टिप्पणीबुधबार, भाद्र ४, २०७१

चीनबारे रहेको भ्रम

टीकाराम राई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकिएको दुई सातापछि पनि त्यसबारे सकारात्मक चर्चा चलिरहेकै छ। नेपालमा अहिले सेलिब्रेटी झैं बनेका मोदी भ्रमणलाई लिएर चीन र भारतबीचको सम्बन्धबारे पनि चर्चा हुन थालेका छन्।

हुन त, मोदीले नेपालमा चीनबारे एकशब्द पनि बोलेनन्। तर त्यो भ्रमणको प्रभाव चीनको भारत नीतिमा पर्ने अनुमान लगाइँदैछ। नेपालमा चीनको गतिविधि सीमित गर्न मोदीले नेपालको विकासमा सहयोगी हुने चर्को प्रतिबद्धता व्यक्त गरेका हुन् भन्ने तर्क पनि गरिएको छ। तर, त्यस्ता अनुमान र तर्कहरू नेपाल र भारतबारे अहिलेको चीन नीति नबुझनेहरूले गरेका हुन्। उनीहरू सन् १९६२ को भारत–चीन युद्धताकाका भारतीय रक्षामन्त्री आर.के. मेननको विचारबाट प्रभावितहरू हुन्।

चीनको अर्थतन्त्र विश्वकै दोस्रो (अमेरिकीपछि) ठूलो हो। मे २०१२ मा चीनको विदेश नीतिबारे यो पंक्तिकारले पनि बेइजिङ्ग कुन्मिङ्गमा विभिन्न प्रवचन सुन्ने अवसर प्राप्त गरेको थियो। चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक सिओङ्ग फियोङ्गले वर्तमान चिनियाँ विदेश नीति शान्तिपूर्ण विकास र विश्व वन्धुत्वमा आधारित रहेको बताएका थिए। वर्तमान सफलता, विगत तथा युद्धको अनुभवको फ्यूजनबाट वर्तमान विदेश नीति बनाइएको प्राध्यापक सियोङ्गको भनाइ थियो।

आफ्नो पुस्तक ‘रिओरिन्ट’ मा ए.जी फ्रङ्कले बेलायती साम्राज्यको उदय हुनुअघि चीन र भारत शक्तिशाली र समृद्ध रहेको बताएका छन्। पछि भारत बेलायती साम्राज्यका मातहतमा पुग्यो भने चीन छोटे महाराजहरूबीचको झ्गडाले कमजोर बन्यो। सन् १८४० को अफिम युद्ध, १८५८ को बेलायत र फ्रान्स विरुद्धको युद्ध, १९३७–४५ को जापानी अतिक्रमण, १९५० को कोरियाली युद्ध र १९६० देखि १९७० सम्मको सांस्कृतिक क्रान्तिले चीनलाई थला पारेको थियो। तर, ती युद्धका अनुभवले चीनलाई द्वन्द्वको साटो स्थिरता र विश्व भाइचाराको बाटोमा पुर्‍याउन सघाएको चिनियाँ संस्थापनमा रहेका अन्तर्राष्ट्रिय वेत्ताहरू बताउँछन्।

चीनको पछिल्लो समृद्धि सन् १९७८ मा देङ्ग सियाओ पेङ्गको शासनपछि शुरू भयो। देङ्गले खुला बजार अर्थतन्त्र मार्फत चीनलाई विश्व बजारमा प्रवेश गराए। सन् २०१४ को मार्चसम्ममा चीनको विदेशी मुद्रा मौज्दात ४० खर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ भने अमेरिकाको विदेशी मुद्रा मौज्दात १ खर्ब ४४ अर्ब डलर मात्र छ। त्यसैगरी सन् २०१४ अप्रिलसम्ममा चीनले १७७ खर्ब अमेरिकी डलर बराबरको अमेरिकी सरकारको ट्रेजरी वोण्ड खरीद गरेको छ। चीनको यो समृद्धि अन्तर्राष्ट्रिय भाइचारा अवधारणाबाट निर्देशित विदेश नीतिबाट प्राप्त भएको युनान विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्।

सन् २०१३ मा चीन र भारतबीचको व्यापार ६५.४७ अर्ब डलर पुगेको छ। सन् २०१५ सम्ममा यो व्यापारलाई १ खर्ब अमेरिकी डलर पुर्‍याउने दुवै देशको लक्ष्य छ। यस्तो अवस्थामा भारतले नेपाललाई एक–दुई परियोजना सहयोग गर्दैमा चीन र भारतबीचको सम्बन्ध खराब कसरी हुन्छ?

चीनमा नेपालभन्दा भारत बढी परिचित छ। चीनको औद्योगिक नगरी सांघाइमा थुप्रै भारतीय छन्। वेइजिङ्ग, कुन्मिङ्ग, सियान, हाङ्जोमा भारतीय रेस्टुराँहरू छन्। बलिउड चलचित्र पनि चिनियाँ युवाहरूबीच परिचित छ। गत मे महीनामा आयोजित कुन्मिङ्ग दोस्रो दक्षिण एशियाली व्यापारिक मेलामा नेपाली भन्दा भारतीय स्टलहरू धेरै थिए। थुप्रै भारतीय पर्यटक चीन गइरहेका छन्।

चीनले दक्षिणी शहर कुन्मिङ्ग र कलकत्ता जोड्ने तीन हजार कि.मी. लामो राजमार्ग निर्माण गर्ने प्रस्ताव भारतसँग राखेको छ। यो राजमार्गले बंगलादेशको चटगाउँ र म्यानमारको मनडालङ्गलाई छुनेछ। वर्तमान चिनियाँ प्रधानमन्त्री ली केच्याङले नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ टेलिफोनबाट बधाई दिंदै यो राजमार्ग बारे पनि कुरा उठाएका थिए। यो सार्वजनिक भएपछि बंगलादेश र म्यानमार निकै उत्साहित बनेका छन्। यो राजमार्ग बनेपछि नेपाल पनि लाभान्वित हुनेछ। नेपालबाट चीनको ग्वान्झाउ भन्दा कुन्मिङ्ग धेरै नजिक पर्छ।

चीन र भारत दुवै उदीयमान विश्व शक्ति हुन्। यी देशको उदयबाट नेपालको समृद्धिमा बल पुग्छ। तर त्यसका लागि नेपालले पनि व्यापक तयारी गर्नुपर्छ। सृजनशील र प्रतिभाशाली कूटनीतिज्ञहरू निर्माण गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने, भारत–चीन अध्ययन केन्द्रहरू स्थापना गरी अनुसन्धान गर्न लगाउने गर्नुपर्छ। यसका लागि सरकारले मन खोलेर लगानी गर्नुपर्छ। कूटनीतिक क्षेत्र पनि अप्रत्यक्ष रूपमा उत्पादनशील क्षेत्र हो भन्नेमा सरकार स्पष्ट हुनुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>