ब्लगबिहीबार, भाद्र १२, २०७१

सिपाहीले कहेको सामाजिक इतिहास

सरला गौतम

‘कटवाल काण्ड’ को नामले चर्चित घटनाक्रमको खुलासाबाट शुरु भएको रुकमाङ्गद कटवालको जीवनगाथाको पहिलो भागको अन्त्यमा कटवाल लेख्छन्– ‘त्यो ओखलढुङ्गे फुच्चे कटवाल मै थिएँ।’ अब पाठकलाई त्यो फुच्चेको जन्मथलो निशंखे पुग्न हतारो हुन्छ।

राणाजीको कारबाहीमा सर्वस्वहरण गरिएका बाबु बितेपछि टुहुरो बनेका कटवालले पढ्नलाई गरेको संघर्ष आम नेपालीको कथासँग शुरुमै जोडिन्छ। दाजुहरूले कुट्दा पनि ‘पढ्छु…’ भन्न नछाड्ने उनलाई शिक्षाको भोकले सदरमुकाम पुर्याकइदिन्छ। आठवर्षे केटो डेरामा पढ्न बसेको कुराले नै उनको सूरोपन बताउँछ।

टर्च, काठमाडौं र सिनेमा
हात–हातमा मोबाइल बोकेर मोटरमा हुइकिने पुस्तालाई टर्चलाइट बालेर कान्ला चहारेको कुरा रमाइलो लाग्छ। कटवाललाई पहिलोचोटि टर्च पाउँदा आकाशको जून हातमा बोकेर हिंडेको जस्तो लाग्यो।

सदरमुकामबाट गाउँ आएर साथीभाइलाई धाक लगाएको, टर्च बाल्नकै लागि अँध्यारोमा निस्केको जस्ता कुराले हँसाई–हँसाई नेपाली समाजको एउटा समय बताउँछ। पहिलो पटक टर्च देखेका गाउँलेहरू त्यसैले आगो फुक्छ भन्ठान्थे रे! टर्चको उज्यालो देखेर जिल् खाएका कटवालका दौंतरीहरू ‘यस्तो बत्ती त राजासँग पनि छैन होला’ भन्छन्।

फाट्ला भनेर जुत्ता झोलामा बोकेर घर आएको कटवालको कुराले र्यातकमा डिजाइन डिजाइनका ‘शू’ सजाउने पुस्तालाई आफ्ना बाजेबजैले छिचोलेको समयको कल्पना गराउँछ। भर्खर भर्खर चलेको फाउन्टेन पेनले लेख्दा दंगदास भएको प्रसंगले नेपाली समाज एकैपटक आजको अवस्थामा नआएको बताइदिन्छ।

सदरमुकाममा आएका राजालाई भेट्न फुच्चे कटवालले गरेको मरिहत्ते र तिकडम पढ्दा लाग्छ, यो कुनै दन्त्यकथा हो। राजा आउँदा जिल्लामा कस्तो तयारी हुन्थ्यो भन्ने शब्दचित्र नै उतारेका छन्, कटवालले। उनको मन राजा भेट्न लालायित हुन्छ।

राजा हिंड्ने बेलासम्म भेट्न नपाएपछि, भोलिपल्ट बिहान टोपीले लामो टुप्पी छोपेर सवारी टोलीको पछि लाग्छन्, उनी। झोलामा रहेका कापी, कलम र टर्चलाइटले आँट बढाइरहेको हुन्छ।

दुई दिनसम्म सवारी क्याम्पको बार, आउजाउको तरीका र गार्डहरूको ‘पोजिसन रेकी’ गरेपछि तेस्रो दिनमा बिजुलीवेगमा पालभित्र पसेका कटवाल राजाले सोध्दै नसोधी कविता सुनाउँछन्।

एकै ‘सट’मा प्रभावित भएका राजा महेन्द्रले नाम सोध्दा फुच्चेले श्लोक हालेर बताइदिन्छ। यति कुराको लागि उनले गरेको आँट र बुनेको योजना हैरान बनाउने खालको छ। यसरी उनी राजाको आँखामा परे।

दिनभरि देखेका कुरा टिप्दै हिंडेका कटवालले खोटाङ, भोजपुर, धनकुटा हुँदै तराई झारेर काठमाडौं आएको कहानी बताउँदा पाठकको मस्तिष्कमा त्यो बेलाको नेपाल सजीव हुन्छ। पहिलो पटक देखेको मोटर, रेल र रेल स्टेसन मोहनीमय छ। उनले भारतको रेलको तुलना घोडा र नेपालको रेललाई भैंसीसँग दाँजेका छन्।

काठमाडौं पस्न लाग्दा डाँडाबाट उपत्यकामा बिजुलीको झिलिमिली देख्दा उनलाई आकाश र धरती छुट्याउन गाह्रो पर्योा। यसरी उनी तिरिमिरिझ्याईं हुँदै ‘नेपाल’ पसे।

जवानीमा कटवालको सिनेमा मोहले त्यो बेलाका तन्नेरीहरूको साझा लत बताउँछ। उनले फर्पिङ स्कूलबाट धनीमानी परिवारका साथीहरूसँग भागेर चुरोट उडाउँदै दिनमा तीन ‘शो’ सम्म भ्याएछन्। स्कूलमै पनि चुरोटको धुवाँ उडाउँदा उनी आफूलाई हिरो भएको ठान्छन्। फर्स्टब्वाई भएको कारण उनलाई सबैले पत्याउँछन्।

उनले स्कूले जीवनको एक समयमा आफू ‘ब्याड ब्वाई’ भएको ढाँटेका छैनन्। ‘रोटी खाने मान्छेले फ्यास्स जाने पाउरोटी’ खान नमान्दा पाएको कुटाइको प्रसंग बताएर उनले नेपालमा यो विकासे रोटीको सुरुआती समय सम्झाएका छन्।

भागी–भागी सिनेमा हेरेको लत क्याम्पस पुगेपछि हिरो हुने लहडमा बदलियो। त्यही समयमा नेपाली सिनेमा बन्ने थाहा पाएपछि ‘पाए हिरो, नपाए भिलेन वा केही त हुनुपर्छ’ भन्ने विचारले जगेडा पैसाबाट त्यसबेलाको फेशनमा रहेको टाइट प्यान्ट पनि तयार हुन्छ।

त्यसरी काठमाडौंभरि भौंतारिंदा भौंतारिंदै सिनेमाको कार्यालय नै थाहा नपाई रोल अरुले उडाइसक्छ। माइतीघर फिल्ममा माला सिन्हालाई देखेपछि कटवालको हिरो बन्ने रहर झन् बढ्छ, तर सैनिक तालीम लिन पुना गएपछि बेला–बेला हिरोइन हेर्न बम्बईतिर जाने उपक्रमभन्दा झ्ााङ्गिन पाउँदैन।

संयोगवश एक दिन वैजयन्ती मालाले गाडीबाट हात हल्लाएर ‘हेलो ब्वाइज’ भनेको दृश्यसम्म देख्छन् र त्यतिमै मदहोस हुन्छन्, अल्लारे कटवाल। विद्यार्थीकालमा गोजीमा सुको नहुँदा पनि हलमा पुग्ने र हिरो बन्ने दौडमा लाग्ने तन्नेरीको कथा कटवालको विगतसँग मिलिहाल्छ।

पत्रमित्रता, डेटिङ र डेरा
एकघण्टा फेसबुक नोटिफिकेसन हेर्न नपाउँदा छट्पटिने पुस्ताले कटवाललाई पढ्दा पत्रमित्रताको चलन जान्ने मौका पनि पाउँछ। महीनौं दिनको धैर्य चाहिने त्यो चलनमा देश–विदेशका तन्नेरी दिलहरू कसरी घनिष्ट हुन्थे भन्ने विवरण रोमाञ्चकारी लाग्छ।

पत्रमित्र बन्दै नामका पछाडि ‘घायल’, ‘पागल’, ‘दुःखी’, ‘भावुक’ लगायतका उपनाम झुण्ड्याउने पुस्ताको कहानी हो, यो। कटवालले पनि बर्मा, आसाम, मेघालय, मणिपुर, नागाल्याण्ड, सिक्किम, दार्जीलिङ, देहरादुन र भाक्सुसम्मका युवतीलाई साथी बनाए। यही मित्रताको बहानामा कतिपय ठाउँमा मेजमान खाँदै डुले पनि। उनको प्रेम भने काठमाडौंकै ठिटीसँग भयो।

त्यसबेला मायालुसँग भेट्न पनि साइत निकाल्नुपर्ने– दिन पनि हैन, रात पनि हैन, झमक्क साँझभन्दा अगाडिको समय पारेर। त्यहीबीचको समयमा उनी प्रेमिकासँग डेटिङ मार्थे। कटवालले झट्ट ध्यान नजाने सामाजिक ‘ट्रेण्ड’ रोचक शैलीमा बताएका छन्।

‘असनबहालको डेरा विश्वविद्यालयको होस्टल जस्तै थियो’ भन्ने वाक्यांशले जिल्लाका मान्छेहरू काठमाडौंमा डेरा जमाउन आउने चलनको सुरुआती दिनहरू बताउँछ। पढाइ र जागीरको लागि सामलतुमल बोकेर काठमाडौं खाल्डो आउने युवकहरू कुनै घरको छिंडीमा मैनबत्ती वा टुकीको उज्यालोमा तन्नेरी सपना तेजिलो पार्थे। कटवालले पनि मुठाका मुठा मैनबत्ती पगाले।

आठवर्षे बालक काठमाडौं पसेर रत्तिएको, कठोर मिहिनेत गरेको, अमेरिकामा बहादुरी देखाएको, आफ्नो पेशाको सर्वोच्च्ा पदमा पुगेको आदि कुराले जिल्लावासीको मनोबल बढाउँछ।

आमा कतै घाँसको भारीमा दाउरा तेर्स्याएर उकालो लागेको कटवालको सम्झनाले सपनाको खातिर घरबाट बाहिरिएका तन्नेरीहरूको मन छुन्छ। काठमाडौं भित्रिएका उनी जस्तै मानिसहरू कोही डाक्टर, वकील, सचिव, कलाकार, पत्रकार आदि बनेर निस्किए, देशको नीतिनिर्माण र सभ्यतालाई आकार दिंदै गए।

काठमाडौं खाल्डो छिरेर ममचा खान सिकेका तिनै ख्याउटे तन्नेरीहरूले नै कालान्तरमा देश हाँके। यो प्रसंगमा रुकमाङ्गद कटवाल नामको मिहिनेती भुईंमान्छेले नै शिखरको बाटो बनाउँछ भने जस्तो लाग्छ।

ब्रह्मले देखेको कुरा चपाएर जाती सुनिने कुरो मात्र बोल्ने चलनले गाँजेको छ– नेपाली जगतलाई अहिले। उखान टुक्का सहित झर्रो पाराले आफ्ना कुरा राखेका जर्नेल कटवालको कहानी पढ्दा भने लोकल खान्कीले जिब्रो फट्कार्न मनलागे जस्तो बनाउँछ।

सधैं सैनिक पोशाकमा अरट्ठ देखिने सिपाहीको जीवनमा पनि यति धेरै रंगहरू हुँदारहेछन् पनि भन्ने लाग्छ। कटवालले आफ्नो पाराले नेपाली समाजको इतिहास भनेका छन्। राजनीतिक कुरामा सहमति र असहमति हुन सक्ला, तर सेनाका मान्छे पनि त हाम्रै हुन् भन्ने अनुभूति भने पक्कै हुन्छ।

पुस्तक रुकमाङ्गद कटवाल (आत्मकथा)

लेखक रुकमाङ्गद कटवाल (किरण भण्डारीसँगको सहकार्यमा)

प्रकाशक पब्लिकेसन नेपा लय

पृष्ठ ४४८+१२,

मूल्य रु.५४५

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...