थप समाचारबिहीबार, साउन २९, २०७१
उद्योगलाई फलफूल
– जीवनप्रसाद राई
नेपालमा विश्वका १३ मध्ये १२ प्रकारको हावापानी पाइन्छ। नेपालको उष्ण, शीतोष्ण र समशीतोष्ण प्रदेशमा विश्वका सबै क्षेत्रमा पाइने सबै खालको फलफूल हुन्छ। नेपालको लागि यो प्राकृतिक वरदान हो। यस्तो प्रचुर सम्भावना बोकेर पनि आयातीत फलफूलमा निर्भर हुनु भनेको बिडम्बनामा रमाउनु हो।
विशेषज्ञहरूका अनुसार नेपालका शीतोष्ण र समशीतोष्ण प्रदेशमा स्याउ, नास्पाती, आरू, आरूबखडा, ओखर, चुच्चेओखर, लप्सी, हलुवाबेद, किवी, कटुस, खुर्पाने, कागजीबदाम, स्ट्रबेरी, ब्ल्याकबेरी, चेरी, सुन्तला, मुन्तला, जुनार, भोगटे, कागती, एभोकाडो, अमला, कफी, अन्जिर, अनार, जैतुन आदि फलफूल हुन्छन् भने उष्ण क्षेत्रमा आँप, केरा, कटहर, लिची, भुईंकटहर, मेवा, अम्बा, जामुन, अंगुर, बेल, बयर, नरिवल, निबुवा, ड्रागनफल आदि।
फलफूलको व्यावसायिक खेतीबाट हाम्रो दैनिक आवश्यकता पूर्ति र निर्यात मात्र होइन, राष्ट्रिय गौरवका उद्योग सञ्चालन गर्न सकिन्छ। किसान तहबाट देशभर यसको सुरुआत पनि भइसकेको छ। फलफूलबाट निर्यातयोग्य वस्तु उत्पादनको थालनी पनि भएको छ। कतै वाइन उद्योग शुरू भएको छ त कतै बिस्कुट, चकलेट, जेली, जाम, जुस, आइसक्रिम, सफेनिङ्ग, कस्मेटिक, औषधि, चुक, अचार, भेनिगार, बटर, क्रिम, स्याम्पु, साबुन आदि उद्योगका लागि फलफूल प्रशोधनको काम थालिएको छ। फलफूल खेती विस्तार र उद्योग स्थापनालाई एकैपटक अगाडि बढाउन सक्दा मुलुकको समृद्धिमा ठूलो टेवा पुर्याउने सम्भावना यसले देखाउँछ।
गोविन्द घिमिरेले धनकुटामा थालेको बेलको जुस बनाउने उद्यम अहिले रामेछाप र उदयपुर जिल्लामा पनि खुलेका छन्। त्यस्तै, वाइन उद्योगहरू पनि धमाधम थपिंदैछन्। स्थापित ‘ब्रान्ड’ नै भइसकेका डाँडाघरे, हिन्वा, विग मास्टर र साकुराले वाइनको आयातलाई निरुत्साहित गर्न थालिसकेका छन्। डावर नेपाल, चौधरी ग्रुप, दुगड, रिजाल टासी लगायतका उद्योगले ठूलो पैमानामा फलफूलका जुस उत्पादन र बिक्री गरिरहेका छन्। दुगड र रिजाल टासीले फलफूलबाट अचार उद्योग पनि चलाएका छन्।
लगानीको राम्रो क्षेत्र
नेपाली किसानमा व्यावसायिकताको अभाव छ। त्यसमाथि, कृषि क्षेत्रमा ब्याङ्कहरूले खासै लगानी गरेका छैनन्। ग्रामीण भेगमा यो समस्या बढी नै छ। त्यसकारण ब्याङ्कहरूले आम नेपालीमा बढ्दै गएको जाम, जुस, चकलेट, क्रिम, वाइन आदि उपभोगलाई समेत ध्यानमा राखेर फलफूल खेती र उद्योगमा लगानी बढाउने अवसर आएको देखिन्छ। व्यावसायिक फलफूल खेतीका जाँगरिला किसानहरूमा गरिने लगानीबाट कृषिको अरू क्षेत्रको पनि औद्योगीकरणमा टेवा पुग्नेछ।
‘नेपाली’ भन्ने बित्तिकै स्वयंमा एउटा ‘ब्रान्ड’ जस्तो भएकोले नेपालको कृषि वस्तुको राष्ट्रिय–अन्तर्राष्ट्रिय बजार विस्तार सजिलो पनि छ। यसको लागि गुणस्तरमा भने सम्झौता गर्नुहुँदैन। उत्पादन प्रक्रिया, प्रयोगशाला परीक्षणको विवरण, खानयोग्य रहने मिति आदि उल्लिखित विश्वासिलो लेवल र आकर्षक प्याकिङ गर्ने हो भने नेपाली कृषि उपजले सजिलै अन्तर्राष्ट्रिय बजार लिन्छ। वर्षेनि नेपाल आउने पर्यटकहरूलाई आफ्नै फलफूल, वाइन, ह्विस्की, जाम, जुस, सलाद, बेकरी, आइसक्रिम, जेली, सफेनिङ आदि खुवाएर स्वागत गर्नुको फाइदा आफ्नो ठाउँमा छँदैछ। अहिलेसम्म पर्यटनलाई यी चिजहरू आयात गरेरै खुवाइरहेको विदितै छ।
पर्यटकले खाने र अन्तर्राष्ट्रिय बजारमा निर्यातयोग्य फलफूलजन्य उत्पादनका लागि ‘हाइजिन’ महत्वपूर्ण पक्ष हो। यसका लागि किसानले कसरी र कति फलफूल फलाउने भन्ने ज्ञानदेखि प्रशोधन उद्योगको लागि पूर्वाधार, मेशीनरी, दक्ष जनशक्ति आदि चाहिन्छ। फलफूल उत्पादन, प्रशोधन र बजार प्रवर्द्धन एकै व्यक्तिबाट सम्भव हुँदैन। यी तीन कामका लागि तीन थरी लाग्नुपर्छ। जनशक्ति विकास, फलफूल उत्पादन, प्रशोधन र बजार प्रवर्द्धनमा पनि लगानीकै खाँचो छ।
नेपालभर फलफूलजन्य उद्योगको परिकल्पना गर्दा यसबाट सिर्जना हुने रोजगारीको आकार अनुमान गर्न सकिन्छ। किसान र उद्यमीहरूको उत्साहमा सरकारको कृषि नीति मिलाएर योजनाबद्ध ढंगबाट अगाडि बढ्ने हो भने आगामी १० वर्षमा देशभर जाम, जेली, अचार, कस्मेटिक, जुस, वाइन, धूलो जुस, भिटामिन झोलका सय–सय तथा अन्तर्राष्ट्रिय मापदण्डका १००० वटा बेकरी उद्योग खोल्न सकिन्छ। ती हरेक उद्योगले ५०० जनालाई रोजगारी दिन सक्छ। त्यतिका उद्योगलाई मौसम अनुसारको फलफूल उपलब्ध गराउने किसानको संख्या त्यही अनुसार हुनेछ।
नेपालमा प्रविधि निकै महँगो छ। एकभन्दा बढी किसिमको जुस उत्पादन गर्न मिल्ने उद्योगका लागि मेशीनरीमै रु.५ करोड लगानी चाहिन्छ। उद्यमशीलता भए पनि एक व्यक्तिका लागि यो निकै ठूलो रकम हो। सरकार, ब्याङ्क र वित्तीय संस्थाहरूले चासो लिए भने यो रकम ठूलो हुँदैन। देशका योजनाकारहरूले यसतर्फ ध्यान किन नदिने?
____________________________________________________________________________
उद्यमका अगुवा
धनकुटा, मूलघाटका गोविन्द घिमिरेले वनमा त्यसै खेर गइरहेको बेलको जुस बनाएर बजार पठाउन थालेको एक दशक भयो। सिजनमा २८ जनासम्मलाई प्रत्यक्ष रोजगारी दिइरहेका घिमिरेको जस्तो बेल उद्योग अहिले रामेछाप र उदयपुर जिल्लामा पनि खुलेका छन्। फलफूल मानिसका लागि मात्र नभई उद्योगका लागि पनि हो भन्ने धारणालाई व्यवहारमा उतार्न लागिपरेका घिमिरे यसक्रममा पाएको अब्राहम कन्जरभेसन अवार्ड, सूर्य नेपाल सामाजिक उद्यम पुरस्कार र वनस्पति पुरस्कारबाट उत्साहित छन्।
अल्टरनेटिभ हर्वल प्रडक्टको नामबाट मार्मेलोस ब्रान्डको जुस उत्पादन गर्दै आएका घिमिरे आगामी वर्षदेखि बेलको क्याण्डी, मुरब्बा, वाइन र मदिरा बनाउने योजनामा छन्। बेलमा मुटुलाई कार्डियोटोरिक तत्व उपलब्ध गराउने र कब्जियत घटाउने लगायतका औषधीय गुण भएकोले जुसको माग अत्यधिक छ। बेल खेती गरेर उत्पादन बढाउन सकिने जग्गा पनि नेपालमा फालाफाल छ। कलमी प्रविधिबाट रोपेको चार वर्षमै बेल फलाउन सकिन्छ।
वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ स्थानीयवासीको संलग्नतामा चुरे संरक्षण गर्न बेलको खेतीका लागि रामबाण हुनसक्ने बताउँछन्। “चुरे क्षेत्रमा यसलाई एउटा अभियानकै रूपमा संचालन गरेर दोहोरो फाइदा लिन सकिन्छ”, घिमिरे भन्छन्, “यो सस्तो र सजिलो छ।”
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
