थप समाचारसोमबार, भाद्र ९, २०७१
विपत्तिस्थलमा बिचल्ली (तस्वीरसहित)
–तुफान न्यौपाने, बगनाह (बर्दिया) मा
बगनाहस्थित चुरे उच्च माध्यमिक विद्यालय अहिले करीब ४०० बाढी पीडितको आश्रयस्थल बनेको छ । ३० साउनमा त्यहाँ १ हजार ३०० जना विस्थापित थिए । यो गाविसमा बाढी र डुबानमा परी ५७६ घर भत्किएका थिए ।
पेरवा चटुवा सामुदायिक वन उपभोक्ता समूहले विस्थापितलाई सञ्चालन गरेको ‘मेस’ का व्यवस्थापक मनोजकुमार साह सरकारले राहत र पुनर्स्थापनामा चासो नदेखाएपछि बस्न अप्ठ्यारो भएर आफन्त हुनेहरू आफन्तकोमा तथा नहुनेहरूले गाउँ छाडेर गएको बताउँछन् ।
यो ‘शिविर’ का लागि ६ भदौसम्म सरकारी सहयोग पुगेको छैन । स्थानीय सामुदायिक वन, युवा क्लब, व्यापारिक संघसंस्था लगायतको सक्रियतामा खाद्य सामग्री जुटाएर पीडितलाई खुवाइएको छ । बर्दियाका करीब ८० यस्ता शिविरमा पनि सरकारी राहत पुगेको छैन । सामुदायिक विपत् व्यवस्थापन सञ्जाल बर्दियाका अध्यक्ष खगेन्द्र हमाल भन्छन्, “मन्त्री, सभासद्देखि सदरमुकामस्थित सरकारी संयन्त्र कसैले पनि राहतमा चासो दिएका छैनन् ।”
शिविरमा लामखुट्टे, कीरा र सर्पको विगविगी छ । खुला शौच, चारैतिर पानीले भिजेका गहुँ, धान र चामल तथा मरेका पशुचौपायाको दुर्गन्धले विस्थापितहरू बिरामी पर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले प्रभावित बस्तीका शिविरमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको टीम परिचालन गरेको दाबी गरे पनि ५ भदौसम्म कतै त्यस्तो टीम भेटिएन ।
सरकारी अधिकारीहरू बाढी प्रभावित क्षेत्रमा पनि पुगेका छैनन् । घाइतेको उपचार र भत्किएका भौतिक संरचनाको पुनर्निर्माण भएको छैन । पूर्वपश्चिम राजमार्ग बर्दियामा अम्बासा नजिकको कल्भर्ट भाँचिंदा र बाँकेमा शमशेरगञ्जमा परुवा–सोतुवा नदीमाथिको पुल भत्किँदा २९ साउनदेखि सडक अवरूद्ध छ । भत्किएका अरू सडक पनि खुलाइएका छैनन् ।
बाढीले घरभित्रको खाद्यान्न बगाएको छ, पाक्ने बेलाका बारीका मकै मासिएका छन् । धानखेतको हालत उस्तै छ । बाढीले बबई सिंचाइको मूल र सहायक नहरहरू सबै भत्काएकाले अब धानले सिंचाइ पनि पाउने छैन ।
बर्दिया प्रशासन भने अझै तथ्याङ्क सङ्कलनमै व्यस्त छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल भन्छन्, “सबैतिरको विवरण आइसकेपछि राहत वितरण गरिनेछ ।”
सुत्केरीको बिजोग
बर्दियाको महम्मदपुर गाविसको बाँदुपुर गाउँकी इन्द्रिया थारू (२२) सधैं झैं २९ साउन साँझ् पनि सात दिनको छोरोलाई च्यापेर सुतेकी थिइन् । बबई नदी ओभर–फ्लो भएर गाउँभन्दा माथिको खेतबारी मास्दै घरभित्र पसेपछि उनीहरूलाई खाटमा सारियो र केही बेरमा पानीमा भिजाउँदै छिमेकीको अलि बलियो घरमा पुर्याइयो ।
नवजात शिशु र सुत्केरी अहिले बिरामी परेका छन् । उनीहरू अहिले गाउँ मास्तिरको सडकमा पाल टाँगेर बसेका छन् । प्रशस्त पौष्टिक आहार चाहिने यो बेला दाताले बाँडेका चाउचाउ, बिस्कुट, चिउरा, दालमोट जस्ता ‘ड्राईफुड’ ले उनीहरूले पेट भर्नुपरेको छ ।
बाँदुपुरकै साउनी थारू (१७) पनि बाढी आउँदा आठ दिनकी सुत्केरी थिइन् । नदीमा बाढी नसुकुन्जेल साउनीले पनि पानीमा भिजेरै बिताउनुपर्यो । अहिले उनको परिवार पनि सडकमा पाल टाँगेर बसेको छ । गर्मीयाम र आसपासमा पानी जमेकोले लामखुट्टेको विगविगी छ । साउनीकी सासू जिरियालाई नातिनीलाई लामखुट्टेबाट जोगाउने सुर्ता छ । “हामी जेनतेन बाँचे पनि कसैले झुल दिएन भने नातिनीलाई जोगाउन गाह्रो पर्ला जस्तो छ”, जिरियाले भनिन् ।
गैरजिम्मेवारीको हद
२८ साउनदेखिको वर्षाले मध्यपश्चिममा मात्रै १०२ जनाको ज्यान लियो, २०० भन्दा बढी बेपत्ता छन्, हजारौं परिवार विस्थापित भएका छन् । देशभर करीब २० हजार घर भत्किएकोमा बर्दियामा मात्रै १४ हजार घर भत्किए । १ भदौमा नेपालगञ्ज आइपुगेका गृहमन्त्री वामदेव गौतमले भने, “बाढीले पुर्याएको क्षति काठमाडौंबाट सोचेभन्दा कम रहेछ, सरकारले तत्काल उद्धार गर्न नसके पनि जनताले आफूलाई सुरक्षित गरे ।
पानी घटेपछि उद्धारका लागि सुरक्षाकर्मीले पनि काम थालेका छन् ।” हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको अनुगमन गरेर फर्केका गौतमले आफ्नै गृहजिल्लामा बाढी प्रभावितसँग भेटेर सहानुभूति समेत दिएनन् ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
