टिप्पणीबिहीबार, भाद्र ५, २०७१

स्तनपानले फाइदै फाइदा

डा. सुमनराज ताम्राकार

प्राकृतिक कुरा भएकोले स्तनपान झन्झटिलो हुँदैन। नवजात शिशुले सजिलै पचाउन सक्ने आमाको दूधमा विभिन्न किसिमका सरुवा रोगसँग लड्न सक्ने शक्ति हुन्छ। स्तनपानले बालबच्चाको दिसा गिलो बनाउने, एलर्जीको डर नहुने र मातृस्नेह बढाउने काम गरिरहेको हुन्छ। आमाको दूध खान पाएका शिशुमा चाक राताम्य हुने गरी पाक्ने, खटिरा आउने, झाडापखाला लाग्ने र छालाको एलर्जी हुने सम्भावना कम हुन्छ। यसको अलावा स्तनपान गराइएका शिशुमा पछि मोटोपना, मधुमेह हुने र एक्कासी मृत्यु हुने ‘सिन्ड्रोम’ पनि कम पाइएको छ। शिशुकालमा पर्याप्त मात्रामा आमाको दूध खाएका मानिसमा गिदीको राम्रो विकास हुने, सुन्ने, हेर्ने, सिक्ने क्षमता बढी हुने र उच्चस्तरको स्मरण क्षमता पनि हुने गरेको पाइएको छ।

प्रोटिनमा सजिलै पच्ने ल्याक्टल्बुमिन र ल्याक्टोग्लोबुलिन नामक तत्व हुने आमाको दूधमा चिल्लो पदार्थ पनि स–साना आकारका हुन्छन्। कार्बोहाइड्रेटमा पनि बढ्ता अंश ल्याक्टोजको हुन्छ, जसले लाभदायक सूक्ष्म जीवाणुको वृद्धि गराई भिटामिन ‘बी’ उत्पादन गर्न मद्दत गर्छ।

आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम र क्लोराइड लगायतका लवण सही मात्रामा हुने भएकोले शिशुको अपरिपक्व मिर्गाैलालाई कुनै बोझ् पर्दैन। आमाको दूधमा भिटामिन ‘डी’ हुने भएकोले बच्चालाई रिकेट्सबाट पनि बचाउँछ। त्यसैगरी ल्याक्टोफेरिन, लाइसोजाइम, ल्याक्टोपेरोअक्सिडेजले पाचन प्रणालीको संक्रमण टार्छ। आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याटी एसिड हुन्छ। यसले विभिन्न प्रकारका सरुवा रोगसँग लड्न सक्ने क्षमता दिलाउँछ। शिशु स्वास्थ्यका लागि आमाहरूले कम्तीमा ६ महीनासम्म नियमित स्तनपान गराउनुपर्छ।

नेपालमा वर्षेनि करीब ७ लाख शिशु जन्मन्छन् भने पाँच वर्षभित्रमा तीमध्ये ५७ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक पाइन्छ। नेपालमा करीब ५४ प्रतिशत शिशु जन्मेको एक महीनाभित्र मर्ने गरेका छन्। जन्मेको एक घन्टाभित्र स्तनपान गराएको खण्डमा करीब २२ प्रतिशत शिशु मृत्युदर रोक्न सकिन्छ।

पछिल्लो जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार, नेपालमा ६ महीनासम्म स्तनपान गराउने महिलाको संख्या ७० प्रतिशत छ भने शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या करीब ४५ प्रतिशत। ८५ प्रतिशत सुत्केरीले २४ घन्टाभित्र स्तनपान गराउने गरेको तथ्यांकले देखाउँछ। शहरी क्षेत्रका कामकाजी महिलाहरूमा यो प्रतिशत न्यून भए पनि ९९ प्रतिशत आमाले आफ्नो जीवनकालमा एक न एक पटक स्तनपान गराएकै हुन्छन्।

स्तनपानको फाइदै फाइदा छ। प्राकृतिक परिवार नियोजनको साधनको काम गर्ने स्तनपान गराउँदा सुत्केरीको पाठेघर खुम्चिन मद्दत पुग्छ भने पछि स्तन र पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि घटाउँछ।

कृत्रिम आहारमा होशियारी

सुत्केरी आमामा एक्कासी भाइरल संक्रमण भयो या स्तनको मुन्टो चर्किने, स्तन सुन्निने वा पाक्ने जस्ता समस्या आएको खण्डमा बच्चालाई कृत्रिम प्रकारको दूध दिनुपर्ने हुन्छ। निकै कम तौल भएका, श्वासप्रश्वास सम्बन्धी जटिल समस्या भएका तथा अन्य संक्रमणका कारण दूध चुस्नै नसक्ने अवस्थाका बच्चाहरूलाई पनि कृत्रिम आहार दिनुपर्छ।

सुत्केरी आमालाई कडा प्रकारको मुटुको समस्या, सक्रिय क्षयरोग, गम्भीर खालको मानसिक समस्या, एचआईभी संक्रमण, छारे रोग, थाइराइड छ अथवा क्यान्सरको उपचार भइरहेको अवस्था छ वा बच्चामा खुँडेपन वा दूध पचाउन नसक्ने ग्यालेक्टोसेमियाको समस्या भएको अवस्थामा पनि कृत्रिम आहाराको सहारा लिनुपर्ने हुन्छ।

आमाको दूधको कुनै राम्रो विकल्प नै नभएको अवस्थामा कृत्रिम आहार (सिसीको दूध) खुवाउँदा बच्चालाई झाडापखाला गराउने वा कब्जियत गराउने हुनसक्छ। यद्यपि, नयाँ उपाय निर्विकल्प भएको अवस्थामा गाई–भैंसी वा बाख्राको पानी मिसाइएको दूध, अनेक किसिमका सुक्खा दूधका फर्मूलाहरूलाई स्तनपानको विकल्पको रूपमा लिइन्छ। यीमध्ये गाईको दूध खुवाउने चलन बढी छ, जसमा आमाको दूधमा पाइने ल्याक्टोज, प्रोटिन र सोडियम निकै कम हुन्छ। त्यस्तो दूध खुवाउनै पर्ने अवस्थामा सिसीभन्दा पनि कचौरा र चम्चाको प्रयोग बढी उपयुक्त हो। दूध खुवाउन प्रयोग गरिएका सबै भाँडाकुँडा खुवाउनुअघि र पछि राम्ररी उमालेको पानीले पखाल्नुपर्दछ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...