टिप्पणीआइतबार, भाद्र ८, २०७१
बाढी र सुक्खाको चेपाइमा धान रोपाइँ
बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक प्रकोपले एकातिर वर्षेनि हजारौं हेक्टर धान लगाउने खेत प्रभावित हुने गरेको छ भने अर्कोतिर प्रकोपबाट असर नपुग्ने खेतमा भएका नहर, कुलोमा पानी नआउने अनि वर्षात्ले जलमग्न भएको बेला नहरमा पानी छाड्ने चलन पहिलेदेखि चलिआएको छ । यसरी चाहिंदा कुलो, नहरमा पानी नआउँदा र प्राकृतिक प्रकोपका कारण धान उत्पादनमा तल–माथि हुने गरेको छ ।
सन् २०१०/११ र २०११/१२ मा प्रकोपबाट न्यून क्षति भएको र २००५/०६ मा एक लाख ३० हजार हेक्टर खेत कतै बाढी–पहिरो त कतै सुक्खाका कारण प्रभावित भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । बाढी–पहिरो र सुक्खाले यसरी असर गरे पनि यही कारणबाट समग्र उत्पादन त्यति धेरै घटेको देखिंदैन । यो वर्ष भने २८ साउनसम्ममा देशका ८१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । गत वर्ष ठीक यसैबेला ९७ प्रतिशत र त्यसभन्दा अघिल्लो वर्ष ९१ प्रतिशत खेतमा रोपाइँ भएको तथ्याङ्कले बताउँछ ।
भनेको बेला सिंचाइ हुने ठाउँमा वर्षमा दुई पटक धान लगाइन्छ । तथ्याङ्क अनुसार, नेपालको १७ लाख ६६ हजार हेक्टरमा सिंचाइ हुन सक्छ । त्यसमध्ये अहिलेसम्म १३ लाख ३१ हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको छ । यसको अर्थ, सिंचाइ सम्भावना भएको जग्गामध्ये ७५ प्रतिशतमा पानीको सुविधा पुगेको छ । यो हिसाबले सन् २०१३/१४ मा धान रोपिएको १४ लाख ८७ हजार हेक्टर खेतमध्ये सिंचित धानले ढाकेको क्षेत्रफल ६४ प्रतिशत (८ लाख ८३ हजार ८५८ हेक्टर) मात्र हुन आउँछ । बाँकी ३६ प्रतिशत खेत अझ्ै पनि आकाशे पानीमा निर्भर छ । यो ३६ प्रतिशत खेतलाई सिंचित क्षेत्र भनिए पनि मनसुन अनुकूल भए मात्र नहर वा कुलोमा पानी आउँछ ।
सामान्यतः नेपालको उच्च पहाडमा जेठ, मध्य पहाडमा असार र तराईमा साउनभित्र रोपाइँ गरिसक्नुपर्छ । यो वर्ष भने २८ साउनसम्म नेपालभरमा ८१ प्रतिशत मात्र रोपाइँ हुन सक्यो । सबभन्दा कम रोपाइँ हुनेमा तराईका महोत्तरी र सर्लाही जिल्ला छन् । यी जिल्लामा २८ साउनसम्म ४० प्रतिशत मात्र रोपाइँ भएको छ । महोत्तरीको ६० हजार ६४९ हेक्टर जग्गामध्ये ३७ हजार ५७७ हेक्टरमा सिंचाइ सुविधा पुगेको तथ्याङ्कले देखाउँछ, तर यो वर्ष १३ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । सर्लाहीको ७१ हजार १७३ हेक्टर जमीन सिंचित भनिए पनि १५ हजार ७४१ हेक्टरमा मात्र रोपाइँ भएको छ । यसले सिंचाइमा गरिएको लगानी कति उपलब्धिमूलक हुनसक्यो भन्ने देखाउँछ ।
महोत्तरी र सर्लाहीको उदाहरणले हाम्रो धान उत्पादन मौसममै निर्भर भएको देखाउँछ । जबकि, कृषि उत्पादन बढाउने र धेरै बाली लगाउने पूर्व शर्त सिंचाइ हो । अहिलेसम्म कति सिंचाइ पूर्वाधार तयार भइसके भन्ने चर्चा गर्दा पानीका भूमिगत स्रोतहरू पनि धमाधम सुक्दै गएको बिर्सन मिल्दैन । यो अवस्थामा बाह्रमासे पानी उपलब्ध गराउन ठूला नदीनालामा बाँध बनाउने काममा लगानी बढाउने र भूमिगत जलस्रोतको मितव्ययी उपयोग गर्ने विषय महत्वपूर्ण बन्न जान्छ । यसैगरी, प्राकृतिक प्रकोप न्यूनीकरणका लागि पहाड र चुरे क्षेत्रको संरक्षण तथा तराईमा नहर निर्माण–सुधार जस्ता दिगो आयोजनाहरूमा पनि ध्यान दिन सक्दा वर्षेनि हुने बाढी–विपत्ति र सुक्खाबाट जोगिन सकिन्थ्यो कि !
साप्ताहिक खबरपत्रिका हिमालबाट