ब्लगबुधबार, भाद्र ११, २०७१
अपार्टमेन्ट मन्थन
अपार्टमेन्ट किन्नुभएको छ?
हजुर, किनेको छु।
अपार्टमेन्ट भवन नाश भयो भने?
डेढ करोड हालेर तीन कोठा किनेको छु, अलच्छिन नलगाउनुस् न।
अलच्छिनको कुरा होइन, भवन भत्कियो भने जग्गा कसको हुन्छ, थाहा छ?
थाहा छैन।
आगलागी, भुईंचालो या अन्य किसिमको विपतले अपार्टमेन्ट भवन भत्कियो या नष्ट भयो भने भवनले चर्चेको जग्गा सोसाइटीको हुन्छ।
कस्तो सोसाइटी?
अपार्टमेन्ट किन्नेहरूको समूह या त्यो भवनमा बस्नेहरूको समाज।
म त कहिल्यै मीटिङमा पनि गएको छैन, यस्ता कुरा कसरी थाहा पाउनु? त्यो अवस्थामा मेरो भागमा कति जग्गा पर्ने रै’छ?
तपाईंको अपार्टमेन्ट कति जग्गामा बनेको छ? त्यसभित्र कति युनिट छन्? कुन ठाउँ हो?
सानेपामा तीन रोपनी जग्गामा बनेको छ। ३२ युनिट छन्।
तपाईंले डेढ आना जग्गा वा आनाको १५ लाखको दरले करीब २२―२३ लाख जति पाउनुहुने रहेछ।
डेढ करोडमा किनेको, भत्क्यो भने जम्मा २२ लाख?
अपार्टमेन्ट भवन निकै बलियोसँग बनाइएको हुन्छ, हम्मेसी भत्कँदैन। बरु बीमा गर्नुस्।
…….
तपाईंको अपार्टमेन्ट कहाँ छ?
सातदोबाटो नजिकै।
खानेपानी पुग्छ?
एकथोपो छैन, कता पुग्नु!
कति वटा बिल्डिङ छन्, कति परिवार बस्नुहुन्छ?
– पाँच वटा बिल्डिङमा १४९ परिवार बस्छौं। बोरिङ, डीप बोरिङ, इनार सप्पै पाँच वर्षमा सुके। पानी निस्कन छोडेको एक वर्षजति भयो। ट्याङ्करको पानीले चलेको छ जिन्दगी।
कत्रा छन् पानीका ट्याङ्की?
–हरेक भवनको भुईंतल्लामा ५०―५० हजार लीटरका दुइटा र छतमा २५―२५ हजार लीटरका दुइटा ट्याङ्की छन्। १―२ ट्याङ्कर पानी पिंधमै विलाउँछ।
आकाशे पानी संकलन, ग्राउण्ड रिचार्ज र अपार्टमेन्ट वरिपरि बगैंचा छैन?
पहिले खोलो बगे झैं पानी आउँथ्यो बोरिङबाट। मेलम्ची भन्दै ह्वालह्वाल पोखियो। अहिले पानी विनाको जिन्दगी नर्क समान भएको छ।
यसरी कहिलेसम्म बस्ने अपार्टमेन्टमा?
चार आना जग्गामा घर बनाउँदैछु, त्यो सकिनासाथ सरिहाल्ने। यसलाई पाए भाडामा दिन्छु, नत्र त्यसै छोडिदिन्छु।
…….
आडैमा यति भव्य अपार्टमेन्ट बनेछन्। किन घर बेच्न खोज्नुभएको?
अपार्टमेन्टले त जिउँदै खाल्डामा हाल्यो मलाई। त्यै भएर बेच्न हिंडेको। पहिला त मक्खै परियो। आडैमा अपार्टमेन्ट बनेपछि वरिपरि सडक पीच हुन्छ, ढल राम्रो बन्छ, बाटामा बत्ती हाल्छन्, घरजग्गाको भाउ बढ्छ भन्ठानियो। आखिरमा उल्टो भयो।
कसरी बिग्रियो?
दक्षिणतिर फर्केको मेरो घरमा दिनभर घाम लाग्थ्यो। सामुन्नेमा १५ तले अपार्टमेन्ट बनेदेखि घाम हेर्न घर छाड्नुपर्छ। अपार्टमेन्टले मेरो इनार पनि खाइदियो।
जग्गा छोड्या छैनन् र? नियम अनुसार त छाड्नुपर्ने हो?
त्यै नियमले त मार्यो नि! अगाडि ६ मीटर, पछाडि, दायाँ र बायाँ ४ मीटर छोडे पुग्ने रै’छ। त्यति जाबो छोडेर के हुने?
इनार कसरी खायो?
साँधैमा बोरिङ गाडिदिए। हाम्रो वरिपरिको इनारको पानी त्यतै बगेर गयो। भित्र झिलीमिली छ, बाहिर हामीलाई बिजोग पारे।
…….
सरकारले फागुन २०६२ मा संयुक्त आवास सम्बन्धी मापदण्ड लागू गरेपछि राजधानी उपत्यकामा अपार्टमेन्ट संस्कृति बढ्दो छ। काठमाडौंको मलिलो माटो बचाउन, एउटै घरमा धेरै परिवार राखेर शहरलाई जथाभावी भरिन नदिन र सुरक्षाका हिसाबले अपार्टमेन्ट उपयोगी छ। तर समस्या पनि चर्कंदैछ।
ललितपुर जिल्लाभरिका अपार्टमेन्ट भवनहरूको दुईमहीने अनुगमन र मूल्याङ्कन भ्रमणका क्रममा टिपिएका प्रतिनिधि समस्या हुन् यी। स–सानो प्लटमा बनेका अपार्टमेन्टहरूले वर्षातको पानी जमीनभित्र पस्न दिएको छैन। आकाशे पानी संग्रहको चलन नहुँदा र बोरिङ सुक्दा अपार्टमेन्टहरूसँगै छिमेकीहरू समेत काकाकुल बनेका छन्। बस्ती बीचमा बहुतले भवन उभिएर घाम छेकिदिंदा छिमेकीहरू पनि खुशी छैनन्।
शहर भनेको सिमेन्टको संरचना मात्र हैन। आत्मासहितको संरचना डिजाइन गर्न सक्दा त्यहाँभित्र र वरिपरि बस्नेले पनि सुख–शान्ति महसूस गर्छन्। त्यसका लागि भूकम्पीय सुरक्षा, भवन निर्माण संहिता/मापदण्डको पालनासँगै उल्लिखित आयामहरूलाई पनि आत्मसात् गर्दा मात्र सामाजिक–सांस्कृतिक मूल्यमान्यता सहितको व्यवस्थित आवासको परिकल्पनालाई व्यवहारमा उतार्न सकिन्छ।
साप्ताहिक खबरपत्रिका हिमालबाट