टिप्पणीआइतबार, भाद्र १, २०७१
सिनेमाका असल साथी श्रीकृष्ण
चलचित्रको सङ्गीतमा पन्च र नृत्यमा टाइमिङको खूब ख्याल गरिन्छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको नृत्यमा सबभन्दा सही मानिने चिज थियो टाइमिङ । र, उनी रजतपटमा प्रवेश गरेको टाइमिङ पनि एकदम सही थियो । त्यतिबेला नेपाली चलचित्रमा नाचगान जान्ने एउटा कुशल नायकको जरुरत थियो, जुन श्रीकृष्णले पूरा गरे । उनीभन्दा अग्रज शिव श्रेष्ठलाई ‘एक्सन हिरो’ र भुवन केसीलाई ‘रोमान्टिक हिरो’ का रुपमा स्वीकारिएका थिए । ‘डान्सिङ हिरो’ को रिक्त स्थानमा श्रीकृष्णले आफ्नो जमीन बनाए ।
नेपाल भाषाप्रेमी निर्माता लक्ष्मीदास मानन्धरको टोलीले शिलु पछि बन्न लागेको नेपाली सिनेमा भुमरी मा काम दिन श्रीकृष्णलाई लग्दा त्यसका निर्देशक चेतन कार्कीले ‘केटो राम्रो छ, तर अब ढिलो भएकोले अर्जुनको साथीको रुपमा मात्र सुहाउने भयो, मिहिनेत गर्यो भनें रोल बढाइदिन्छु’ भनेका थिए । यसरी २०४६ सालको असारमा जुनियर आर्टिस्टका रुपमा प्रवेश गरेका श्रीकृष्ण त्यसपछि सबैका साँच्चैका साथी भए ।
२०४६ सालमा मनीषा कोइराला, प्रकाश अधिकारी, रवीन्द्र खड्का, रतन थापा लगायत धेरै कलाकार नेपाली सिनेमाको पर्दामा प्रवेश गरेका थिए । तीमध्ये कति हराए, कति विस्थापित भए । त्यही भीडमा प्रविष्ट श्रीकृष्ण स्मरणीय कलाकार सावित भए । फिल्मकार कार्कीले भने जस्तो उनी ढिलो नभई समयमा आएका थिए । २०४६ सालको जनआन्दोलनपछि प्रहरी अधिकृत अर्जुनजंग शाहीका सबै सिनेमा प्रतिबन्धित भए भने उज्यालो अनुहारका श्रीकृष्णले सफल यात्रा शुरु गरे ।
सामान्यतः ६ ओटा गीत हुने नेपाली सिनेमामा राम्रो नृत्य गर्न सक्ने हिरो नभएको गुनासो गरिरहने नृत्य निर्देशकहरूले श्रीकृष्णको रुपमा राम्रो कलाकार पाएका थिए । शुरुका केही चलचित्रमा उनले आफूलाई स्थापित गर्न नाम मात्रको भूमिका पनि स्वीकारेर ‘जम्पिङ ज्याक्’ का रुपमा चिनाए । तर, टेलिभिजनमा केही झलक हेरेर चलचित्र हलतिर लाग्ने दर्शकका निम्ति उनी ‘डान्स’ का कारण हिट हुन थाले । फुटवर्क र कम्मर मर्काइले उनलाई ‘हाउस होल्ड नेम’ बनाउन थाल्यो ।
विश्व बस्नेतले निर्देशन गरेको नाता फिल्मले उनलाई रातारात नायकमा रुपान्तरण गर्यो । बस्नेतले अर्जुनजंग पछि दोस्रो कलाकारलाई सही ठाउँ दिएका थिए । त्यो ठाउँका निम्ति श्रीकृष्णले लामो संघर्ष गर्नु परेको थियो । त्यसपछि श्रीकृष्णले शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालपछि चौथो स्थान बनाए अनि कायम पनि रहे ।
नाता पछि उनी हरेक फिल्ममा नयाँ नायिकासित नाचे– रेखा शाही, सारङ्गा श्रेष्ठ, विपना थापा, झरना बज्राचार्य, झरना थापा, निरुता सिंह, श्वेता खड्का आदि । उनी नयाँ नायिकाहरूका निम्ति भाग्य पनि सावित भए । नृत्यकलामा कुशल उनको फिल्मीग्राफका लागि निर्देशकद्वय प्रकाश थापा र उज्ज्वल घिमिरेका सिनेमाले अर्कै बजार बनाइदियो । श्रीकृष्णले आफ्नो ख्याति नयाँ–नयाँ निर्देशकहरूसित शेयर गरे । त्यसमध्ये शिव रेग्मीसित उनको जोडी खूब सफल मानियो ।
सदा सम्मानित नृत्य निर्देशक वसन्तजङ्ग रायमाझीको भनाइमा, श्रीकृष्णलाई लिएर नेपाली क्लासिकल म्युजिकल फिल्म बन्नुपथ्र्यो । बजार खोज्दै गरेको नेपाली सिने उद्योगले श्रीकृष्णका मनोहारी नृत्यबाट अन्तर्राष्ट्रिय बजारमा अलग्गै पहिचान बनाउन सक्ने सम्भावना हुँदाहुँदै पनि त्यस्तो आँट कसैले गरेनन् । बजारसिद्धान्त अनुसार ‘ब्वाइ एट नेक्स्ट डोर’ छविमा सफल नृत्यमा उनको खूबी र अभिनय–अदाले बक्स अफिसमा लक्की चार्म भने थप्दै गयो ।
नायकका साथी भएर चलचित्रमा आएका श्रीकृष्णका सहपाठीहरू थुपै्र थिए । तीमध्ये निर्माता विजु रञ्जित, फिल्म डिजाइनर सुन्दर श्रेष्ठ, स्टिल फोटोग्राफर माधव थापा, नृत्यनिर्देशक राजु शाह आदि उल्लेख्य छन् । यी सबैसँग स्नेहस्निग्ध सम्बन्ध रहेका श्रीकृष्ण १६ वर्षअघि हेपाटाइटिस बीको आक्रमणलाई परास्त गरेर मृत्युको मुखबाट बचेर आएका थिए । त्यसबेला उनी समस्त चलचित्रजगत, परिवारजन र दर्शकको प्रार्थनाले चलचित्र उद्योगमा सफल अभिनेताका रुपमा पुनः फर्किए । उनले सिनेमामा जुन नायकीय भूमिका गरे समाजमा त्यस्तै देखिए । त्यसपछि खेलेका हरेक फिल्ममा दर्शकहरू नायक श्रीकृष्णको दीर्घायुको कामना गर्थे । र, उनी त्यही सम्बलतामा काम गर्न थाले ।
नयाँ नायिकाका निम्ति लक्की चार्म मानिने श्रीकृष्ण नयाँ निर्देशक/निर्माताका पनि त्यस्तै सावित भए । उनले गोठालो, आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, कहाँ भेटिएला पछि आफूलाई पर्दामा रुपभाषी बनाउन सके । फरक शैलीका अभिनय गर्ने क्रममा उनका दाजुभाइ, शुभकामना, चुनौती लगायतका चलचित्र चल्न सकेनन् । निर्माता श्रेष्ठका तिनै चलचित्र अन्तिम हुन पुगे । यसको कारण हाम्रो सीमित बजारको संकुचित माग र दर्शक नै प्रमुख कारण रहे ।
श्रीकृष्णले चलचित्र अभिनयमा रोनाधोना, नाचगान र महिलापात्रको पाटोमा पर्ने अवस्थितिको सहभार समेत आफूतिर तानेर महिला दर्शक र युवालाई आफ्नो लक्ष्य बनाए । तर, समयको फरक अवस्थितिमा निर्देशक चेतन कार्कीले रोल बढाइदिए जस्तो परमेश्वरले श्रीकृष्णको आयु बढाउन सकेनन् । ४७ वर्षको उमेरमा विवाहको एकमहीनापछि नै उनी भूमिका परिवर्तनमा गए ।
श्रीकृष्णको शवयात्रामा देखिएको भीडले एउटै कुरा प्रमाणित गर्छ– चलचित्रमा अभिनय गर्ने कलाकारको चाल–चरित्र समाजमूलक र प्रेरणादायी हुनुपर्छ जुन उनले एक भाइ भएर अग्रजप्रति, एक छोरा भएर आमाप्रति अनि एक प्रेमीका रुपमा प्रेमिकाप्रति दर्शाएका छन् । यो नै अहिलेको युवाले चलचित्र र साहित्यबाट सिक्न खोजेका हुन् जुन श्रीकृष्णमा पाए । हरेक दोस्रो नेपाली युवाले आफ्नो असफलतामा वा खोजमा रंगीन पर्दामा श्रीकृष्णलाई देख्थे । त्यसैले पनि शवयात्राका हरेक अनुहारमा श्रीकृष्णकै खोजी देखिन्थ्यो । यो नै उनको कलाको पहिचान थियो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट