थप समाचारमंगलबार, भाद्र ३, २०७१

जैविक विषादीबाट फाइदै फाइदा

हिमालखबर

–सुवास कार्की

भक्तपुर, वंशगोपालका किसान पुरुषोत्तम चगुठी (४७) को व्यस्तता बढेको छ। इलाम र पाँचथरका किसानलाई अलैंचीको फेद कुहिने समस्या हल गर्ने विधि सिकाएर आएलगत्तै उनलाई मिर्गौलिया, मोरङका किसानले भान्टाका बोट कुहिने रोग निदान गरिदिन त्यहाँ पुर्‍याए। झार मार्ने विषादीले बोटबिरुवाका मित्र जीव पनि मारेपछि शत्रु जीव बढेर अलैंचीका जरा सखाप हुन थालेको र बढी रासायनिक मल–विषादीका कारण भान्टा बिग्रेको चगुठी बताउँछन्।

पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा अलैंची मर्न थालेपछि थुप्रै उपचार गर्दा पनि नहुँदा किसानहरूले चगुठीलाई अन्तिम उपायको रूपमा लगेका थिए। त्यसलगत्तै मोरङ पुगेका चगुठीले बढी रासायनिक मल र विषादीका कारण भान्टामा चिचिला नै नलागेको देखे। “जैविक उपचार विधि सिकाइदिएपछि अलैंची सप्रिन थालेको छ र भान्टा पनि फल्न थाल्यो भन्ने सु–समाचार आएको छ”, चगुठी भन्छन्।

मिर्गाैलियामा उनले शत्रु जीवको चपेटामा परेको चैते धानको पनि दुई पटक भाटा हल्लाउँदा पुग्ने जैविक उपचार विधि सिकाए। चगुठीका अनुसार, धानका बोटहरूमा भाटा चलाउँदा शत्रु जीव र तिनका अण्डा र्झ्छन्। यो उपचार विधि अपनाउँदा शत्रु जीवका गुँड तहसनहस भएर धान फल्छ।

किसानका रैथाने गुरु

नेपाली किसान बालीमा रोग लाग्दा पहिले यस्तै परम्परागत विधि अपनाउँथे, जैविक विषादी चलाउँथे। अहिले भने बालीमा जे समस्या आए पनि रासायनिक विषादीको पछाडि दौडने चलन बढेको छ। वातावरणीय तथा भौगोलिक अनुकूलताका उपचार विधि र जैविक विषादी किसानसँग नभएको होइन। तर, पछिल्लो समय आयातीत विषादीले किसानलाई अल्छी बनाएको चगुठीको अनुभव छ।

जैविक विषादीबारे परम्परागत पहल गरिरहेका चगुठीले गत वर्ष पाँचखालमा एक जना किसानलाई आफ्नै निगरानीमा तीन रोपनीमा आलु रोप्न लगाए। रासायनिक मल र विषादी सहितको आलु खेती गर्दा रु.४ हजार लाग्ने त्यति जमीनमा ती किसानले जैविक विधि अपनाउँदा रु.२२०० मा काम सके। त्यसरी पनि ३० क्वीन्टल आलु फल्दा ती किसान चकित परेको चगुठी बताउँछन्। बाली विज्ञानबारे औपचारिक अध्ययन नगरेका उनी यसरी किसानका भरपर्दा विज्ञ बनेका छन्। रासायनिक मल–विषादीको प्रयोगले चिन्तित थुप्रै किसान चगुठीको जैविक विधिबाट लाभान्वित भएका छन्।

उता, कास्की टुटुङ्गाकी माया केसी (४८) पनि परम्परागत कृषि ज्ञानमा कुनै वैज्ञानिकभन्दा कम छैनन्। उनीसँग माटोको रोग निको पार्ने बेजोड ज्ञान छ। उनले बनाएको उर्वराशक्ति बढाउने ‘जीवामृत’ नामको जैविक समिश्रणबारे जानकारी लिन थुप्रै किसान टुटुङ्गा पुग्छन्। केसीको जीवामृत विधि (हे.बक्स) बाट धेरै कृषक लाभान्वित भएका छन्।

विकासे मल–विषादीले मारेको माटोमा जीवन फर्काउने यो ‘जीवामृत’ का थुप्रै फाइदा छन्। “माटो र बाली विज्ञानका सैद्धान्तिक कुरा मैले कृषि विज्ञहरूबाट पनि सिकें” केसी भन्छिन्, “तर, उनीहरूको भनाइमा हाम्रो परम्परागत जोडेर सफल भएँ।”

विषबाट विनाश

पुरुषोत्तम चगुठी र माया केसी जस्ता माटोको उर्वराशक्ति बढाउने र बालीको रोग हटाउने मौलिक विधि जानेका किसानका गुरुहरू देशभर कैयौं होलान्, तर तिनको ज्ञानको प्रयोग तथा प्रसार भने कमै भएको छ। सरकारले विषादीको आयात घटाउन भन्दै अनेक कार्यक्रम चलाए पनि मौलिक ज्ञान भएका किसानहरूसँग समन्वय गरेको छैन। चगुठी आयातीत विषादीहरूलाई तितेपाती, सक्खर, असुरो, खरानी लगायतको प्रयोगबाट विस्थापित गर्न सकिने बताउँछन्। “गाउँघरमा सहजै पाइने यस्ता चिजले मात्रा ठीक भए विषादीको काम गर्छ, भएनछ भने पनि मलको काम गर्छ, विनाश गर्दैन”, चगुठी भन्छन्।

सरकारले विषादीको आयात घटाउँदै लैजाने भने पनि २०६७/६८ मा २५० टन आयात भएको विषादी २०६८/६९ मा बढेर ३१० टन पुग्यो। २०६९/७० मा ३४५ टन विषादी आयात भएको बाली संरक्षण निर्देशनालयको तथ्यांकले देखाउँछ। खुला सिमानाबाट भित्रिरहेका प्रतिबन्धित लगायतका विषादीहरू सरकारी तथ्यांकमा समेटिएको छैन। बाली संरक्षण निर्देशनालयकै अध्ययनले देशमा प्रतिबन्धित तथा घातक विषादीको प्रयोग भइरहेको देखाउँछ। सरकारले खेतीपातीमा जैविक पद्धतिमा जोड दिने भन्दै २०५४ सालदेखि शुरू गरेको एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रम (आईपीएम) असफल भएको यसले प्रष्ट पार्छ।

रासायनिक विषादीको जगजगी बढेको बेला किसानसँग भएका बाली, माटो र वातावरण बचाउने जैविक विषादी सम्बन्धी ज्ञानको प्रवर्द्धन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ। यसबाट एकातिर हानिकारक विषादीको प्रयोग घटेर माटो, बाली र समग्र वातावरण नै जोगिन्छ भने अर्कोतिर विषादीका लागि विदेशिने ठूलो धनराशी बच्ने देखिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...