टिप्पणीआइतबार, आश्विन १४, २०६९
विमान दुर्घटनामा पाइलटको कमजोरी
संसारमा सबैभन्दा सुरक्षित यात्रा जहाजकै हो । तर त्यसका लागि जहाजको मर्मतदेखि उडान प्रक्रियासम्मको निर्देशिका सही तरिकाले पालना गरिनुपर्छ ।
काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एअरको डोर्निएर जहाज १२ असोजमा दुर्घटनामा परयो । यसअघि पनि धेरै जहाजहरु नेपाली आकाशमा दुर्घटना भएका छन्, धेरैजसो पाइलटले उडान निर्देशिकाको पालना नगर्नाले दुर्घटना भएका हुन् ।
सीता एयरको हालैको दुर्घटनामा पनि पाइलटकै गल्ती देखिन्छ । जहाजमा चरा ठोक्किनुमात्रै दुर्घटनाको कारण हुनै सक्दैन । जहाजमा चरा ठोक्किएपछि विमानमा आएको गडबडीबाट पाइलट अत्तालिंदा दुर्घटना भएको देखिन्छ । पाइलटले विमानस्थलको टावरलाई आपतकालीन अवतरण गर्ने पनि भनेका छैनन् । उनले ‘म फर्कन्छु’ मात्रै भनेका छन् ।
जहाजमा दुईवटा इञ्जिन हुन्छन् । एउटा इञ्जिनले काम नगर्दा अर्को एउटा इञ्जिनबाट मात्रै सुरक्षित अवतरण गराउन सकिन्छ । सीता एयर दुर्घटनामा विमान चरासँग ठोक्किएपछि विमानको दाहिने पंखामा ठोक्किएर विमानको भर्टिकल फिनमा प्वाल परेको छ तर त्यो प्वाल दुर्घटनाको कारण होइन ।
पहिले असन्तुलित भएको विमानलाई ‘ह्याण्डल’ गर्नुपथ्र्यो, त्यसपछि तात्तिएको इञ्जिनलाई बन्द गर्नुपथ्र्यो, यो काम गर्नलाई केही सेकेण्डमात्रै लाग्छ । अत्यधिक तात्तिएको इञ्जिनलाई ‘फायर ड्रिल’ गरेर आगो निभाउनु पथ्र्यो र अन्त्यमा २५ देखि ३० डिग्रीमा घुमाएर सुरक्षित अवतरण गराउन सकिन्थ्यो । तर, दुर्घटनामा पाइलट अत्तालिएर एक्कासि ५० देखि ५५ डिग्रीमा जहाजलाई टर्न गर्न खोजेको देखिन्छ । यसो गर्दा जहाज असन्तुलित भई खोला किनारामा खसेर ‘ब्रष्ट’ भएको हुनसक्छ । बस्तीबाट जोगाउन खोला किनारमा अवतरण गराइएको भन्ने सत्य होइन । एउटा इञ्जिनमा आगो लागेको जहाजलाई आगो निभाई सिमरासम्म पुरयाएर पनि आरामले अवतरण गराउन सकिन्छ ।
पाइलटहरुलाई ६–६ महिनाको समयमा तालिमका लागि विदेश पठाउने गरिन्छ । त्यहाँ एउट इञ्जिनमा आगो लगाएरै सुरक्षित अवतरण गराउन सिकाइन्छ । जहाज एक्कासि माथिबाट तल खस्दा, भिजिविलिटी नहुँदा, त्यसैगरी विभिन्न समस्या आउँदा आपतकालीन अवस्थामा कसरी सुरक्षित अवतरण गराउने भन्ने व्यावहारिक तालिम दिइन्छ । यस्ता ‘स्टिमुलेटर’ तालिमबाट सिकेको ज्ञान आपतकालीन अवस्थामा उपयोग गर्न सकेमा विमान दुर्घटना हुँदैन ।
सामान्य अवस्थामा त जहाज जसले पनि चलाउन सक्छ । पाइलटको आवश्यकता पर्ने भनेकै आपतकालीन अवस्थामा हो ।
अर्को कुरा नेपालमा नियमन गर्ने निकाय पनि बलियो छैन । विमानमा भएका समस्याहरुका बारेमा पाइलटले प्रत्येक उडानपछि ‘पाइलट फ्लाइट लगबुक’ मा लेख्ने गर्छन् । त्यसको नियमित जाँच गर्नुपर्छ, तर, हामीकहाँ त्यसो गरिंदैन । सानातिना समस्याका बाबजुद जहाज उडान अनुमति दिइन्छ । त्यसले पनि दुर्घटनाको जोखिमलाई बढाएको छ ।
सीता एयरको विमान १३ असोजमा भएको दुर्घटनामा ‘प्रोेसेड्योर फलोअप’ गरेको देखिंदैन । दुर्घटनामा परी चालक दलसँगै स्वदेशी विदेशी नागरिकको मृत्यु भएको छ । आफ्नै ज्यान जाने कुरामा लापरवाही गरेको भन्नु त्यति उचित नहोला तर पाइलट हरदम सचेत रहनु र उडान निर्देशिकाको पूर्ण पालना गर्नु जरुरी छ ।
-३२ वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जहाज उडाएका अवकाशप्राप्त क्याप्टेन पुरीसँगको कुराकानीमा आधारित ।