थप समाचारआइतबार, भाद्र १५, २०७१

औद्योगिक रसायनले धानखेती सखाप

हिमालखबर

-सञ्जय साह, रौतहट

प्रदुषित पानी मिसिएपछि रौतहटमा हजारौं बिघामा लगाइएको धान खेती नष्ट भएको छ । तस्वीर: सञ्जय साह

रौतहटको झाँझ नदीमा स्थानीय उद्योगहरुबाट निस्किएको रसायनयुक्त प्रदुषित पानी मिसिएपछि हजारौं बिघामा लगाइएको धान खेती नष्ट भएको स्थानीय किसानहरुले बताएका छन् ।

गरुडास्थित श्रीराम सुगर मिल्स, बसबिटि जिंगडियास्थित बाबा डिष्टिलरी र पिप्रा पोखरियास्थित ज्योति डिष्टिलरीले रौतहटको झाँझ नदीमा आएको बाढीमा औद्योगिक रसायनयुक्त पानी मिसाएकोले हजारौं बिघामा लगाइएको धानखेती नष्ट भएको भन्दै किसानहरुले जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति र उद्योगहरुमाथि कारवाहीको मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

किसानहरुका अनुसार रौतहटको जेठरहिया, भेडियाही, सरुअठा, पचरुखी, बडहर्वा, मत्सरी र राजपुरतुलसी गाविसका किसानले लगाएको ११ सय बिघाभन्दा बढी धानखेतीमा बाढीको पानी पसेर धान कुहिएको छ । बाढीमा प्रदुषित पानी मिसिएकै कारण धान बाली कुहिएको उनीहरुले दाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन आएकामध्ये सरुअठा गाविसका प्राविधिक सहायक सन्तोषकुमार सिंहले आफ्नो पाँच बिघा खेतमा लगाइएको धानखेत सखाप भएकोे बताए ।

रसायनयुक्त पानीले घाँस पनि नष्ट पारेकोले पशुपालनमा समस्या भएको बडहर्वाका किसान नागेन्द्र साहले जानकारी दिए ।

पीडित किसानहरुले क्षतिपूर्ति र उद्योगलाई कारवाहीको माग गर्दै सदरमुकाममा गरेको प्रदर्शन । तस्वीर: सञ्जय साह

उद्योगहरुले जथाभावी पानी छाड्दा झाँझ, डोरी, चानी लगायतका खोलाखोल्सीका माछा, भ्यागुता, सर्पलगायतका जलचरसमेत नष्ट भएको र आर्थिक र वातावरणीय रुपमा ठूलो क्षति भएको एमाले प्रचार विभागका केन्द्रीय सदस्य रेवन्त झाले बताए ।

यता तीनवटै उद्योगहरुले भने आफूले प्रदूषित पानी बाढीको पानीमा नमिसाएको दाबी गरेका छन् ।

श्रीराम सुगर मिल्सको डिष्टिलरी प्लान्टका केमिस्ट रुद्रनारायण झाले प्रदूषणलाई पूर्णतया ट्रिटमेन्ट गरी पानी छोड्ने गरेको बताए भने बाबा डिस्टिलरीका संचालक र ज्योति डिस्टिलरीका संचालकहरुले आफ्नो उद्योगको पानी बाढीको पानीमा नमिसिएको दाबी गरे ।

छानबीन

श्रीराम सुगरमिल्सको डिस्टलरी प्लान्टबाट निस्किएको प्रदुषित पानी । तस्वीर: सञ्जय साह

यसैबीच क्षेत्रीय कृषि निर्देशनालय हरिहरभवनका क्षेत्रीय निर्देशक टेकबहादुर बमको नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगी धान र माटोको नमूना परीक्षणको लागि लगेर गएको छ । टोलीले परीक्षणपछि धान कुहिनुको कारण पत्ता लाग्ने बताएको छ ।

जिल्ला कृषि कार्यालय रौतहटका प्रमुख राजनारायण यादवको नेतृत्वमा गठित छानबिन टोलीले गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा प्रदूषित पानीमा नाइट्रोजन, नाइट्रेट र सल्फरलगायतका रसायनको मात्रा देखिएको उल्लेख गरेको छ ।

छानबीन टोलीले निरीक्षण गर्दा श्रीराम सुगर मिल्सले प्रदुषित पानीलाई सफा पार्न ट्रिटमेन्ट प्लान्ट राखे पनि अन्य दुई उद्योगमा भने ट्रिटमेन्ट प्लान्ट नराखेको टोली प्रमुख राजनारायण यादवले बताए ।

मध्यमाञ्चलका क्षेत्रीय प्रशासक शंकर कोइराला, नेपाल प्रहरीका डिआइजी प्रकाश अर्याल र सशस्त्र प्रहरीका डिआइजी शैलेन्द्र खनालले पनि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>