रमझमबुधबार, साउन २८, २०७१
जापानमा नेपाली शान
१४ वर्षदेखि जापानको टोकियोस्थित खामी इताबासीमा बस्दै आएका मोहन महर्जन ‘ड्रागन’ उपनामबाट चिनिन्छन्। नेपालमा मार्सल आर्टका सामान्य खेलाडी रहेका ‘ड्रागन’ आठ वर्षयता कराँते र किक बक्सिङ्गका सेलिब्रेटी बनेका छन्।
सन् २००७, २००८ र २००९ मा जापानको राष्ट्रिय सिदोकान कराँते ग्लोब टुर्नामेन्टमा च्याम्पियन बनेका उनले २०११ मा किक बक्सिङ्गका नेशनल च्याम्पियन सुजुकी आकिहिरोलाई हराए। “त्यसपछि किक बक्सिङ्गको पनि च्याम्पियन भएँ”, मोहन भन्छन्।
जापानमा नोरीका हासेगावासँग स्थायी घरबार गरे पनि उनी नेपालको झन्डा फर्फराउँदै रिङमा ओर्लन्छन्। गैर–आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष ओम गुरुङ मोहनले विदेशमा आफ्नो देशको सुवास फैलाइरहेको बताउँछन्। कराँते र किक बक्सिङ्गका व्यावसायिक खेलाडी उनले अहिलेसम्म जापानको १२ वटा राष्ट्रिय प्रतिस्पर्धा जितिसकेका छन्।
नेपाल र नेपालीहरूको उत्पे्ररणाले आज आफू यो ठाउँमा उभिएको मोहन बताउँछन्। नेपालको झण्डा नछाडेसम्म उनले जापानको तर्फबाट खेल्न पाउने छैनन्। चार वर्ष अगाडि ब्ल्याक बेल्ट लिएका उनी आगामी नोभेम्बरमा नेपालमा किक बक्सिङ्ग टुर्नामेन्ट गर्ने तयारीमा छन्। त्यसका लागि चाँडै नेपाल आउन लागेको उनले फोनमा बताए।
ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
