समाचारशुक्रबार, आश्विन १२, २०६९
आफन्त गुमाउनेहरुको पीडा
दुर्घटनामा निधन भएकी बनेपा निवासी २५ वर्षीया विमान परिचारिका रुजा शाक्यले ६ महिना पहिले काम शुरु गरेकी थिइन् । “विहान ५ बजे ‘गएँ है फुपु’ भन्दै हिंडेकी अब कहिल्यै नर्फकने भई,” रुजाकी फुपु मिनाले विलाप गर्दै भनिन्, “पढ्नलाई पनि तेज र ज्ञानी थिई ।” रुजा बनेपाकै सिर्द्धार्थ कलेजमा स्नातक तेस्रो बर्षमा अध्ययन पनि गर्दै थिइन् ।
त्यस्तै दुर्घटनामा परेका काठमाडौं मानभवनका अन्दाजी ३४ वर्षीय दिपेन राईकी श्रीमती घरीघरी बेहोस भइरहेकी छिन् । राई ‘एक्सप्लोरर वर्ल्ड वाइड’मा टुर अपरेटरको काम गर्थे । उनी पर्यटकहरु लिएर लुक्ला हिंडेका थिए ।
सस्तोमा टिकट नपाउँदा पतिभन्दा एकदिन पछिमात्रै घर लुक्ला जान लागेकी मदन कुमारी तामाङ्को पनि दुर्घटनामा निधन भएको छ । हिजोमात्रै लुक्ला गएर आज पत्निलाई पर्खिरहेका कृष्णबहादुर तामाङ् फेरि काठमाडौं फर्किएका छन् । “राम्रोसँग पढ्नु भनेर आमा एयरपोर्ट भित्र पस्नु भएको थियो,” छोरा लक्की तामाङ्ले भने ।
त्यस्तै दुर्घटनामा मृत्यु भएका नुवाकोट तुप्चे गाविसका को-पाइलट थाकेसी थापाका आफन्त नुवाकोटबाट आउँदै गरेका बाबुआमालाई पर्खिरहेका थिए । फिलिपिन्सबाट पाइलट तालिम गरेका थापाले पछि जापानमा पनि तालिम लिएको उनका छिमेकी कुवेरबहादुर पुडासैनीले वताए ।
विमानका चालक विजय तण्डुकारका आफन्तहरु पनि शोक विहृवल अवस्थामा थिए । शोकमा डुबेका उनीहरुलाई बोल्न पनि धौ धौ थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
