ब्लगशुक्रबार, भाद्र ६, २०७१

कोक्रो हरायो, लोरी हरायो

bulu mukarung

रातको सुनसान गाउँ–बस्तीहरूमा लोकलोरी भाका सुनिन्थे, निष्पत्ति हुन्थे। लोरी भाकाको उठान बाबुनानी सुताउँदा मात्र होइन, ढिकी–जाँतो गर्दा पनि हुन्थे। ती लोकलोरी, लोकगीत भएर लोकजीवनमा विस्तारित हुन्थे। अहिले त गाउँघरमै पनि हिजोका ढिकी–जाँतो, पानीघट्ट र कुटानी–पिसानी मीलमा रूपान्तरित भएका छन्। युवा पुस्ता लोरी लोकभाकाप्रति अनभिज्ञ हुन पुगेका छन्।

गाउँघरमा बालबालिका खेलाउन कोक्रो प्रयोग गरिन्थ्यो। तस्वीरः नेपालजापानडटकन

लोकगीतका विविध लय, भाका वा तरज र बुनोट–बनावट लोकजीवनका अमूल्य उत्पादन हुन्। लोक भनेको ग्रामीण जनजीवन, गाउँ–बस्ती, भौतिक परिवेश वा समाज हो। यही लोकबाट लोकगीतका लोकलय–लर्का, भाका र तराना निस्किन्छन्, जसलाई लोरी–लय वा लोकविरह पनि भन्न सकिन्छ। यस्ता लय–भाका पिंढी दरपिंढी परिष्कृत हुँदै आएको हुन्छ। समाजले यसलाई अस्पृश्य (इन्टान्जिबल) रूपमा अँगालेको हुन्छ। नेपाली समाजले निष्पात गरेको यो आफ्नो लोकलय–सम्पदा अहिले विस्मृति क्षितिजमाथि देखिन्छ।

समयको निर्मम चपेटा

नेपाली गीत–गायनमा कहिलेदेखि लोरी वा बालगीत गाउन थालियो भन्ने अनुत्तरित छ। गाउँघरमा भने आमाहरूले लोरी गाउने पुरानो लोकसंस्कृति थियो। यो प्रचलन नेपालमा मात्र सीमित छैन। लोरी लयले काखमा भुल्ने उमेरका नानीबाबुलाई रागात्मक आनन्द दिन्छ र मधुर ध्वनिको प्रभावले निदारीमा पुर्‍याउँछ। तर, गाउँघरमा नानी सुताउने कोक्रो त के घाँस–दाउरा गरिने डोको–नाम्लो नै हराएपछि लोरी लोकगायन बाँकी रहने कुरै भएन। नेपाली समाज आधुनिक बन्दै गएसँगै आधुनिक कोक्रोहरू पाइन थाले, आमाहरूले लोरी गाउनु परेन। यसरी लोरी आधुनिकताको निर्मम चपेटामा पर्‍यो।

मकै पिंधी मल्खु, मकै पिंधी मल्खु
निन्द्रा मलाई लाग्यो कसको काख ढल्कुँ।

यो लोकगीत लोरी भाकाबाट विकसित हुँदै नेपाली लोकजीवनमा स्थापित भएको भाका हो। मल्खु भनेको मकैको च्याँख्ला हो, जसलाई ‘आधुनिक’ नेपालीहरू ‘ग्रिट्स’ भन्छन्। गाउँघरमै पनि मादल बाँध्नुलाई ‘मादल बनाउने’ भन्न थालेका छन्। यसरी लोकशब्दहरू पनि विलुप्त हुँदैछन् र समयकालमा परिमार्जित–परिवर्तित हुनुपर्ने लोरी–लोकगीत हराएको छ।

प्रत्यक्ष–अप्रत्यक्ष सांस्कृतिक क्षयीकरण वा खलल (कल्चरल इरोजन) भित्री–बाहिरी दुवै भाग–भूगोल (भौतिक–अभौतिक) बाट भइरहेको छ। यसको मूल कारण द्रुतत्तर आधुनिकता वरण र बदलिंदो नेपालको सामाजिक रूप–स्वरूप हो। आधुनिकता नेपाली समाजको रहर र कर दुवै भएको छ। र, यो रहर वा करले लोरी, बालन, सँगिनी, रत्यौली लगायतका अमूल्य सांस्कृतिक सम्पदाको दफनबाट मूल्य चुकाइरहेको छ।

लोरीबाट आएका केही लोकगीतका भाका तोडमोड (परिमार्जित?) गरिएका छन्। तोडमोड वा परिमार्जित भएर अर्कै लोकगीतको रुपमा रहनु चाहिं नराम्रो होइन, किनभने त्यो रह्यो। त्यसबाट लोरी लोकभाकाको मुहान–भँगाला पहिल्याउनेहरूलाई मद्दत पुग्छ। लेख्य प्रचलनमा नरहेको लोरीलाई लोकसंस्कृतिका अध्येताहरूले लिपिबद्ध गर्ने प्रयासमा छन्, तर यसबाट लोकभाषासम्म जोगिन्छ, भाका–लय रहँदैन।

लोकसंस्कृतिको अध्ययन, खोजी वा मानवशास्त्रीय अनुसन्धानमा केही संस्थागत प्रयास भए पनि त्यो पर्याप्त नहुँदा बालन, सँगिनी, रत्यौली जस्ता अमूल्य लोकभाका–सम्पदा अनि अरु अनेकन् अभौतिक, अमूर्त वा अस्पृश्य लोकसंस्कृतिहरू अनभिज्ञताको गर्तमा हराउँदै छन्।

लोकप्रिय लोरी

कुनै बेला रेडियो नेपालले बालगीत भनेर केही लोरी भाका प्रसारणमा ल्याउँथ्यो। तीमध्ये केही लोकलयमै भए पनि प्रायः परिमार्जित थिए। लोरी भाकाका लोकगीतहरू वर्गीकरण गरिएका थिएनन्। वर्गीकरण नगरिएकोले रेडियोसँग कति लोरी गीत छन् भनेर जान्न सकिएन।

आइज निदरी आइज हो हो बाबा हो हो…।

२०२९–३० तिर रेडियो नेपालले प्रसारण गरेका चर्चित लोरी (बालगीत) हरूमध्ये अहिले विस्मृत गायक कलानाथ अधिकारीको स्वरमा रेकर्ड भएको यो गीत निकै लोकप्रिय थियो। अहिले त यो लगायतका लोरी कतै बजेको सुनिंदैन। नेपालभर ३०० भन्दा बढी एफएम रेडियो संचालनमा छन्, तर तीमध्ये कुनैले लोरी लोक वा बालगीत वा त्यसप्रकारका गीतहरू बजाउँदैनन्। यो उदासीनता पूँजीसँग पनि जोडिएको छ। संस्कृतिको क्षयीकरण र स्खलन यहींबाट शुरु भएको छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...