अर्थ/बजारआइतबार, भाद्र १, २०७१

‘क्लिक’ ब्याङ्किङ

हिमालखबर

–रमेश कुमार

२०४४ सालमा कृषि विकास ब्याङ्कमा खाता खोलेका लेखक राजेन्द्र पराजुलीसँग प्रत्येक कारोबारमा एकाध घण्टा लाइनमा बसेको अनुभव छ। आफ्नै रकम निकाल्न समेत लाइन बसेर टोकन लिई कुर्नुपर्ने झन्झटलाई गल्ली–गल्लीसम्म विस्तारित एटीएम मेशीनले उहिलेको कथा बनाइसकेको छ। ब्याङ्किङ सेवा टोलटोलसम्मै आइपुग्दा वित्तीय कारोबारका लागि घन्टौं छुट्याउनु पनि नपर्ने भयो। ब्यालेन्स रिचार्ज गर्न होस् कि एउटा खाताबाट अर्कोमा रकम सार्न, अब मोबाइल चलाए पुग्ने भएको छ। सिद्धार्थ ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी भन्छन्, “क्लिक कारोबारले ब्याङ्किङमा अभूतपूर्व परिवर्तन ल्याएको छ।”

३० कात्तिक १९९४ मा तत्कालीन राजा त्रिभुवनले नेपाल ब्याङ्कको उद्घाटन गरेर नेपालमा ब्याङ्किङ कारोबार शुरू गरेका थिए। त्यसयताका ७७ वर्षमा ब्याङ्क तथा वित्तीय संस्थाले नेपाली सर्वसाधारणलाई ब्याङ्किङ सेवामा विविधताको ठूलो सम्भावना देखाएका छन्। आर्थिक उदारीकरण अपनाइएको पछिल्ला दुई दशकमा संख्यात्मक र गुणात्मक फड्को मार्ने थोरै क्षेत्रमध्ये ब्याङ्किङ मुख्य हो। अहिले ३० वाणिज्य, ८४ विकास ब्याङ्क, ५३ वित्त कम्पनी तथा ३७ वटा लघुवित्त ब्याङ्कले ब्याङ्किङ कारोबार गरिरहेका छन्।

शुरूका वर्षहरूमा सीमित व्यावसायिक क्षेत्रले मात्र सरोकार राख्ने ब्याङ्कले पछिल्ला वर्षहरू सेवा विस्तार मात्र होइन, सुविधा पनि थप्दै जाँदा गाउँ र देहातका जनता समेत ब्याङ्किङ कारोबारमा जोडिन थालेका छन्। अहिले १ करोड २५ लाख १५ हजार निक्षेप खाता र ९ लाख १९ हजार ऋणी छन्। यसले देशको एकतिहाई जनसंख्या ब्याङ्कसँग प्रत्यक्ष जोडिएको देखाउँछ। ब्याङ्क तथा वित्तीय संस्थाको शाखा संख्या तीन हजार ४३० पुगेको छ।

प्रविधिले सहज

किनमेल गर्न जाँदा एनबी ब्याङ्ककी मार्केटिङ हेड प्रतिभा लिम्बूको पर्समा आजकाल रकम हुँदैन। बजारको खरिदारीदेखि रेस्टुरेन्टसम्म कार्डबाटै काम चलाउँछिन्, उनी। यसले जीवनलाई ‘इजी’ बनाएको लिम्बूको अनुभव छ। अहिले उनी जस्ता ४० लाखले ‘प्लाष्टिक मनी’ भनिने कार्ड बोकेका छन्। गत वैशाखसम्ममा ३९ लाख ७५ हजार डेबिट कार्ड र ५५ हजार ५६४ क्रेडिट कार्ड जारी भएको राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाउँछ। आफ्नो खातामा भएको रकम खर्च गर्न मिल्ने डेबिट कार्ड र ब्याङ्कले पत्याएबमोजिम उधारोमा खर्च गर्न मिल्ने क्रेडिट कार्डबाटै भुक्तानी गर्न मिल्ने भएपछि धेरैलाई ‘प्लाष्टिक मनी’ सजिलो भएको छ।

कारोबारका लागि टोकन लिएर चेक भजाउनुपर्ने चलनलाई सर्वत्र खुलेका एटीएम मेशीनले विस्थापित गरिदिएपछि त्यस्तो शहरिया भेट्न मुश्किल पर्छ– जसको वालेटमा एक/दुई वटा ब्याङ्कको एटीएम कार्ड नभएको होस्। राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार, अहिले १६ हजार ७ वटा एटीएम मेशीन सञ्चालनमा छन्। नेपालमा पहिलो पटक हिमालयन ब्याङ्कले सन् १९९४ बाट एटीएम सेवा शुरू गरेको थियो। अब त रकम जम्मा गर्न मिल्ने क्यास डिपोजिट मेशीन समेत भित्रिसकेको छ। एभरेष्ट ब्याङ्कले काठमाडौंका पाँच स्थानमा राखेको यस्तो मेशीनमा ग्राहकले रु.१००, रु.५०० र रु.१००० दरका नोट (एक पटकमा ४० वटा) राखेर चाहेको खातामा जम्मा गर्न सक्छन्।

ग्राहकसँगको प्रत्यक्ष सम्पर्क विना नै विभिन्न यन्त्र र विद्युतीय उपकरण मार्फत उपलब्ध ई–ब्याङ्किङ सेवाले नेपालको ब्याङ्किङ सेवामा कायाकल्प नै भएको छ। ब्याङ्कहरूले विभिन्न किसिमका कार्ड, पर्सनल कम्प्युटर, मोबाइल, प्वाइन्ट अफ सेल मार्फत ई–सेवा दिइरहेका छन्। के गर्न मिल्दैन ई–ब्याङ्किङमा? कसैलाई आफ्नो खाताबाट तत्काल रकम पठाइदिनु छ? एउटा म्यासेज वा एक क्लिकका भरमा रकम ट्रान्सफर हुन्छ। मोबाइलमा ब्यालेन्स सकिए मोबाइलबाटै तुरुन्त रिचार्ज गर्न सकिन्छ।

इन्टरनेटको अनलाइन सपिङमा एक क्लिकमा डिपार्टमेन्ट स्टोर र सपिङ मलहरूबाट चाहिएको सामान घर आइपुग्छ। सिनेमा र हवाई टिकटदेखि स्कूल, विद्यालय, टेलिफोन, डिसहोमसम्मको शुल्क इन्टरनेट र मोबाइलबाट तिर्न सकिन्छ। कलेज, विद्यालय, पानी, टेलिफोन, इन्टरनेट आदिको शुल्क तिर्न ग्राहकले निश्चित अवधिपछि आफ्नो खाताबाट रकम जाने गरी अनुरोध गर्न वा आफैंले घरबाट इन्टरनेट मार्फत सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्छन्। आफ्नो खाताको रकम र पछिल्ला महीनाहरूको कारोबार मोबाइलबाट तत्काल हेर्न मिल्छ।

सबैजसो ब्याङ्कले उपलब्ध गराएको परिचयको आधारमा इन्टरनेट मार्फत कारोबार गर्न सकिने, एटीएम कारोबार, मोबाइल एसएमएस कारोबार र नियुक्त एजेन्टलाई उपलब्ध गराइएको प्वाइन्ट अफ सेल्स (पीओएस) मेशीन मार्फत कारोबार गर्न मिल्ने सुविधा दिएका छन्। केही जिल्लाका गाउँहरूमा रेमिट्यान्स वा वृद्धभत्ता लिन ब्याङ्कहरू उपयोगी भएका छन्। सरकारले सिटीजन्स लगायत विभिन्न वाणिज्य ब्याङ्कसँगको सहकार्यमा ग्रामीण क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरेको छ। सिटीजन्स ब्याङ्कका सूचनाप्रविधि प्रमुख संजीवकुमार श्रेष्ठका अनुसार, स्थानीय विकास मन्त्रालयसँगको सम्झौता अनुसार बाँके, सुर्खेत र बाग्लुङका गाउँमा शाखारहित ब्याङ्किङ मार्फत भत्ता वितरण गरिएको छ।

थुप्रै ब्याङ्कहरूले प्रविधि उपयोग गर्दै दुरदराजमा सेवा विस्तार गरिरहेका छन्। शाखा खोलेर कारोबार गर्न नसकिने स्थानहरूमा उनीहरूले पीओएस मेशीन मार्फत शाखारहित ब्याङ्किङ सेवा दिन थालेका छन्। जस्तो, सिद्धार्थ ब्याङ्कले दैलेख, डडेलधुरा लगायतका जिल्लामा शाखारहित ब्याङ्किङ सेवाका साथै बिजुलीको बिल लगायतका शुल्क तिर्न मिल्ने सुविधा र सरकारी छात्रवृत्ति वितरण गरिरहेको छ। ब्याङ्क अफ काठमाण्डूले पनि विभिन्न ग्रामीण क्षेत्रमा बीओके घर–आँगन सेवा भनेर शाखारहित ब्याङ्किङ सेवा दिइरहेको छ। यसले निक्षेप र कर्जा पनि दिन्छ। शाखारहित ब्याङ्किङले रेमिट्यान्स भुक्तानी, निक्षेप र रकम झिक्ने सुविधा दिन्छ।

मेगा ब्यांकले प्रविधिमा आधारित ‘हाई टेक’ ब्यांकिङको सुविधा दिइरहेको छ। एनबी ब्याङ्कले मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड सेवा, एबीबीएस (जुनसुकै शाखाबाट कारोबार गर्न मिल्ने) लगायतका सेवा दिएको छ। ब्याङ्कहरूले वैदेशिक रोजगारीमा जानेलाई अनलाइनबाटै खाता खोल्न र पठाएको रकम पनि सीधै जम्मा हुने सुविधा दिएका छन्। प्रविधि अपनाउन अग्रणि मानिने नबिल ब्याङ्कले भिसा, मास्टर, एससीटी कार्ड, इन्टरनेट ब्याङ्किङ मार्फत युटिलिटी पेमेन्ट, मोबाइल ब्याङ्किङ मार्फत सेवा दिइरहेको छ। सिटीजन्स ब्याङ्कले पनि मोबाइल र इन्टरनेट मार्फत एउटा ब्याङ्कको खाताबाट अर्कै ब्याङ्कमा रकम ट्रान्सफर गर्न मिल्नेदेखि युटिलिटी पेमेन्ट, अतिरिक्त सेवा लगायतका सुविधा दिइरहेको छ। स्ट्याण्डर्ड चार्टर्डले प्रविधिमा अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेको छ।

नयाँ–नयाँ प्रविधिको प्रयोगबाट ग्राहकलाई सुविधा नदिए ब्याङ्कलाई प्रतिस्पर्धामा टिक्नै गाह्रो हुन्छ। सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ ब्याङ्क

सिद्धार्थ ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत भण्डारी प्रविधिको प्रयोगबाट ग्राहकलाई सुविधा नदिए प्रतिस्पर्धामा टिक्न गाह्रो हुने बताउँछन्। उनका अनुसार जोखिम न्यूनीकरण र भोलुमबेस कारोबारका लागि प्रविधिको प्रयोग ब्याङ्कहरूको बाध्यता हो। त्यही कारण सबैजसो ब्याङ्कले इन्टरनेट, मोबाइल र एसएमएस ब्याङ्किङ सेवा दिन थालेका छन्। ब्याङ्कहरूबीच अतिरिक्त सेवाको होड नै चलेको छ। यसक्रममा एभरेष्ट ब्याङ्कले छिट्टै क्रेडिट कार्ड जारी गर्दैछ, हिमालयनले मोबाइल ब्याङ्किङमा सुधार गर्दैछ भने एनबी ब्याङ्कले भिसा कार्ड सार्वजनिक गर्दैछ।

राष्ट्र ब्याङ्कले आगामी कात्तिकदेखि म्याग्नेटिक इंक क्यारेक्टर रिकगनिसन (एमआईसीआर) चेक चलाउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। मेशीनले पढ्ने यो चेक आएपछि कारोबार र राफसाफ सजिलो सँगै सुरक्षित हुनेछ। एभरेष्ट ब्याङ्कका डेपुटी जनरल म्यानेजर एके वंशल देश भित्र र बाहिरको ई–ब्याङ्किङ सेवालाई अझ् परिष्कृत पार्न लागेको बताउँछन्।

सेवामा विविधता र चुनौती

व्यावसायिक कर्जामा केन्द्रित ब्याङ्कहरू अहिले उपभोक्ता कर्जामा ध्यान दिइरहेका छन्। पछिल्ला वर्षहरूमा घरजग्गा र गाडी किन्नेदेखि पढ्ने र व्यवसाय गर्नेसम्मको कर्जा बढेको छ। ऋणले सामाजिक सम्मान घटाउने बुझाइ हटेर ब्याङ्कले पत्याउँदा प्रतिष्ठा बढ्ने मान्यता स्थापित भएको छ। शहरमा घर बनाउन वा मोटर किन्न ब्याङ्कबाट ऋण झिकेर विस्तारै तिर्दै जाने चलन अब नौलो रहेन। मासिक किस्ता तिर्न सक्ने जो–कोही हिजोआज निजी गाडीमा गुड्न थालेका छन्।

हिमालयन लगायतका केही ब्याङ्कले त छोराछोरीको विवाह, भोजभतेर, भ्रमण र औषधिमूलोको सुविधा समेत दिन थालेको छ। एभरेष्ट लगायतका ब्याङ्कहरूले सानो र मझौला पूँजीले चल्ने कृषि, हस्तकला, व्यापार र सेवा क्षेत्रमा एसएमई कर्जा दिइरहेको छ। एभरेष्टका एके वंशल सामान्य उद्यमीको पहुँचमा पुर्‍याउने कडी भन्छन्, एसएमई कर्जालाई। राजनीतिक अवरोध, श्रम समस्या जस्ता कुराले कम असर पर्ने र ठूलो रकम डुब्ने जोखिम नहुने भएकोले ब्याङ्कहरूले सानो पूँजीका व्यवसायमा लगानी बढाएका छन्।

इन्टरनेट, मोबाइल र कार्ड मार्फत ग्राहकहरूलाई देशभित्र र बाहिर निःशुल्क दिइरहेको ई–ब्याङ्किङ सेवा अझ परिष्कृत पार्दैछौं। एके वंशल, डेपुटी जनरल म्यानेजर, एभरेष्ट ब्याङ्क

बढ्दो ब्याङ्किङ प्रतिस्पर्धाले उपभोक्तालाई छानी–छानी ‘प्रडक्ट’ उपभोगको मौका दिने नै भयो। निक्षेप र कर्जाका अनेकौं ‘प्रडक्ट’ ले उपभोक्तालाई लाभान्वित बनाएको छ। छनोटका अवसरले ग्राहकहरूलाई मोलमोलाइ गरेर कारोबार गर्ने बनाएको छ। यसले एकातिर ब्याङ्किङ संस्कार बढाएको छ भने अर्कातिर ब्याङ्कहरूमाथि सेवामा विविधता दिनुपर्ने चुनौती थपेको छ। ब्याङ्कहरूले ल्याएका बालबालिका, गृहिणी, विद्यार्थी, युवा, जागिरे, वृद्धवृद्धा लक्षित निक्षेपका अनेकौं ‘प्रडक्ट’ हेर्दा पनि त्यसको आकलन गर्न सकिन्छ।

ब्याङ्क अफ काठमाण्डूले किसान, वैदेशिक रोजगारीमा जाने, गृहिणी, उद्यमी महिलाका लागि छुट्टाछुट्टै ‘प्रडक्ट’ ल्याएको छ भने हिमालयनले बच्चादेखि वृद्धसम्म तथा पोखरा जस्ता विशेष क्षेत्रका लागि सेवा ल्याएको छ। कमाएको थोरै–थोरै रकम आफ्नै खातामा जम्मा हुने र चाहेको बेला सजिलै झिक्न मिल्ने भएपछि धेरै सर्वसाधारणलाई आर्थिक स्वायत्तता पनि मिलेको छ। चुस्त र व्यावसायिक ब्याङ्किङमा नाम कमाएको स्ट्याण्डर्ड चार्टर्डले पनि साना एसएमई कर्जादेखि ठूला व्यावसायिक कर्जा दिइरहेको छ। गरगहना, कागजात आदि महत्वपूर्ण वस्तु सुरक्षित राख्न ब्याङ्कको लकर सुविधा प्रयोग गर्नेहरू पनि बढेका छन्।

ब्याङ्कहरूका ‘प्रोडक्ट’ अझै सिर्जनशील र नवीन हुन नसकेको गुनासा पनि नभएका हैनन्। हुन पनि, सबैजसो ब्याङ्कका कर्जा र निक्षेपका प्रोडक्टहरू उस्तै–उस्तै हुने गरेका छन् भने देशको दुईतिहाइ सर्वसाधारणमा ब्याङ्क पुग्नै बाँकी छ। अर्कातिर, प्रविधि प्रयोगमा जोखिम पनि उत्तिकै छ। ग्राहकहरू विद्युतीय कारोबारको संवेदनशीलताप्रति हुनुपर्ने जति सचेत छैनन्। कतिपय ब्याङ्क र वित्तीय संस्थाले जारी गरेका एटीएम कार्डबाट तेस्रो व्यक्तिले सर्वसाधारणको खाताबाट रकम झिकेको घटना दोहोरिएका छन्। नबिल र हिमालयन ब्याङ्कले अहिले नयाँ कार्डको व्यवस्था गरेका छन्, तर जानकारहरू प्रविधिको जोखिम सधैं रहने भएकोले अनुगमनको राम्रो व्यवस्था हुनुपर्ने बताउँछन्।

सर्वसाधारणले क्रमशः प्रविधि बुझ्दै गए पनि यसप्रति विश्वास गर्नेको संख्या अपेक्षित रूपमा बढेको छैन। जस्तो, एभरेष्ट ब्याङ्कले काठमाडौंमा राखेको पाँच वटा क्यास डिपोजिट मेशीनमा दैनिक २५ वटा मात्र कारोबार भइरहेको छ। सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र रेस्टुरेन्टहरूमा पीओएस मेशीनमा छिराएर कार्ड मार्फत पैसा तिर्न मिल्ने सुविधा भए पनि धेरैले नगदै भुक्तानी गर्छन्। नबिल ब्याङ्कका कार्ड तथा ई–ब्याङ्किङ शाखा प्रमुख निरज शर्मा केही ब्याङ्कले बजारमा पीओएस मेशीन थपिरहे पनि बढी कारोबार नगदमै भइरहेको बताउँछन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>