टिप्पणीशुक्रबार, आश्विन १२, २०६९

नेकपा–माओवादीको उपद्रो

सञ्जीव शर्मा

एनेकपा माओवादीबाट अलग भएको नेकपा–माओवादी उपद्रो गरेरै भए पनि राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति देखाउन खोज्दैछ । हिंसात्मक आन्दोलनका अनुभवी नेताहरू हिजोजस्तै उपद्रो मच्चाएर फेरि पनि सत्तामा पुग्न लालायित छन् । त्यसैले माउ पार्टी माओवादीमा रहँदा भारतविरुद्ध सुरुङ युद्धको स्वाङ पारेको वैद्य–गजुरेल पक्षले अहिले एउटा उर्दी जारी गर्दै नेपालमा गुड्ने भारतीय नम्बर प्लेटका गाडी, हिन्दी सिनेमा, संगीत र पत्रिकामा रोक लगाउने अभियान थालेको छ । केही समयअघि बहुराष्ट्रिय कम्पनीका केएफसी र पिज्जा हटमा मजदूर हड्ताल गराएर रेष्टुरेन्ट बन्द गराएको माओवादीले नेपाली उद्योग शिखर सुज बन्द गराएको छ । दण्डहीनताको पर्यायवाची बनेका प्रधानमन्त्री बाबुराम भट्टराईमा वैद्य पक्षीय माओवादीको उपद्रो रोक्न सक्ने नैतिक साहस छैन ।

त्यसमाथि भारतीय सिनेमा, पत्रपत्रिका र गीत–संगीतमा पनि रोक लगाउन शुरू गरिएको नेकपा–माओवादीको आन्दोलन आफैंमा हास्यास्पद छ । वैद्य पक्षीय नेताहरूले यो यथार्थता बुझ्नु जरुरी छ कि संचारको संसारलाई कुनै पनि भौगोलिक सीमाले छेक्न सक्दैन । विश्व नै एउटा गाउँ बनेको वर्तमान अवस्थामा वैद्य पक्षले  आन्दोलन गर्दैमा सिनेमा, संगीत र पत्रपत्रिकामाथि बन्देज लाग्नै सक्दैन ।

राष्ट्रिय स्वाधीनताका नाममा अराजकता सिर्जना गरी नेपाली युवाहरूलाई पछाडि धकेलेर फेरि पनि आफ्नो राजनीतिक हैसियत बढाउने दुष्प्रयास गर्दैछन् माओवादी नेताहरू । नेपालका हरेक नागरिकलाई भारतीय, अमेरिकी वा कोरियन चलचित्र हेर्ने पूर्ण स्वतन्त्रता छ । कस्ता चलचित्र प्रदर्शन गर्न दिने र कस्तामाथि बन्देज लगाउने भनेर नियमन गर्ने निकाय बेग्लै छ । जसको निर्णय कुनै दलको सनकका भरमा हुन सक्दैन ।

नेपाल–भारत सम्बन्धका आयाम हेप्ने र हेपिने वा मधेशवादी नेताहरूले भन्ने गरेजस्तो रोटी र बेटीमा मात्रै सीमित छैन । पशुपतिका भट्ट पुजारीदेखि, बनारसको मन्दिरका नेपाली पुजारीसम्म, लद्दाखमा आलुखेती गर्ने अछामीदेखि काठमाडौंमा आलु बेच्ने बिहारीसम्म, मिथिला माध्यमिकी परिक्रमादेखि तिर्थ यात्रासम्म नेपाल–भारत सम्बन्धका सूक्ष्म आयाम विस्तारित छन् । नेपालमा उत्पादित सिमेन्टका लागि आवश्यक कच्चा पदार्थको धेरै भाग भारतबाटै आउँछ, तेल र नुनको कुरै भएन । मध्यपश्चिमको नेपालगञ्जसँग सीमा जोडिएको भारतीय रुपैडिहा बजारका ग्राहक भनेकै नेपाली हुन् । सोनवर्षाबाट नुन र चिनी किन्न नपाउँदा मलंगवाकी गृहिणीको चुल्हो बल्दैन । सीमा वारि घर र पारि माइत भएकी चेलीलाई घर–माइत गर्न बन्देज लगाउने नेकपा–माओवादीको उर्दी कस्तो किसिमको राष्ट्रिय स्वाधीनताको आन्दोलन हो ?

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>