अन्तर्वार्ता/विचारबिहीबार, भाद्र १२, २०७१
प्राकृतिक प्रकोपः अटेरीले विनाश
– नरेन्द्रराज खनाल
पहाडमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्प लगायतका भौगर्भिक हलचल, खोला–खोल्सीको फैलावट, वर्षाको मात्रा, भू–उपयोगको तरीका र विकास–निर्माणले निर्धारण गर्छ। त्यसैगरी, पहिरोले नदी थुनेर बनाएको ताल फुट्दा तल्लो तटीय क्षेत्रमा निम्तिने विनाशको आकार बाँधमा जम्मा भएको माटो/ढुङ्गाको आयतन, पानीको गति, नदीको चौडाइ, नदी किनारको भू–आकृति आदिमा निर्भर हुन्छ। पहिरो र पहिरोले बनाएको ताल फुटेर आउने बाढी विशेषतः उच्च पहाडी क्षेत्रमा नियमितजसो भइरहने प्राकृतिक प्रकोप हुन्। यसले तल्लो तटीय क्षेत्रलाई पनि उत्तिकै पिरोलिरहेको हुन्छ।
नेपालमा सन् १९६७ यता १४ वटा ठूलो पहिरो गएका छन्। १९६८ मा पहिरोले थुनेको ताल फुटेर बूढीगण्डकीमा आएको बाढीले आरुघाट बजारका २४ घर बगाएको थियो। त्यस्तै, १९८२ मा सिन्धुपाल्चोकको बलेफी खोलामा पहिरोले बनाएको ताल फुट्दा ९७ जना मानिससहित १५ घर बगायो। १९८८ मा पहिरोले म्याग्दी खोलामा बनाएको ताल फुट्दा १०९ जनासहित ९४ घर बग्यो। १९९६ मा थुनिएको सिन्धुपाल्चोकको तातोपानी नजिकैको लार्चा खोलाको ताल फुट्दा ५४ जना मानिससहित १८ घर बगायो।
अन्य देशका पहाडी भागमा पनि यस्ता घटनाहरू भएका छन्। गत ५०० वर्षमा चीनमा १४७, न्यूजिल्याण्डमा १३० र मध्य जापानमा १९ वटा यस्ता प्राकृतिक प्रकोप भएका छन्। काजकिस्तानमा उसोई पहिरोले ५५० मीटर अग्लो बाँध र २८४ मीटर गहिरो सारेज ताल बनायो। यसैगरी, सन् १९८१ मा पाकिस्तानको इन्दुस नदीलाई पहिरोले थुनेको थियो। १७८६ मा चीनको डाडु नदीमा पहिरोले थुनेर बनेको बाँध फुट्दा १४०० किलोमीटर तलसम्मका करीब एक लाख मानिस बगायो।
१८८३ मा गढवाल (भारत) को अल्खण्ड नदीमा पहिरोले बनाएको ३५० मीटर अग्लो बाँध फुट्दा ५० मीटर अग्लो बाढी बनेको थियो। सन् २००० मा चीनको युगोन नदीमा पहिरोले १०० मीटर अग्लो, १.५ किमी चौडा र २.६ किमी लामो ताल बनाएको थियो, जुन फुट्दा भारतको अरुणाचल प्रदेशमा ३० जनाको मृत्यु र ५० हजारभन्दा बढी प्रभावित हुनुको साथै २० भन्दा बढी पुल बगाएको थियो।
२००३ मा भुटानको त्सचिछु खोलामा पहिरोले बनाएको ताल १० महीनापछि फुट्दा ३५ किमी तलसम्म २० मीटर अग्लो बाढी आएको थियो। त्यस्तै, २००४ मा चीनको परेचु नदीमा पहिरोले बनाएको ताल १५ दिनपछि फुट्दा भारतका गाउँ, राजमार्ग, पुल र विद्युत् योजनाहरूमा क्षति पुर्याएको थियो। २०१० मा पाकिस्तानको हुन्जा नदीमा पहिरोले ११ किमी लामो र १०० मीटर गहिरो ताल बनायो। त्यो ताललाई पाँच महीनापछि ३० मीटर गहिरो निकास खोलेर बगाइएको थियो।
सुनकोशी र मादी
माथि उल्लिखित घटनाहरूको विस्तृत अध्ययन भइसकेको छ। यो आलेखमा सन् २०१० मा कास्कीको ताप्राङ र यस पटक सुनकोशीमा भएको घटनाको तुलनात्मक चर्चा गरिनेछ। लम्बाइ–चौडाइको हिसाबले सुनकोशीको माङ्खा (जुरे) पहिरोभन्दा ताप्राङको पहिरो ठूलो थियो। ताप्राङको पहिरोमा स–साना ढुंगा र बलौटे माटो झरेका थिए भने जुरेमा चट्टानको मात्रा बढी छ। त्यसैले, ताप्राङमा मादी नदी आफैंले बाँध खोलेर बग्यो भने सुनकोशीमा ब्लाष्टिङ गर्दा पनि बाँध खोल्न सकिएको छैन।
दुवै पहिरा अचानक गएका थिएनन्। ताप्राङको पहिरो सन् १९३३ देखि शुरू भई १९४६, १९५२, १९८५ र १९९३ मा बढ्दै गएर २०१० मा बीभत्स भएको थियो। त्यसैगरी, सुनकोशीको जुरेमा १९८७ बाट शुरू भएको पहिरोले गत वर्ष नै विकराल रूप लिएको थियो। यो वर्ष त यसले १५६ जनाको ज्यानै लियो। जुरेमा राजमार्गको पर्खाल भत्केको देखेका सबैले पहाडी पाखा चलायमान भएको अनुमान गरेका थिए।
ताप्राङ र जुरेको पहिरोले धेरै वर्ष अगाडिदेखि सम्भावित जोखिमको सूचना दिइरहेपनि त्यसमा ध्यान दिन चुक भयो। यसबारे स्थानीयवासी र सरकारी निकायहरूलाई सजग गराउन सकेको भए यत्रो क्षति हुने थिएन। अब यस घटनाबाट पछुताउँदै र पाठ सिक्दै तदनुरूपको तदारुकता देखाउनुको विकल्प छैन। सरकारले अध्ययन र अनुगमन गर्दै जोखिम क्षेत्रका बासिन्दालाई सुसूचित गर्ने काम अविलम्ब थाल्नुपर्छ। सँगसँगै भू–उपयोगको नियम कार्यान्वयन गर्नुपर्छ।
————————————————————————————————————————————
पहिरोका घटना
सन् १९६७
बूढीगण्डकी, गोरखा
काशीगाउँ नजिकै पहिरोले बनाएको ताल फुट्यो ।
क्षतिः ८ जना पुरिए ।
सन् १९६८
बूढीगण्डकी, गोरखा
लापुबेसीमा पहिरोले चार घण्टा थुनिएपछि फुट्दा सात गुणा ठूलो बाढी आयो ।
क्षतिः १० माइल तलको आरुघाट बजारका २४ घर र एउटा पुल बगायो ।
सन् १९७०
तिनाउ, रुपन्देही
तिनाउ नदी थुनिएर फुट्यो ।
क्षतिः ९२ जना मानिस बगायो ।
सन् १९७१
फलान्गखु, रसुवा
फलान्गखु खोला थुनिएर फुट्यो ।
क्षतिः ५ जना मानिस, एक घर र एक घट्ट बगायो ।
सन् १९७६
बाग्लुङ
विवरण नभेटिएको ।
क्षतिः ७ जना मानिस, ६ जनावर र ३ पुल बगाएको ।
सन् १९८२
बलेफी, सिन्धुपाल्चोक
फलामसाँघु नजिक बलेफी खोला थुनिएर फुट्यो ।
क्षतिः पान्ताङ र घुन्सा गाविसका ९७ जना मानिस र १५ घर बगायो ।
सन् १९८५
त्रिशूली, रसुवा
बाँध फुट्दा ६ गुणा ठूलो बाढी
क्षतिः ठूलो क्षति भएन ।
सन् १९८६
तादी, नुवाकोट
पहिरोले घ्याङफेदी खोला थुनिएर फुट्यो ।
क्षतिः ३१ जना मानिस, १७३ जनावर, २४ घर र ४ पुल बगायो ।
सन् १९८७
सुनकोशी, सिन्धुपाल्चोक
सुनकोशी नदी थुनिएर १९८१ मा हिमताल फुटेको जत्रै बाढी आयो ।
क्षतिः ९८ जना मानिस, २२९ घर, ३०९ जनावर, सुनकोशी जलविद्युत्को दुई गेट र राजमार्गको केही खण्ड बगाएको ।
सन् १९८८
म्याग्दी खोला, म्याग्दी
पहिरोले थुनेको खोला ब्लाष्टिङ गरी खोलेको ।
क्षतिः पहिरोले १०९ जनाको मृत्यु, ८ जना घाइते, ९४ घर र ४४ जनावर क्षति ।
सन् १९८९
तरुखोला, बझाङ
पहिरोले बनाएको बाँध ब्लाष्टिङबाट भत्काइएको ।
क्षतिः पहिरोले १६ जना मानिस, २५ जनावर र ४ घर पुरियो ।
सन् १९९६
लार्चा, सिन्धुपाल्चोक
लार्चा खोला थुनिएर आएको बाढीले ठूल्ठूला ढुंगा बगाएर ल्यायो ।
क्षतिः ५४ जना मानिस, १८ घर र १ पुल बगायो ।
सन् २०१०
मादी, कास्की
ताप्राङ नजिकै मादी नदी ५ घण्टा थुनिएर फुट्यो ।
क्षतिः ५ जनाको मृत्यु, ५ घाइते, १८ परिवार विस्थापित ।
सन् २०१४
सुनकोशी, सिन्धुपाल्चोक
जुरे पहिरोले सुनकोशी थुनिंदा बनेको ३ किमी लामो र ४७ मीटर गहिरो ताल ब्लाष्टिङबाट पनि खोल्न सकिएको छैन ।
क्षतिः सरकारबाट १५६ जना मृत घोषणा, २७ जना घाइते, पाँचभन्दा बढी वस्ती पहिरोमा पर्यो । १५५ घर, २ किमी सडक, दुईवटा विद्युत् परियोजना, एक विद्यालयमा क्षति । २६ घर डुबानमा, ४३६ जना विस्थापित ।
(त्रिविवि भूगोल विभागका प्रमुख डा. खनाल इसिमोडसँग सम्बन्धित छन्।)
साप्ताहिक खबरपत्रिका हिमालबाट