भन्ने देखाउँछ। पहिरोसँगै उडेको लेदोको छिर्काले पारिको हरियो जंगललाई पूरै खैरो बनायो। नेपाल र चीनलाई जोड्ने अरनिको राजमार्ग पहिले झैं अवरुद्ध पारेको यो पहिरोले नदी थुन्दा २.५ मेगावाटको सानिमा जलविद्युत् परियोजना डुवानमा परेको छ। ४५ मेगावाटको भोटेकोशी, १० मेगावाटको सुनकोशी, ६ मेगावाटको चाकु र ३ मेगावाटको भैरवकुण्ड आयोजना पनि ठप्प भएको छ। यत्रो विश्यारी (पहिरोले खोलो थुनेपछि बन्ने ताल) बाट स्तब्ध भएका जलस्रोत विज्ञ दीपक ज्ञवाली थप क्षति हुनुअघि नै नेपाली सेनाले जमट पानीलाई सहज निकास दिने आशामा रहेको बताउँछन्।

१७ गते दिनभर नै सरकारले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई मास्तिर सर्न सचेत गरायो। जुरेभन्दा २५० किलोमीटर तल कोशी ब्यारेज र सीमा पारि बिहारमा पनि सुरक्षा सतर्कता अपनाइयो। दिउँसो २ बजेतिर पहिरे बाँधको छेउबाट पानीले सानो निकास बनाएपछि सेनाले त्यही ठाउँमा नियन्त्रित विस्फोट गराएर बहावलाई अलि फराकिलो पार्‍यो। रातिसम्म तालको सतह दुई मीटर घट्यो। यद्यपि, भारी वर्षा भएर बाँध फुट्ने वा थप पहिरो गएर पानीको वहाव पूरै रोक्ने सम्भावना छँदैछ। तालमा अहिले एक करोड घनमीटर पानी रहेको अनुमान छ, जुन फुट्यो भने तल्लो तटीय क्षेत्रमा आइपर्ने विनाशको अनुमान लगाउन सकिन्छ।

भोटेकोशी उपत्यकाको अध्ययन गरेका बेलायतको डरहाम विश्वविद्यालयका पहिरो विशेषज्ञ डेभ पेट्लीले त्यसक्षेत्रमा ठूलो पहिरो जानु कुनै अचम्म नभएको ब्लगमा लेखेका छन्। उनी लेख्छन्, “पहिरोले बनाएको बाँधको तस्वीर हेर्दा त्यो फुट्दैन भनेर विश्वस्त हुन सकिने कुनै आधार देखिंदैन। त्यो अवस्थामा तल्लो क्षेत्रमा पुग्ने बाढीको प्रभाव निकै भयावह हुनेछ।” पेट्लीले अब तीन वटा कामलाई उच्च प्राथमिकता दिन सुझाएका छन्– तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, बाँध फुटेको जनाउ तत्काल दिने सूचना प्रणाली जडान गर्ने र ठूलो मेशीनले पानीको निकास खोल्ने। नेपाली सेना र प्रहरीले त्यही अनुसार काम गरिरहेको छ।

पहिले तल्लो तटीय क्षेत्रका बासिन्दाले बाढी आएको थाहै नपाई ठूलो क्षति व्यहोर्नु पर्‍यो। अहिले भने सूचनाप्रविधिको मनग्गे विकास भएको छ। यसपटक पहिरोले नदी थुनिएको खबर हातहातमा रहेको मोबाइल फोन र एफएम रेडियोबाट सुनेर मानिसहरू सुरक्षित स्थानतर्फ लाग्न सके। पहिरोको पहिलो समाचार भने सामाजिक सञ्जालबाटै ब्रेक भयो। मध्य भोटेकोशी जलविद्युत् आयोजनाका इञ्जिनियर कपिल धितालले बिहान ५:५० मा पहिलो ट्वीट गरेका थिए, ‘भोटेकोशीमा पहाड खसेको छ, बाह्रबिसे खतरामा’ भन्दै। उनले दिनभर पनि पहिरो, त्यसले ताल बनाएको नदी, डुबेको सानिमा परियोजना लगायतको सूचना, तस्वीर र भिडियोहरू पोष्ट गरिरहे। सञ्चारमाध्यमहरूले त्यसैलाई साभार गरे।

भोटेकोशी र सुनकोशी उपत्यका संकटापन्न रहेको जुरे पहिरोले सम्झ्ाएको छ। मनसुनी वर्षा, पहिरो वा हिमताल विस्फोट जस्ता कारणहरूले हिम नदीहरूलाई अनुमानभन्दा बाहिर राखेको हुन्छ। बस्ती बस्दा, बसाउँदा र पूर्वाधार निर्माण गर्दा यो जोखिमप्रति आँखा चिम्लिन मिल्दैन।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>