रमझमशुक्रबार, भाद्र १३, २०७१
सहृदयी ‘राजकुमारी’
–बच्चु विक, महेन्द्रनगर
बझाङ जिल्ला सदरमुकाम चैनपुरबाट उत्तरपूर्वको पाँच घण्टे पैदल यात्रापछि मेलविसौना–७ तल्कोट पुगिन्छ। सोह्रौं शताब्दीमा तल्कोटका शक्तिशाली राजा मेदन सिंहलाई तिब्बतले समेत कर बुझाउँथ्यो। राजा मेदन सिंहको डेढ सय कोठा भएको चारतले दरबार २०३७ सालमा भत्कियो।
त्यो ठाउँमा अहिले ५० कोठा भएको तीनतले दरबार छ, जहाँ मेदनका १८औं पुस्ताका नारायणबहादुर सिंह ‘तल्कोटी राजा’ को रुपमा ‘राज’ गरिरहेका छन्।
तल्कोट दरबारको अहिलेको शानमा ‘राजकुमारी’ मनिषा सिंह (२१) ले आर्जन गरिरहेको सामाजिक मानले ठूलो टेवा दिएको यस क्षेत्रका बासिन्दाहरु बताउँछन्। यो क्षेत्रमा दन्त्यकथाकी राजकुमारी जस्ती बनेकी उनी भन्छिन्, “कसैलाई ठूलो उपकार त गरेको छैन, तर सबैले धेरै सहयोगी राजकुमारी भन्छन्।”
यही साल तल्कोट उमाविबाट ‘प्लस टु’ उत्तीर्ण गरेकी ‘राजकुमारी’ मनिषाले कसैलाई ठूलै सहयोग नगरे पनि स–सानो सहयोग र समाजसेवा उनको दैनिकी जस्तै बनेको छ। कापी–कलम चाहियो, विद्यालयमा शुल्क तिर्नुपर्यो, चाडपर्वमा मीठो खान पाइएन– बालबालिका मनिषालाई सम्झन्छन्।
त्योभन्दा ठूलो सहयोग चाहिएकाहरुलाई पनि उनी दरबार पुर्याउँछिन्। सहयोग माग्न दरबार आउनेहरुले हत्तपत्त रित्तो हात फर्किनु नपरेको उनी बताउँछिन्। त्यसो त गाउँलेहरुलाई सांस्कृतिक कारणले पनि तल्कोट दरबारसँग निकट बनाएको छ। यो क्षेत्रका हजारौं बासिन्दा दरबारभित्र रहेकी भगवतीका उपासक छन्। उनीहरु दशैं, गौरा, बिसु संक्रान्ति, होली लगायत पर्वमा पूजाका लागि दरबार पुग्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट