टिप्पणीबिहीबार, साउन २९, २०७१
मोदीको तीर्थाटन
१७ वर्षपछि शक्तिशाली मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल यात्रा धेरै अर्थमा महत्वपूर्ण रहयो। नेपालमा माओवादीहरूको ‘जनयुद्ध’ को थालनीदेखि शान्ति प्रक्रियासम्म पुग्दा भारतका एजेन्सीहरूको सक्रियता बढेको र राजनीतिक नेतृत्वको प्रत्यक्ष सम्पर्क घटेकाले नेपाल–भारत सम्बन्ध संशयपूर्ण बन्दै गएको थियो। तर, मोदीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई पुनः राजनीतिकस्तरमा उकास्ने स्पष्ट संकेत दियो।
लामो समयदेखि विवादमा ल्याइए पनि संशोधन गर्ने आँट नगरिएको १९५० को सन्धि परिमार्जन गर्न मोदीबाट चासो देखाइनुले पनि काठमाडौंका ‘राजनीतिक पण्डित’ हरूलाई उत्साहित बनायो। महाकाली सन्धिको कार्यान्वयन र जल ऊर्जामा साझेदारी गर्ने उनको प्रस्तावले पनि राजनीतिक नेतृत्व उत्साहित छ। समग्रमा हेर्दा मोदीको यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई सामयिक बनाउन, राजनीतिकस्तरमा उकास्न र विश्वासको वातावरण बनाउन सघाएकोमा दुईमत छैन।
मोदीले हाम्रो राजनीतिक वृत्तलाई केही सन्देश पनि दिएका छन्, दलभन्दा माथि देशलाई राख्न तथा क्षेत्रीय र जातिको साटो समग्र नेपालको चिन्ता गर्न। यो सन्देशलाई नेपाली नेताहरूले बुझेकै हुनुपर्छ।
मोदी भ्रमणको धार्मिक–सांस्कृतिक आयाम पनि छ। भारतको राष्ट्रिय स्वयंसेवक संघ जस्तो कट्टर हिन्दूवादी पृष्ठभूमि र धर्मनिरपेक्ष मुलुक भारतका प्रधानमन्त्रीले धार्मिक–सांस्कृतिक क्षेत्रमा दिएको सन्देशले नेपालमा मात्रै नभएर भारतमा पनि प्रभाव पार्ने संभावना छ। दुई वटा धर्मनिरपेक्ष राष्ट्रबीच सांस्कृतिक सम्बन्ध र सहयोग स्वाभाविक भए पनि यसलाई बढी धार्मिक रङ दिइँदा अर्कै प्रभाव पर्न सक्छ।
धार्मिक र सांस्कृतिक क्रियाकलाप छुट्याउने परिभाषित सीमा नभए पनि संस्कृतिलाई वर–व्यवहार, खानपान, चाडपर्वमा सहभागिता जस्ता कुराको समष्टिमा बुझिन्छ, धार्मिक भन्दा व्यापक अर्थमा। पूर्वेली दृष्टिकोणमा धर्मलाई कर्तव्य, दायित्व, आचरण र नैतिक बन्धन भनिएको छ। त्यसैले पूर्वेली समाजमा धर्म र संस्कृति बीच स्पष्ट सिमाङ्कन छैन।
मोदीले साउन महीनाको पवित्र सोमबार शिवदर्शन गर्नुमा सांस्कृतिक भन्दा धार्मिक कारण हो भन्ने स्पष्टै छ। त्यसैगरी, उनको पशुपति दर्शन व्यक्तिगत नभएर भारतका प्रधानमन्त्रीको थियो भन्ने पनि प्रष्टै छ। पशुपति दर्शनपछि आगन्तुक पुस्तिकामा उनैले नामको पछि भारतका प्रधानमन्त्री लेखेका छन्। यसले उनले पशुपतिको लागि सहयोग दिएको श्रीखण्ड पनि भारतका प्रधानमन्त्रीको तर्फबाटै थियो भन्ने देखाउँछ।
मोदीको पशुपति पूजापछि पशुपतिको बारेमा उठ्ने कतिपय सन्दर्भहरू पुनः सतहमा आउने संकेत देखा पर्दैछन्। हालै पशुपतिमा कर्मकाण्ड गर्न चाहिने योग्यताको कुरा गर्दा ब्राह्मण नै हुनुपर्ने भनिएपछि हिन्दू संस्कृतिलाई उदार भन्नेहरूले पनि त्यसलाई ब्राह्मणवादी सोच भनेका थिए। विद्वान् मोदनाथ प्रश्रित पनि पशुपतिमा गरिने कर्मकाण्डलाई जातीय घेरामा सीमित गर्नु चिन्तनमा सामञ्जस्यता नभएको परिणाम मान्छन्।
यस्तोमा पशुपतिलाई शिवको बासस्थानको रूपमा हेर्न चाहने र पशुपतिलाई साम्प्रदायिक संकीर्णताभित्र सीमित गर्न चाहने सोचबीच आगामी दिनमा तनाव बढ्न सक्छ।
मोदी नेपाल आउने पहिलो भारतीय प्रधानमन्त्री होइनन्, उनकै पार्टीबाट प्रधानमन्त्री बनेका अटलबिहारी वाजपेयी पनि नेपाल आएका थिए। त्यो बेला नेपाल हिन्दू राजतन्त्रात्मक राज्य भए पनि उनले यस्तो धार्मिक गतिविधि देखाएनन्। उनीअघिका भारतीय प्रधानमन्त्रीले पनि पूजापाठलाई अहिले जसरी प्राथमिकता दिएनन्।
यस्ता विषयमा पछि छलफल हुँदै गरे पनि मोदी भ्रमणले नेपाल–भारत सम्बन्धलाई दिएको उचाइ अरू अग्लो हुनेछ भन्ने आशा भने गर्न सकिन्छ। तर यो सम्बन्धमा त्यो बेला मात्र जोखिम कम हुनेछ, जतिबेला हामीले स्थापित गरेका मूल्य―मान्यता र सिद्धान्तप्रति हामी अडिग रहनेछौं। हाम्रो सांस्कृतिक सम्बन्ध हिमाली उँचाइतर्फ पनि छ भन्ने हेक्का हामीले राख्नै पर्छ।
राज्यको चरित्र र राज्यको नेतृत्व गर्नेहरूको जीवनशैली र आचरणमा सामञ्जस्यता भएन भने धार्मिक र सांस्कृतिक विभेद बढ्न सक्छन् भन्नेमा पनि सचेत हुनु आवश्यक छ। धार्मिक स्वतन्त्रतालाई जीवनशैली मान्ने नेताहरूले धार्मिक गतिविधिलाई निश्चित सीमामा राख्नुपर्छ।
नेपालमा मोदीले प्रदर्शन गरेको व्यक्तित्वलाई राजनीतिक भन्दा ‘हिन्दूवादी धार्मिक’ का रूपमा काठमाडौंका ‘प्रभावशाली’ ले बुझेको संकेत पनि देखिंदैछन्। यसले ‘धार्मिक उन्माद’ मौलाउन सक्ने तथा संविधानलेखनमा पनि प्रभाव पार्न सक्ने खतरा छ। जसलाई, नेपालको बौद्धिक समुदाय र राजनीतिक नेतृत्वले बुझेकै होलान्।
(प्याकुरेल जवाफदेहिता निगरानी समितिका अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य हुन्।)
साप्ताहिक खबरपत्रिका हिमालबाट