थप समाचारबिहीबार, साउन २९, २०७१
बच्चा हुर्काउने अा–अाफ्नै काइदा
-एमिली लोडिस

नर्वेका डे केयर सेन्टरमा जाडोका बेला पनि साना नानीहरु बाहिर खेल्दै गरेका वा कोक्रोमा सुतेका देखिन्छन् । तस्वीरः फ्लिकर
अर्जेन्टिनी आमाबाबुहरु आफ्ना बच्चा राति अबेरसम्म नसुत्नुलाई सामान्य रुपमा लिन्छन्, जापानीहरु ७ वर्षका बच्चालाई एक्लै ‘सब वे’ मा हिड्न दिन्छन् भने डेनमार्कका आमाबाबु त बाहिर कोक्रोमा निदाइरहेका बच्चालाई छोडेर पेट भर्न रेस्टुरेन्टतिर गएका देखिन्छन् ।
छोराछोरी हुर्काउने उनीहरुको यो तरिका कतिपय बाबुआमालाई असहज लाग्न सक्छ । यसैगरि, भियतनामी आमाहरु आफ्ना नानीहरु नौ महिना पुगेपछि डायपर लगाइदिन छोड्छन् । यो काइदाको छोरीछोरी हुर्काई कतिपय बाबुआमालाई खतरनाक लाग्न सक्छ ।
आ–आफ्नै काइदा
नर्वे: मानिसको बाल्यकाललाई अत्यन्त संस्थागत गरिएको नर्वेमा बच्चाहरु शून्यभन्दा कम तापक्रममा पनि घर बाहिरै आरामले सुत्छन् । त्यहाँका नानीहरुलाई एक वर्ष पुगेपछि बानहगे (बाल बगैंचा) लगिन्छ । नर्वेमा बाल बगैंचा भनेको सरकारको सहयोगमा स्थापित ‘डे केयर सेन्टर’ हुन्, जहाँ विहान ८ देखि वेलुका ५ बजेसम्म नानीहरुको हेरचाह गरिन्छ ।
यसका लागि बाबुआमाले मासिक केही सय डलर शुल्क बुझाउँछन् । त्यस्ता बाल–बगैंचामा सा–साना नानीहरु कडा जाडोमा पनि बाहिरै खेलिरहेका वा झुलौनामा निदाइरहेका देखिन्छन् ।
सरकारले बाल–बगैंचामा प्रशस्तै लगानी गरेको भएपनि कतिपय नर्वेली अभिभावक यसरी बालबालिका हुर्काउने क्रममा सिर्जनात्मक कुरामा कम ध्यान दिइएको गुनासो गर्छन् ।
नर्वेमा आफ्ना नानी हुर्काइरहेकी एक अमेरिकी आमा लेख्छिन्– ‘यहाँ केटाकेटी हुर्काउने एउटामात्र सहि तरिका हुन्छ भन्ने मान्यता छ र सबैले त्यसैलाई अनुसरण गर्छन् । अमेरिकामा बच्चा हुर्काउने विभिन्न शैली छन् तर, नर्वेमा भने एउटै तरिका छ– सबै बच्चाहरु साँझ ७ बजे ओछ्यान पुगिसक्छन्, सबै उस्तैखाले प्रि–स्कुलमा जान्छन्, सबैले बुट लगाउँछन, सबैले उस्तै खाना खान्छन् । नर्वेली तरिका यही हो ।’
भियतनाम: भियतनामी आमाहरु नानीहरुलाई सानैमा पिसाव गर्ने तालिम दिन्छन्, निश्चित ठाउँमा मात्र पिसाव फेर्न सिकाएर । बच्चाको पिसाव आउने समय भएको बुझेपछि आमाले सानो आवाजमा सुसेल्छिन् अनि बच्चाले त्यही लय समाउँदै पिसाव फेर्छ । यही तरिकाको तालिमले गर्दा भियतानमी बालबालिकाले नौ महिनादेखि डायपर लगाउन पर्दैन । चिनियाँहरुले पनि यो काइदा अपनाएका छन् ।
केन्या: केन्याको किसी वा गुस्सी समुदायमा बालबच्चाको आँखामा नियालिदैन । गुस्सी आमाहरु दिनभर कहाँ–कहाँ पुगिरहेका हुन्छन्, तर पिठ्युमा बोकिएको बच्चा खिल्खिलाउँदा वा अरु किसिमको आवाज निकाल्दा वास्ता गर्दैनन् ।
पश्चिमा संवेदनशिलतामा यस्तो ब्यवहारलाई रुखो मानिएला, तर किसी संस्कृतिमा यस्ले बिषेश अर्थ राख्छ । त्यसअनुसार, साना नानीहरुको आँखामा हेर्नु भनेको शक्ति प्रदान गर्नु हो, तिमी महत्वपूर्ण हौ भन्नु हो, जुन किसीहरु चाहँदैनन् ।
त्यसले गर्दा किसी बालबालिकाहरु अरु समुदायका बच्चाजस्तो अरुको ध्यानाकर्षण खोजिरहने स्वभावका नहुने अनुसन्धानकर्ताहरुको भनाई छ ।
डेनमार्क: ‘एस्किमोहरुले आफ्ना नानीहरुलाई कसरी न्यायो बनाई राख्छन् ?’ भन्ने पुस्तकमा मेइ लिङ हपऊड लेख्छिन्– ‘डेनीस बाबुआमाहरु खान वा किनमेल गर्न जाँदा आफ्ना बच्चालाई बाहिर ताजा हावामा छोडदिन्छन् ।
स्वच्छ हावा बच्चाको स्वास्थ्यका लागि जरुरी हुने उनीहरु बताउँछन् ।’ अमेरिकीहरु त यसरी बच्चालाई बाहिर छोड्ने कल्पनासम्म पनि गर्न सक्तैनन् । न्युयोर्कका एक दम्पती (जसमध्ये एकजना डेनिश) लाई रेष्टुरेन्ट बाहिर बच्चालाई एक्लै छोड्दा प्रहरीले पक्राउ गरेको थियो ।
“म डेनमार्कमा छँदा जतततै बच्चाहरु एक्लै देखेर आश्चार्यचकित हुन्थें” दुई वर्षको छोरालाई न्युयोर्कमा घुमाउँदै गरेकी मरियोम एडलरले न्युयोर्क टाइम्ससँग भनेकी छन्, “र पनि, मलाई डेनमार्क असाधारण रुपमा सभ्य लाग्यो ।”
पोलिनेशियन द्विप: लेखिका मेइ लिङ हपगुडका अनुसार, पोलिनेशियामा बच्चाहरु टुकुटुकु हिंड्न सक्ने भएपछि अरु बच्चाकै जिम्मा लगाइन्छ । उनले लेखेकी छन्– ‘प्रि–स्कुल उमेरका बालबालिकाले आफूभन्दा साना नानीहरु सम्हाल्न सिक्छन् । भर्खरै हिड्न सिकेका नानीहरु आत्मनिर्भर बन्दै जान्छन्, किनभने उनीहरुसँग आफुभन्दा ठूलाहरुसँग टिक्ने यो बाहेक अर्को विकल्प हुँदैन ।’
नृवंशशास्त्री दम्पती जेन र जेम्स रिचीले न्युजिल्याण्ड र पोलिनेशियामा यस्तै मानव ब्यवहारबारे दशकौं अध्ययन् गरे । उनीहरुलाई यस्तो ब्यवहार अरु ठाउँमा पुग्ला भन्ने लाग्दैन । ग्रोइङ अप इन पोलिनेशिया पुस्तकमा रिची दम्पतीले लेखेका छन्– ‘पोलिनेशियाको वालबच्चा हुर्काउने काईदालाई पश्चिमा समुदायमा भयावह भन्दै नकारिनेछ ।’

जापानको टोकियोमा बालक अन्य बयस्कहरुसँगै सब वेमा । १० वर्ष मुनीका बालबालिका पनि त्यहाँ एक्लै मेट्रो ट्रेन चढ्न पाउँछन् । तस्वीरः फ्लिकर
जापान: जापानमा निश्चित उमेर पुगेका बच्चाहरुले थुप्रै स्वतन्त्रता पाउँछन् । ७ वर्षका बालबालिका मेट्रो ट्रेन चढ्न सब–वेमा हिंडिरहेको दृष्य जापानमा सामान्य हुन्छ । कहिले काहीं त चार वर्षकाहरु पनि सब–वे उक्लिरहेका देखिन्छन् ।
प्रत्येक वर्ष केही समय जापानमा विताउँने ‘प्यारेन्टिङ विथआउट बोर्डर्स’ कि लेखिका क्रिस्टिन ग्रस–लोह त्यहाँ रहँदा आफ्ना नानीहरुलाई सब–वे र नजिकैको बजारमा एक्लै घुम्न छाडिदिन्छिन् । अमेरिकामा भने यस्तो गर्ने साहस उनमा हुँदैन ।
ग्रस–लोह लेख्छिन्– ‘अमेरिकामा त नानीहरुलाई त्यसरी छोडिदिएँ भने मानिसहरुले अचम्म मान्ने मात्रै होइन, अघि नै बाल सुरक्षा सेवामा फोन गरिसकेको हुन्छन् ।’
स्पेन: कनेक्टिकट विश्वविद्यालयकी प्राध्यापक सारा हार्कनेसका अनुसार, स्पेनी परिवारहरु साना नानीहरुको सामाजिक र पारस्परिक अन्तरक्रियात्मक क्षमताकोे विकासमा ध्यान दिइन्छ ।
साँझ साढे ६ बजे बच्चा ओछ्यानमा जानुपर्ने नियम स्पेनी आमा–बाबुका लागि अर्कै ग्रहको कुरा हुन्छ ।
“उनीहरु यस्तो कुरा स्वीकार्नै सक्दैनन्” सारा भन्छिन्, “उनीहरुका बालबच्चा साँझभर परिवारिक जीवनमा सहभागी भएर छिटोमा १० बजे सुत्छन् ।” अर्जेन्टिनामा पनि त्यस्तै चलन रहेको मेइ लिङ हपगुडले लेखेकी छन् ।
मध्य अफ्रिका: मध्य अफ्रिकाका आका पिग्मी समुदायका बाबुहरु बालबच्चा स्याहार्न सिपालु हुन्छन् । यो समुदायमा पुरुष र महिलाको कामको भूमिका परिवर्तन भइरहन्छ । महिलाहरु शिकारमा जाँदा पुरुषहरु घरमा बालबच्चा स्याहार्छन् ।
पुरुषहरु कतै जाँदा घरको सबै काम महिलाले गर्छन् । अमेरिकी नृवंशशास्त्री बेरी हिउलेटका अनुसार, आका पुरुषहरुको जस्तो लचकदार प्रवृत्ति अरु संस्कृतिमा छैन । उनी लेख्छन्– ‘आका बाबुहरु एकैछिनमा आमाको भूमिका निर्वाह गर्न तयार हुन्छन् ।
त्यसो गर्दा उनीहरुमा न कुनै धक देखिन्छ न त अहम् । आका पुरुषहरुमा त्यो लचकता कतिसम्म हुन्छ भने, उनीहरु बच्चालाई फकाउनेक्रममा छाती समेत चुसाउँदै गरेका देखिन्छन् । त्यसैको लागि होला, दुध नआउने पुरुषको स्तनमा पनि मुन्टा भएको ।’

फ्रान्सेली बालक भेजिटेबल सुप खाँदै । धेरै फ्रान्सेली अभिभावकहरु आफ्ना साना नानीहरुलाई ठूला मान्छेले खाने खाना नै खुवाउन रुचाउँछन् । तस्वीरः गेट्टी इमेजेज
फ्रान्स: फ्रान्समा साना नानीहरुका लागि बेग्लै खाना पाक्दैन । बच्चाहरुले एकपटक खाएनन् भने पनि ठिकै छ, भरै त्यही खाना दिंदा खाइहाल्छन् भन्ने मान्यतालाई फ्रान्समा ‘भान्साको नियम’ भन्दा पनि हुन्छ ।
नभन्दै, फ्रान्सेली बच्चाहरुले परिवारका ठूला मानिसहरुले खाने कलेजोदेखि गन्हाउने पनिरसम्म खान्छन् । अरुले पनि आफ्ना नानीहरुलाई यो सिकाउँदा कसो होला ?
एनपीआरडटओआरजीमा प्रकाशित रिपोर्टको अनुवाद
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
