रमझमशनिबार, भाद्र १४, २०७१

मिस (ग्रिन) नेपाल

हिमालखबर

मिस नेपाल सुविन लिम्बु । तस्वीर: बिक्रम राई

मिस नेपाल– २०१४ सुविन लिम्बु स्पष्ट र खुला हृदयकी छन् । २३ वर्षीया यी धराने सुन्दरी ‘सेलेब्रेटी’ भइसक्दा पनि व्यक्तित्वमा कुनै आडम्बर छैन, मुखर र इमान्दार छन् ।

उनले शिक्षा क्षेत्रमा विकासका लागि काम गर्ने आफ्नो चाहना बताउँदै गर्दा भने उनको स्वर प्रतियोगितामा भाग लिंदै गर्दा बोले जस्तो सुनिए पनि दृढ थियो ।

“काठमाडौं आएदेखि नै मनमा मिस नेपाल बन्छु भन्ने थियो,” सन् २००९ मा कलेज पढ्न काठमाडौं पसेकी सुविनले भनिन्, “तर मैले आफूलाई यस वर्षमात्र पूर्णरुपमा तयार भएको अनुभव गरें ।”

यद्यपी सुविनले ताज पहिरेको यो पहिलो पटक भने थिएन । उनी सन् २०१० मा मिस मंगोल प्रतियोगिताको फस्र्ट रनर अप भएकी थिइन, जस्ले उनलाई मिस नेपालमा सहभागी हुन प्रोत्साहित गर्‍यो ।

“दुवै प्रतियोगिताका ट्रेनिङ सेसन रमाइलो लाग्यो, त्यो मेरा लागि रुपान्तिरत हुने अवसर थियो,” उनले थपिन् ।

उनी गत महिना विश्व वन्यजन्तु कोष (डब्ल्यू डब्ल्यू एफ) नेपालको युवा संरक्षण दूत नियुक्त भएकी छन् । अब उनी डब्ल्यू डब्ल्यू एफ को संरक्षण शिक्षा कार्यक्रममा संलग्न हुनेछन, जसले बनस्पती र जीवको संरक्षणका साथै दिगो विकासका लागि जनचेतना फैलाउने काम गर्छ ।

यसका साथै उनी नेपाली युवाहरुलाई वातावरण संरक्षण क्षेत्रमा सजग गराउने पाँच वर्षे अभियान ‘द जेनरेशन ग्रिन’ मा पनि सहभागी हुँदैछन् ।

“नेपालको कुल जनसंख्याको ठूलो भाग ओगटेका युवाहरुले संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ,” सुविन भन्छिन् ।

‘जेनरेशन ग्रिन प्रोजेक्ट’ मा ५० जना सार्वजनिक व्यक्तित्व बनाएका युवाहरु हरित अभियानमा प्रतिवद्ध विभिन्न युवा समूहहरुमा सहभागी भई काम गर्नेछन् ।

“हामी सबैले ग्लोबल वार्मिङ, ग्लोवलाइजेशन र वातावरण विनासका बारेमा सुनेका छौं तर, अब म यस्को प्रभाव सोझै जान्न र त्यसबारेको जानकारी युवाहरुसँग बाँडन चाहन्छु,” सुविन भन्छिन् ।

अहिले भने सुविन १४ डिसेम्बरमा लन्डनमा आयोजना हुने मिस वर्ल्ड प्रतियोगिताको तयारीमा व्यस्त छन् ।

मिस वर्ल्ड प्रतियोगिताका प्रत्येका सहभागीले ‘ब्युटी वीथ पर्पस’ सेगमेन्टका लागि एउटा ‘प्रोजेक्ट’ छान्नु जरुरी हुन्छ । पूर्व मिस नेपाल इशानी श्रेष्ठले ग्रामिण क्षेत्रमा दन्त स्वास्थ्य शिविरमा काम गरेर उक्त सेगमेन्ट जित्न सफल भएकी थिइन् ।

सुविन भने अहिले नै उनको प्रोजेक्ट बारे खुलाउन चाहँदैनन् । “यसबारे घोषणा भयो भने थाहा भइहाल्छ नी,” उनले अलिक लजाउँदै भनिन्, “यो प्रोजेक्ट शिक्षासँगै सम्बन्धित हुनेछ ।”

एल्भिन एल श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>