थप समाचारसोमबार, भाद्र २, २०७१

कोलिफर्मका कारण पाल्पामा झाडापखाला फैलिएको पुष्टी

हिमालखबर

देब पचभैया, पाल्पा

तस्वीरः देब पचभैया

कोलिफर्म जीवाणु रहेको पानी पिउनाले पाल्पाको सिद्धेश्वरको असारे गाउँमा झाडापखाला फैलिएको प्रमाणित भएको छ । खानेपानी तथा सरसफाई डिभिजन र स्वास्थ्य कार्यालयले गरेको खानेपानीको परीक्षणका क्रममा त्यहाँका स्थानीयले प्रयोग गरेको पानीमा अत्यधिक मात्रामा कोलिफर्म जीवाणु भेटिएको हो ।

सिद्धेश्वर–४ र ५ का डेढ सय घरधुरीले प्रयोग गर्ने पानीको मुहानको पानी परीक्षण गर्दा कोलिफर्म भेटिएको डिभिजन प्रमूख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । स्थानीय बासिन्दाले प्रयोग गर्ने तल्लो र माथिल्लो मुलमध्ये तल्लो मूलको पानीमा कोलिफर्म जीवाणु भेटिएको हो ।

सिद्धेश्वर ४ र ८ को सिमानामा पर्ने बर्गाम मूलबाट ल्याएको पानी गाउँलेले पिउनका लागि प्रयोग गर्छन् । एक साता अघिदेखि त्यहाँको पानी प्रयोग गर्दै आएका एक सय बढी स्थानीय बासिन्दा झाडावान्ताबाट बिरामी परेका थिए ।

सिद्धेश्वरको असारे गाउँमा झाडावान्ताको प्रकोप बढेपछि जिल्लाबाट गएको चिकित्सक सहितको आकश्मिक टोलीले क्याम्प बनाएर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको हो । जिल्लाको टोली २ भदौमा सदरमुकाम फर्किएको जिल्ला जनस्वास्थ्य कायालय पाल्पाले जनाएको छ ।

तीन/चार जनाबाट शुरु भएको झाडावान्ता गाउँका प्राय सबै बिरामी भएपछि उपस्वास्थ्य चौकी र सदरमुकाम तानसेनबाट गएको टोलीले एकसाता देखि उपचार गरेको थियो ।

कोलिफर्म भेटिएपछि खानेपानी कार्यालय र स्वास्थ्य कार्यालयले पानीमा जीवाणु मार्ने औषधी प्रयोग गरेर वा उमालेरमा त्यहाँको पानी पिउन सर्वसाधारणलाई भनेको छ । अन्य स्रोतको पानी पिउने सम्भावना नरहेका कारण भदौ र असोज महीनासम्म औषधी प्रयोग गरेर वा उमालेर त्यहाँको पानी प्रयोग गर्न सुझाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्माले जानकारी दिए ।

शर्माका अनुसार त्यहाँको पानीमा ६० प्रतिशत कोलिफर्म भेटिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>