खेलकुदबुधबार, भाद्र ४, २०७१
नेपाललाई एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि
एसीसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेलमा मलेशियालाई ३२ रनले हराउँदै नेपालले ऐतिहासिक जीत हासिल गरेको हो । ४ भदौमा हात पारेको एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले पहिलोपटक जितेको हो ।
मलेशियाको किन्रारा ओभल मैदानमा नेपालले दिएको १६२ रनको लक्ष्य पछ्याएको मलेशिया ३६.२ ओभरमा अलआउट हुँदै १२९ रनमा समेटियो । मलेशियन ब्याट्सम्यानलाई कमजोर पार्ने क्रममा नेपालका जीतेन्द्र सिंह र अनिल खरेलले खतरनाक बलिङ गरे ।
अनिल खरेलले ३ र जीतेन्द्र सिंहले २ विकेट लिए । रिजन ढकाल र आशिष पोखरेलले एक–एक विकेट लिए । मलेशियाका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।
नेपालका लागि ‘म्यान अफ दी म्याच’ पवन सर्राफले सर्वाधिक ४४ रन जोडे । उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए ।
रवि चन्दले ३४, अशिफ शेखले २०, जीतेन्द्र सिंहले ९ र प्रनित थापाले ८ रन बनाए ।
मलेशियालाई गतिलो बदला
एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधिसँगै नेपालले अघिल्लो संस्करणको हारको बदला पनि लिएको छ । दुई वर्ष अघि मलेशियाले फाइनलमा हराउँदै नेपाललाई उपाधिबाट बञ्चित गरेको थियो ।
सन् २०१० मा भएको प्रतियोगितामा पनि नेपाल उपविजेता मात्र बनेको थियो । यो जीतसँगै नेपालले एसीसीमा उमेरस्तरका सबै प्रतियोगिताको उपाधिमा हात पारेको छ ।
राउण्डरोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले मलेशियासँगै बहराइन, थाइल्यान्ड, सिंगापुर र ओमानलाई पनि हरायो । प्रतियोगितामा ६ टीम सहभागी थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
